सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद धनराज गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रमा सांसद गुरूङले प्रधानमन्त्री ओलीलाई सिद्धार्थ राजमार्ग विस्तार, हिउँद र बर्खा दुवै सिजनमा विद्युतको आयात र आँधीखोला उच्च बाँध विद्युत आयोजनाको निर्माण र आर्थिक सुशासनका लागि गैरकानुनी कारोबार अन्त्य गर्न सरकारको तयारीबारे प्रश्न गरेका थिए।
जवाफमा प्रधानमन्त्री ओलीले गैरकानुनी कारोबार अन्त्य गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
त्यस्तै बुटवल-पोखरा सडकलाई दुई लेनमा स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको र चालु आर्थिक वर्षको पहिलो त्रैमासिकबाटै काम गर्नेगरी कार्ययोजना तयार भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले आँधीखोला उच्च बाँध विद्युत आयोजनाको पूर्व सम्भाव्यता अध्ययन गर्ने कार्य सम्पन्न भर्इ वातावरणीय अध्ययन कार्य स्वीकृत भइसकेको जवाफ दिए।
‘हालसम्मको अध्ययनबाट आयोजना निर्माण गर्न प्राविधिक रूपमा उपयुक्त देखिएको छ । यस आयोजनाको निर्माण गर्न गल्याङ नगरपालिकामा ७१२ घरहरू विस्थापित गर्नुपर्ने चुनौती रहेको छ,’ उनले भने।
उक्त आयोजनाका लागि मोडालिटी टुंग्याइ लगानी जुटाउने, बोलपत्र आह्वान गरी निर्माण गर्ने लगायतका कार्य स्वीकृत कार्ययोजनाअनुसार अगाडि बढाउने प्रतिबद्धता प्रधानमन्त्री ओलीले व्यक्त गरे।
भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्धतिको प्रवर्द्धन गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइने र सबै सरकारका सबै अङ्गहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने तथा सार्वजनिक खरिद कानूनको समसामयिक संशोधन र परिपालनालाई सशक्त र प्रभावकारी बनाइने बताए।
प्रधानमन्त्रीले राजस्व चुहावट नियन्त्रण गरी गैरकानुनी आर्थिक कारोवार हुन नदिन सम्बन्धित निकायलाई क्रियाशील बनाई समन्वयात्मक रूपमा परिचालन गर्नुको साथै चोरीनिकासी एवं पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन र छड्के जाँच तथा सुराकी परिचालनलाई प्रभावकारी बनाइने बताए।
‘मिटरब्याज, सहकारी, लघुवित्तका क्षेत्र तथा क्रिप्टो करेन्सीको प्रयोग तथा हुण्डीलगायतका माध्यमबाट ठगीका घटना बढ्दै गएकाले यस प्रकारका आर्थिक अपराधका घटनामा विद्यमान स्रोतसाधन र उपलब्ध जनशक्तिबाट प्रभावकारी रूपमा अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याइनेछ,’ उनले भने।