नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयमा के भएको हो सदनमा थाहा हुनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले त्रिविमा उपकुलपतिदेखि रजिस्ट्रारसमेत सुरक्षाको कारण देखाएर बिदामा बसेको बताउँदै त्यहाँ के भएको हो भन्नेबारेमा सत्यतथ्य सांसदहरूले थाहा पाउनुपर्ने बताएका हुन्।
उनले त्रिविमा सुरक्षा दिनसमेत सरकारसँग माग गरे।
'त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुन्छ भने अन्त कहाँ सुरक्षा दिन सकिन्छ? सरकार छ कि छैन? सरकार छ भने टियूमा सुरक्षा दिनुपर्यो,' उनले भने।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूमाथि आक्रमणको प्रयास भएको र धम्की आएको बताउँदै बुधबार शिक्षामन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। उनले सामाजिक सञ्जालमार्फत नै आग्रह गरेर गृहमन्त्रीलाई त्रिविमा सुरक्षा व्यवस्थाको प्रबन्ध गरिदिन आग्रह गरेकी थिइन्।
सरकारले नै त्रिविमा असुरक्षा भयो भन्ने लज्जास्पद हुने सांसद दाहालले बताए।
'समस्या के हो? यदी राजनीतिक समस्या हो भने वार्ताबाट हल गर्नुपर्यो। गुण्डागर्दी हो भने कानुनी प्रक्रियाबाट नियन्त्रण गर्नपर्यो। कुनैपनि हालतमा त्रिविमा असुरक्षा छ भन्ने लज्जास्पद कुरा गर्न सुहाउँदैन,' उनले भने।
यो पनिः त्रिवि समाजशास्त्र विभागीय प्रमुख नियुक्तिमा कांग्रेस-एमालेबीच तानातान