कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पत्रकार सामाजिक र आर्थिक रूपमा सुरक्षित नभएसम्म निष्पक्ष रूपमा समाचार सम्प्रेषण हुन नसक्ने बताएका छन्।
पत्रकारको सामाजिक सुरक्षा कमजोर रहेको र पेशागत काम गर्नेक्रममा भौतिक क्षति भएमा त्यसको भार पत्रकारको परिवारले मात्रै बेहोर्नुपर्ने अवस्था रहेसम्म निर्धक्क भएर काम गर्ने अवस्था नहुने उनले बताए।
शनिबार काठमाडौंमा डिजिटल मिडिया फाउन्डेसनले आयोजना गरेको ‘डिजिटल डायनामिक्स अफ प्रेस फ्रिडम-नेपाली कन्टेक्सट’ विषयमा आयोजित अन्तर्संवाद कार्यक्रममा बोल्दै उनले आर्थिक सुरक्षाको अभावमा पत्रकारहरू भविष्यप्रति आश्वस्त हुन नसक्दा निष्पक्ष सामग्री सम्प्रेषणमा समस्या आइरहेको दाबी गरे। उनले यस विषयमा सहकार्य गर्न सरकार तयार रहेको बताए।
उनले श्रमजीवी पत्रकार ऐन बने पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयनमा भएको समस्या समाधान गर्न सरोकारवाला पक्षसँग सहकार्य गर्न आफू तयार रहेको बताए।
‘सामाजिक सुरक्षा भौतिक सुरक्षाप्रति आश्वस्त हुँदैनन् भने कसरी मिडियाकर्मीले ढुक्क भएर समाचार प्रकाशन/प्रसारण गर्न सक्छन्?’ उनले प्रश्न गरे ’ यस क्षेत्रमा राज्यसँग सहकार्य गरौँ। सरकार सहकार्यका लागि तयार छ।‘
उनले लोकतन्त्र ल्याउनका लागि मिडियाले ठूलो भूमिका खेलेको र सुशासनलाई मलजल गरेको बताउँदै उनले भ्रष्टाचारीलाई म समाजमा सुरक्षित छैन भन्ने धारणा बनाउन मिडियाको भूमिमा रहेको बताए।
लोकतन्त्रलाई संस्थागत गर्न मिडियाको ठूलो योगदान रहेको भन्दै उनले यसलाई संस्थागत बनाएर जानु पर्नेमा जोड दिए। उनले पत्रकारको न्यूनतम पारिश्रमिक बढाउनु पर्ने र त्यसका लागि कानुनमन्त्रीको रूपमा भूमिका खेल्ने बताए।
मिडियाले सधैँ राम्रो काम गरेको छ भन्ने नभएको र कहिलेकाहीँ प्रतिपक्षीको भूमिका निर्वाह गर्दा नेताहरूले सबै बिगारे, सबै खत्तम बनाए भन्ने भान पार्ने गरेको भन्दै भने, ‘तपाईंले बोलेका लेखेका कुराप्रति जबाफदेही र उत्तरदायी हुनैपर्छ। त्यस्तो गर्दा विश्वसनीयता पनि बढ्छ।’
मिडिया क्षेत्रको अवस्था पहिले जस्तो नभएको भन्दै उनले मिडिया पनि पहिला जस्तो नभएको भन्दै पहिले भन्दा बढी जिम्मेवार भएर काम गर्नुपर्ने बताए।
धेरै अप्ठ्यारो अवस्थामा समाचार सम्प्रेषण गर्नुपर्ने अवस्था रहेको र त्यस्तो अवस्थामा हुनसक्ने त्रुटिका कारण अप्ठ्यारो अवस्था समेत आउने गरेको भन्दै त्यसलाई सकारात्मक रूपमा हेर्नुपर्नेमा जोड दिएका थिए।