राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ।
बुधबार बिहान पार्टी कार्यालय च:मतिमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उप निर्वाचनमा भाग लिने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
‘आउँदो उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ,’ उनले भने।
निर्वाचन आयोगले मंसिरको तेस्रो साता स्थानीय तहको उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता चुनाव गर्न उपयुक्त हुने बताएका थिए।
कहाँ-कहाँ गर्नुपर्नेछ उपनिर्वाचन?
स्थानीय तहतर्फ काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि उपनिर्वाचन गर्नुपर्ने भएको छ।
कीर्तिपुरका मेयर राजकुमार नकर्मीको साउन ११ गते निधन भएको थियो।
साथै हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदमा उपचुनाव गर्नुपर्ने भएको छ। उपाध्यक्ष चन्द्रसिंह कार्की भदौ ३ गते दुर्घटनामा परेका थिए। भदौ ४ गते उनको निधन भएको थियो।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पद रिक्त छ। महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरूङको २०७९ माघ २७ गते निधन भएको थियो।
जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुख पद रिक्त छ। २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटस्थित रामिडाँडा केन्द्र गरी गएको भूकम्पमा नलगाडकी उपप्रमुख सरिता सिंहको निधन भएको थियो।
दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पद खाली छ। गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएको थियो।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका पनि उपाध्यक्ष पद रिक्त छ। उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा निधन भएको थियो। उनी लामो समयदेखि क्यान्सरपीडित थिइन्।
कीर्तिपुर नगरपालिका–४, काठमाडौं महानगरपालिका–१६, नुवाकोटकाे ककनी गाउँपालिका–२, मकवानपुरकाे हेटौंडा उपमहानगर–१२, उदयपुरको त्रियुगा नगरपालिका–१२, रौटहटको ईशनाथ नगरपालिका–७ र रौतहटकै राजपुर नगरपालिका वडा नम्बर ६ मा पनि वडाध्यक्ष पद रिक्त छ।
गोरखा नगरपालिका–५, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ र कालिकोटको तिलागुफा नगरपालिका–४ मा वडाध्यक्ष पद रिक्त छ।
गाउँपालिकातर्फ सुनसरीको गढी गाउँपालिका–६, जाजरकोटको कुशे गाउँपालिका–७ र दार्चुलाको दुहुँ गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा वडाध्यक्ष खाली छ। त्यहाँ पनि उपनिर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।