गृहमन्त्री रमेश लेखक र चीनका राजदूत चेन सङबीच भेटवार्ता भएको छ।
सोमबार दिउँसो गृह मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।
नेपालको पूर्वधार विकास लगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको गृहमन्त्रीको भनाइ छ।
नेपालको पूर्वाधार निर्माण र क्षमता विकास लगायतमा पुर्याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए।
गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।
भेटवार्तामा राजदूत सङले पनि नेपाल र चीनबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरेका थिए।
आगामी वर्षमा दुई देशबीच सम्बन्ध अझै प्रगाढ हुने उनको विश्वास छ।
राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध निन्यत्रण र दुवै मुलुकका नागरिकहरूको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने बताएका छन्।