धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१–०८२ का लागि १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार दुई सय ८० रुपैयाँ बराबरको बजेट ल्याएको छ।
मेयर हर्क साम्पाङ र अरु सबै जनप्रतिनिधिबीच कुरा नमिल्दा यसअघि दुई पटकसम्म बजेट ल्याउन सकिएको थिएन। आइतबार साँझ बसेको १५ औं नगरसभाले धरानको बजेट सार्वजनिक गरेको हो।
स्थानीय तहहरुले असार १० भित्र बजेट तथा नीति कार्यक्रम ल्याइसक्ने व्यवस्था छ। यद्यपि धरानमा बिबाद हुँदा बजेट ढिला गरी आएको हो।
यही बिबादले साउन पहिलो साता धरान उपमहानगरले बजेट होलिडेमा बिताएको थियो। यसपटकको धरानको बजेट गएको आर्थिक बर्षको तुलनामा १७ करोड बढी हो।
गत वर्षको कुल बजेट १ अर्ब ७२ करोड ५३ लाख ८३ हजार थियो।
उपमेयर अइन्द्रविक्रम बेघाका अनुसार धरानले पूर्वाधार विकास, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई मुख्य प्राथमिकता दिएको छ।
धरानको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ४८ करोड ४१ लाख ३४ हजार २८०, संघीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदानबाट ६ करोड ४० लाख ६४ हजार, संघीय राजश्व बाँडफाँटबाट २१ करोड ३४ लाख, प्रदेश राजश्व बाँडफाँटबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान छ।
बजेटमा २० वटै वडाहरुको लागि प्रशासनिक, कार्यक्रम तथा पूँजीगततर्फ आन्तरिक स्रोतबाट २१ करोड विनियोजन गरिएको छ। गत आर्थिक वर्षमा सम्झौता तथा कार्यक्रम सम्पन्न भई भुक्तानी हुन नसकेका क्रमागत आयोजनाहरुको लागि थप ३ करोड विनियोजन गरिएको उपमेयरले जानकारी दिए।
प्रमुख भिजनमा ५ करोड, प्रमुख कोषमा १ करोड ८० लाख, उपप्रमुख भिजनमा ३ करोड र उपप्रमुख कोषमा ७५ लाख विनियोजन गरेको धरानले सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ सशर्त अनुदानमा ८ करोड ७३ लाख २९ हजारसमेत गरि कूल ४५ करोड ८२ लाख २९ हजार विनियोजन भएको छ।
शिक्षा, युवा तथा खेलकुदतर्फ सशर्त अनुदान ४३ करोड ८६ लाख ९५ हजारसमेत गरी कूल ४६ करोड २६ लाख ९५ हजार विनियोजन भएको छ। त्यस्तै स्वास्थ्यतर्फ सशर्त अनुदान ७ करोड ६३ लाख ८४ हजारसमेत गरि ८ करोड ३ लाख ८४ हजार विनियोजन भएको छ।
सामाजिक विकासतर्फ ४ करोड ४१ लाख, आर्थिक विकासतर्फ सशर्त अनुदान १ करोड १५ लाख ४४ हजारसहित कुल १ करोड ८४ लाख ९४ हजार विनियोजन भएको छ।