लामो समयदेखि स्थगित कोशी प्रदेश सभाको बैठक भदौ १४ का लागि बोलाइएको छ।
प्रदेश सभा सचिवालयले मंगलबार बैठकबारे दुईपटक सूचना प्रकाशन गरेको थियो। सचिवालयले भदौ १८ गते मंगलबार अपराह्न १ बजेका लागि बोलाइएको बैठक पुनः अर्को सूचना निकालेर भदौ १४ गते शुक्रबार अपराह्न १ बजेका लागि सारेको हो।
प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले सूचना पत्र नं ०१–२०८१–८२ अनुसारको बैठक सूचना पत्र नं ०२–२०८१–८२ बमोजिम विशेष कारणले भदौ १४ गते शुक्रबार अपरान्ह १ बजेका लागि बोलाएको बताएका छन्।
झण्डै दुई महिनासम्म प्रदेश सभाको बैठक नबसेपछि दलहरूले बैठक बोलाउन माग गर्न थालेका थिए।
उनीहरूले सभामुख अम्बर बहादुर बिष्टले बैठक बोलाउन ढिलाइ गरेको भन्दै आलोचनामै उत्रिएपछि सभामुख बिष्टको आदेश अनुसार प्रदेश सभा सचिवालयले भदौ १८ गते बैठक बस्ने गरी सूचना निकालेको थियो। तर पुनः सूचनालाई संशोधन गरेर अगाडिकै मितिमा बैठक आह्वान गरिएको हो।
प्रदेश सभा सदस्यहरूले आफ्नो क्षेत्रका समसामयिक समस्याहरू समेत राख्न नपाएको भन्दै प्रदेश सभाको बैठक बोलाउन माग गर्दै आएका थिए।
कोशी प्रदेश सभाको अन्तिम बैठक गत असार ८ गते बसेको थियो। त्यसपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको थियो।