नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।
काठमाडौंमा मंगलबार प्रदीप गिरिको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले नागरिकका सबै अपेक्षा पूरा गर्न तत्काल नसके पनि जिम्मेवारी बोध गर्न बिर्सन नहुनेमा जोड दिए।
राम्रा कामको श्रेय लिएझैँ असफल कामको जिम्मेवारी पनि नेतृत्व तहले लिन सक्नुपर्ने उनको भनाइ छ।
जनताका थुप्रै आवश्यकता, अपेक्षा र आकंक्षा पूरा गर्न बाँकी रहेको भन्दै कतिपय अपेक्षा राजनीतिक नेतृत्वको सानो प्रयासले सफल हुने किसिमका रहेको उनले बताए।
‘हामी सबै आवश्यकताको परिपूर्ति गर्न नसकौँला, तर हामीले यो कुराको बोध, महशुस गर्नैपर्छ। आज जति राम्रा काम भएका छन् ति सबै राम्रा कामको श्रेय मुख्य राजनीतिक पार्टीहरूलाई, अगुवाहरूलाई नै जान्छ,’ उनले भने, ‘यो कुरामा पनि हामीले कन्जुस्याइँ गर्नु हुँदैन। यो कुरामा कुनै आग्रह राख्न जरुरी छैन। राम्रा कामहरुको श्रेय राम्रो काम गर्नेहरूलाई जान्छ नै तर हामीले यो कुरा पनि स्वीकार गरौं प्रिय कुराहरुको भारी संविधानलाई बोकाइदिने, अपुरो भएका कुराहरू अरू कुनै पक्षलाई बोकाइदिने समस्याको समाधान होइन। हामीले राजनीतिक प्रक्रिया उन्नत बनाएका छौँ।’
उपमहासचिव बस्नेतले व्यवस्था बदलिए पनि समग्र आर्थिक, सामाजिक अवस्था बदलिन नसकेको बताए।
(न्युज एजेन्सी नेपाल)