नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भारतले गरेको सम्मानले गठबन्धनमा अन्तरविरोध पैदा गर्न सक्ने विश्लेषण गरेका छन्।
बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको बैठकमा अध्यक्ष प्रचण्डले यो गठबन्धन लामो नजानेसमेत विश्लेषण सुनाए।
‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले निम्तो देओस् भनेर त्यसैका लागि परराष्ट्र मन्त्री जानुभएको थियो। तर भारतले परराष्ट्र मन्त्रीलाई नै प्रधानमन्त्री सरहको महत्त्व र सम्मान दियो। यसले प्रधानमन्त्रीलाई झस्काएको हुनुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।
बैठकमा अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनलाई जनमत र अन्तर्राष्ट्रिय शक्ति कसैले पनि नरूचाएकाले यसको भविष्य लामो हुन नसक्ने तर्क गरेका थिए।
केन्द्रीय कमिटी बैठकका लागि माओवादी केन्द्रले प्रदेशमा तयारी भेला राखिरहेको छ।
बागमतीको भेला भोलिसम्म चल्ने केन्द्रीय सदस्य लेखनाथ दाहालले जानकारी दिए।
उनका अनुसार बागमतीमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ११९ जना छन्। त्यसमध्ये ४१ जनाले आफ्ना धारणा राखेका छन्।
भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा मन्त्री राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी थिइन्।
यो उनी परराष्ट्र मन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो। मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने छिन्।