नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको दोस्रो स्मृतिका अवसरमा नैनसिंह महर अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीले मंगलबार काठमाडौंमा 'राजनीतिमा निष्ठा र नैतिकता' विषयक कार्यक्रम गर्यो।
उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र अभियन्ता भारती सिलवाल गिरीलगायत वक्ता रहे।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई बोलाइएको भए पनि कार्यव्यस्तता देखाउँदै उनी आएनन्। उपमहासचिव शक्तिबहादुर बस्नेत कार्यक्रममा सहभागी भए।
कार्यक्रममा कांग्रेस सभापति देउवाले किताब फिर्ता नगरेको विषय चर्चामा रह्यो।
अभियन्ता भारती सिलवाल गिरीले आफ्नो अनुमतिबिना नै सभापति देउवाले किताब लगेको तर फिर्ता नगरेको बताएकी हुन्।
‘मेरो एउटा किताब, कृष्णमूर्तिको हातमा लिएर त जान थाल्नुभयो। मेरो अनुमतिबिना। लास्ट फ्रिडम कि के थियो त्यसको नाम,’ मञ्चमा रहेका सभापति देउवालाई सिलवालले सोधिन्, ‘याद छ शेरबहादुरजी तपाईंलाई? छैन। याद छ? छैन।’
आफूले तत्कालै किताब फिर्ता मागेको पनि उनले स्मरण गरेकी थिइन्।
‘मेरो त्यो किताब किन लान लागेको, दिनुस् त मलाई। मैले त कृष्णमूर्तिको पढ्दैछु, मलाई पनि अध्यात्ममा एकदम सोख छ,’ त्यसबेला प्रदीप गिरिले भनेका कुरा उद्धृत गर्दै सिलवालले सुनाइन्, ‘छोड्देऊ न छोड्देऊ, लानदेऊ। उहाँ (देउवा) ले किताब फिर्ता गर्नु हुन्न क्या भनेँ मैले।’
प्रदीप गिरिले भने त्यसबेला देउवाले किताब फिर्ता दिने विश्वास लिएको उनले बताइन्। ‘त्यसैले होला प्रदीप गिरिले शक्तिशाली गिरिजाबाबुको पक्षमा नरहेर उहाँ शेरबहादुरको पक्षमा रहनुभयो,’ उनले भनिन्।
कार्यक्रममा बोलेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पनि सिलवालले उठान गरेको किताबका विषयबाटै कुरा सुरू गरे।
‘आजभन्दा ३२ वर्षअगाडि शेरबहादुर देउवाजीले उहाँ (सिलवाल) को एउटा किताब लिएर जानुभएछ। ३२ वर्षपछि त्यो किताबको अपेक्षा गरेर प्राप्त हुन्छ जस्तो मलाई लाग्दैन,’ पोखरेलले भने, ‘त्यही किताब फिर्ता पाइन्छ भनेर ३२ वर्ष पछाडि उहाँले चर्चा गरेको मलाई लाग्दैन।’
तर यो विषयले नेपालका नेताहरू पढ्दैनन् भन्ने भास्यलाई चिरेको पनि उनले बताए। ‘शेरबहादुर देउवाजी पढ्ने मानिस हो भन्ने उहाँले सन्देश दिनुभयो,’ महासचिव पोखरेलले भने, ‘जयकृष्णमूर्तिका किताब पढ्नुभयो भने समाजलाई बुझ्न र राजनीतिलाई दिशानिर्देश गर्न सकिन्छ।’
केही समयपछि बोलेका सभापति देउवाले सिलवालले किताब फिर्ता नगरेको भन्ने अभिव्यक्ति दिएकोमा त्यसको जबाफ दिए।
‘अघि भारती सिलवालजीले एउटा कुरा भन्नुभएको छ- उहाँको के किताब मैले लगेँ भनेर,’ देउवाले भने, ‘त्यो मलाई सम्झना छैन, लगेको भए पनि त्यो किताबले मलाई फाइदै भएको होला, उहाँलाई धन्यवाद दिन चाहन्छु।’