गृहमन्त्री रमेश लेखकले नयाँ प्रहरी कानुन बनाउन गृह मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकेको बताएका छन्।
उनले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुने गरी नयाँ कानुननै बनाउन लागिएको बताएका हुन्।
सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरूमा सहभागिताका लागि गृहमन्त्री लेखक जनकपुरधाम विमानस्थलमा पुगेका थिए। त्यसक्रममा पत्रकारसँग कुराकानी गर्दै यसबारे बताएका हुन्।
‘संघको प्रहरी कानुन संशोधन गर्ने गरेर नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने, कानुन नै नयाँ बनाउने गरेर मैले निर्णय गरेर अर्थ मन्त्रालयमा पठाइसकेको छु,’ उनले भने, ‘विभिन्न मन्त्रालयको सहमतिपछि संसदमा जान्छ र प्रहरी सम्बन्धी संघका ऐनहरूमा संशोधन परिमार्जन गरेर हामी प्रहरीको समायोजन र प्रदेश प्रहरी पनि गठन हुने, समायोजन हुने हिसाबमा अघि बढाएको छ।’
वर्तमान सरकार डेलिभरि गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति शुव्यवस्था र विधिको शासन कायम हुने उनको भनाइ छ।
उनले राजनीतिक स्थितरता, आर्थिक गतिविधी बढाउन, संघीय लोकतान्त्रिक व्यवस्था र समावेशिता सहितको संविधान र विधी बचाउन तथा सार्थक बनाउन वर्तमात सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उनको भनाइ छ।