नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले ललितपुरको ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएको घटनामा छानबिनको माग गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेबाट समय लिएर बोलेका सांसद गौतमले बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ की २७ वर्षीया महिलाको किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको बताएका हुन्।
‘साउन २१ गते उनी अस्पताल भर्ना भएकी थिइन्। २२ गते अपरेसन भयो। २३ गते रक्तश्राव भयो भनेर जानकारी दिँदै २० पिन्ट रगत माग्छन्। २४ गते राति फेरि अपरेसन हुन्छ। २५ गते आँखा बन्द गरेर उनलाई बेडमा राखिन्छ। २६ गते फेरि २० पिन्ट रगत मागिन्छ र सोही साँझ उनलाई मृत घोषणा गरिन्छ। त्यस साँझदेखि आजसम्म शव अस्पतालमै छ,’ सांसद गौतमले भने।
यस घटनामा के भएको हो गम्भीर छानबिन गर्न उनले माग गरेका छन्। घटनाबारे गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई पनि ध्यानाकर्षण गरिएको उनले बताए।
अस्पतालमा परिवार तथा आफन्तले दिनहुँ धर्ना र जुलुस गरे पनि पीडितप्रति न्याय गर्ने कुरामा अस्पताल प्रशासनले ध्यान नदिएको उनले बताए।
‘सभामुखमार्फत् नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गर्न चाहान्छु, छानबिन समिति गठन होस्,’ उनले भने, ‘नागरिकहरूको जीउधनको सुरक्षा हुनुपर्छ।’