सांसदहरूले सोधेको प्रश्नको उत्तर दिन रोस्टममा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओली सुरूवातमै कड्किएका छन्।
प्रतिनिधि सभामा विशेष समय र शून्य समयपछि प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर सुरू भएको थियो। पहिलो प्रश्न कांग्रेस सांसद धनराज गुरूङले सोधेका थिए।
सांसद गुरूङले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओली सुरूवातमै कड्किएका हुन्। यद्यपि उनको जवाफ धनराजको प्रश्नसँग सम्बन्धित भने थिएन।
प्रधानमन्त्रीको जबाफ शून्य समयमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उठाएको विषयमाथि थियो।
दाहालले महशुल नतिरेपछि विद्युत प्राधिकरणले काटेको लाइन बिचौलियाहरूको प्रभावमा परेर प्रधानमन्त्रीले पुनः जोड्न निर्देशन दिएको बताएका थिए। अदालत र सार्वजनिक लेखा समितिले दिएको निर्देशनको अवज्ञा गरेको र संसदमा सफेद झुट बोलेर प्रधानमन्त्रीले उद्योगीको महशुल मिनाहा गरिदिएको भनेपछि प्रधानमन्त्री ओली कड्किएका हुन्।
उनले सुरूमै भने, 'जथाभावी बोल्ने नगरौं। असभ्य तरिका नलिकाऔं। झुटका सहारा नलिऔं।'
प्रधानमन्त्री ओलीले विद्युत महसुल ट्रंकलाइन अथवा डेडिकेटेड लाइनसम्बन्धी तिर्नपर्ने भनिएका र तिर्न नपर्ने दाबी गरिरहेका उद्यमी व्यवसायीहरू र विद्युत प्रधिकरणबीचको विवाद संवादबाट टुंग्याउनुपर्ने तर सरकारले पाउनपर्ने रकम पाउनुपर्छ भनेको बताए।
'तथ्य प्रमाणका आधारमा जुन विद्युत उनीहरूले प्रयोग गरेका छन् त्यसको महसुल तिर्नुपर्छ। जुन उनीहरूले प्रयोग गरेका छैनन् त्यो उनीहरूले तिर्नुपर्दैन।आजको विषय होइन यो। ९/१० वर्षदेखि यो विवाद छ। पटकपटक लाइन काटिन्छ । लाइन जोडिन्छ,' प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओली अझै रोकिएनन्। 'मलाई सेटिङ र विभिन्न तन्त्रहरूका पछाडि कुद्नु छैन। लप्पन छप्पन गर्नुछैन।देश र जनताको पक्षमा ६० वर्ष समर्पण गरेको छु। बाँकी जीन्दगी पनि समर्पण गर्छु,' उनले भने।
उनले सांसदहरूलाई रेकर्ड सुनेर आउन पनि भने।
'गरिमामय संसदमा छौं। त्यस हैसियतमा बोल्नुपर्छ। कैले सुन होइन पित्तल चढाएको भनेका छन्। कहिले अनेक प्रकारका फोटाहरू छपाएको छ अनेक गरेको छ। यो खालको तरिका माननीयको हैसियतले शोभनीय हुँदैन। भ्रष्टाचारका विषयमा बोलौं। भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप लगाउने काम नगरौं,' उनले भने।
प्रधानमन्त्री ओलीले आफू खेलबाड गर्न र गालमुखाल गर्न यहाँ आएको नभइ देश र जनताप्रति जिम्मेवारी बोध गरे आएका बताए।
'अवस्थामा परिवर्तन गर्छौं भन्ने संकल्पका साथ यहाँ आएका हौं। गर्नका लागि आएका हौं।प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझेको हुन्छ। कसैलाई मर्का पनि परेको हुनसक्छ । यो दलीइ व्यवस्था हो। राजनीतिक हिसाबका प्रश्नहरू राजनीतिक हिसाबले अगाडि बढाऔं,' उनले भने।
प्रधानमन्त्री ओलीले सरकार आवेश, उत्तेजना, आग्रह, पूर्वाग्रहमा नभएको बताए। अहिलेको सरकारले प्रतिशोधको राजनीतिलाई उचित नठान्ने तर झूठा लाञ्छना लगाउने कुराप्रति जवाफदेही हुने बताए।
'गरिमामय सदन सदनजस्तै होस्। हावादारी कुरा संसदमा नबोलियोस्,' प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री ओली रोकिने छाँटकाँट नदेखिएपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले नियमापत्ति समेत जनाएका थिए।
उनले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन उपस्थित भएका प्रधानमन्त्रीले के विषयमा बोलिरहेको हो भन्ने प्रष्ट पार्न माग गर्दै प्रधानमन्त्रीलाई विषय केन्द्रीत गराउन सभामुखबाट रूलिङ हुनुपर्ने बताएका थिए।
त्यसपछि सभाुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विषयमा प्रवेश गर्न निर्देशन दिएका थिए।