नेपाली कांग्रेसले पार्टीबाट उम्मेदवार भई विभिन्न तहमा जनप्रतिनिधि भएकाहरूको काम प्रभावकारी बनाउने संयन्त्र बनाउने तयारी गरेको छ।
वडाध्यक्षदेखि मन्त्रीसम्मका काम प्रभावकारी बनाउन संयन्त्र बनाउन लागिएको हो।
अब बस्ने केन्द्रीय समिति बैठकबाट केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर चार महिनाका लागि खटाउने तयारी छ। भदौ ७ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ। यो बैठक साउन २३ देखि २८ गतेसम्म चलेको बैठककै निरन्तरता हो।
केन्द्रीय सदस्यहरूले आफूलाई खटाइएको जिल्लाका प्रत्येक तहमा छलफल चलाएर संयन्त्र गठन गर्नेछन्।
महामन्त्री गगन थापाले पार्टीबाट टिकट पाएर निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय गरी काम गर्न र कामकारबाही प्रभावकारी बनाउन प्रत्येक तहमा संयन्त्र गठन गर्न लागिएको जानकारी दिए।
‘केन्द्रीय सदस्यहरू चार महिनाका लागि खटिएर जिल्ला-जिल्लामा आउनु हुनेछ,’ महामन्त्री थापाले भने, ‘केन्द्रीय सदस्यले प्रत्येक तहमा बैठक र सम्मेलन गराउनु हुन्छ। र प्रत्येक तहमा एउटा संयन्त्र बनाउनु हुन्छ। त्यो संयन्त्रमा निर्वाचित वडाध्यक्ष, मेयर बस्नुहुन्छ, पार्टी सभापति, शिक्षक तथा प्राध्यापकजस्ता बौद्धिक साथीहरू पनि बस्नुहुन्छ।’
संयन्त्रले जनप्रतिनिधि र पार्टीबीच समन्वय गर्नेछ।
‘जनप्रतिनिधिको दु:ख पनि पार्टीका साथीहरूलाई संयन्त्रमार्फत् बताइनेछ, पार्टीका साथीहरूको कुरा पनि जनप्रतिनिधिलाई जानकारी हुन्छ, सँगै बसेर काम गर्नुहुन्छ। हाम्रा काम गर्ने तरिका अलिकति बदल्नुपर्ने भएको छ,’ थापाले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा हामी यसैगरी काम गर्छौं।’
उनले जनप्रतिनिधिले कामसँगै प्रचार पनि गर्नुपर्ने बताए।
महामन्त्री थापाका अनुसार गत शनिबार संघीय सरकारमा सहभागी १० मन्त्री र २ राज्यमन्त्रीसँग सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरूले छलफल पनि गरेका थिए।
यो पनि: १२ मन्त्रीलाई बोलाएर कांग्रेसले गर्यो पाँच घन्टा छलफल
‘मन्त्रीहरूसँग कम्तीमा महिनामा एक पटक छलफल गर्छौं, यस्तै छलफल प्रदेश र स्थानीय तहमा पनि पार्टीले चलाउनुपर्छ,’ उनले भने।
कांग्रेस जिल्ला कार्यसमिति रूपन्देहीले मंगलबार गरेको कार्यक्रममा बोल्दै थापाले पार्टीभित्र गुट अन्त्य गरिनुपर्नेमा पनि जोड दिए।
‘पार्टीभित्र यति धेरै विभाजन राखेर र एउटा साथीलाई दु:ख पर्दा अर्को खुसी हुने, परिवारजस्तो भावना पार्टीभित्र कहीँ पनि नहुने, एकले अर्कालाई संरक्षण गर्न नसक्ने, परिवारजस्तो भएर कुनै पनि विषयमा लड्न नसक्ने, एकले अर्कालाई कसरी सक्ने भन्नेमा मात्र दिनरात लागेर हिँड्ने, कांग्रेसको कार्यकर्ताको ९० प्रतिशत समय अर्को कार्यकर्तासँग लड्दैमा जान्छ,’ थापाले भने, ‘स्वदेशदेखि विदेशसम्म गुटका कुरा, गुनासो र नकरात्मकता राखेर कसरी पार्टी उँभो लाग्छ?’
कांग्रेसका शत्रु कोही नभएको बताएका महामन्त्री थापाले पार्टी एक भएर २०८४ को चुनावमा १६५ क्षेत्रमै उम्मेदवारी दिने र ४० प्रतिशतबढी मत ल्याएर पाँच वर्ष एक्लै सरकार बनाउने गरी काम गर्नुपर्ने पनि बताए।