२०७९ को चुनाव विश्लेषण
२०७९ सालको संसदीय निर्वाचनको सबभन्दा ठूलो स्टोरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय हो। निर्वाचन आउनु केही महिनाअघि मात्र खुलेको यो पार्टीले जसरी मुलुकभर लाखौं मतदातालाई उत्साही र उद्वेलित पार्दै मतदान केन्द्रमा पुर्याएको छ, जसरी चुनाव क्रममा मुख्य दलका उम्मेदवारलाई कतिपय ठाउँमा हायलकायल पारेको छ, त्यसले नेपाली राजनीतिको जमेको पोखरी तरंगित बनाएको छ।
यो दललाई यसपालि मत दिने मतदाताका कारण आउने दिनहरूमा नेपालको राजनीति अब उस्तै रहन सम्भव हुने छैन।
यो विश्लेषण पढ्दै गर्दा सेतोपाटीका पाठकहरूका मनमा सबभन्दा ठूलो खुलदुली पक्कै पनि रास्वपा यसपालि कति ठूलो दल बन्छ भन्ने हुन्छ। यो दलले प्रत्यक्षमा कति सिट जित्ला र समानुपातिकमा कति प्रतिशत मत ल्याउला भन्ने कौतुहल सबैमा छ।
यी प्रश्नसँगै राष्ट्रिय राजनीतिका लागि अरू पनि महत्वपूर्ण प्रश्नहरू छन्।
रास्वपाको उदयले कुन दललाई धेरै घाटा पुग्छ? गठबन्धनले बहुमत ल्याउँछ कि ल्याउँदैन? कस्तो होला एमालेको चुनाव परिणाम? यसपालिको चुनावपछि अरू साना दलहरूको स्थिति कस्तो होला?
यी प्रश्नबारे विस्तृतमा विवेचना गर्नुअघि सेतोपाटीले गर्ने यो विश्लेषणका आधार के हुन् भन्नेबारे केही भन्नु जरूरी हुन्छ।
चुनावको मौन अवधि सुरू हुनुभन्दा अघिल्लो दिनसम्म सेतोपाटीका २० जना सहकर्मी पत्रकारहरूले मुलुकका २७ निर्वाचन क्षेत्रमा पुगेर मतदाताहरूसँग कुरा गरेका छन्। हाम्रा साथीहरूले डडेलधुरा, डोटी, कञ्चनपुर- १, बाँके- २, दाङ- २, सुर्खेत, दैलेख, जाजरकोट, रूपन्देही- १, नवलपरासी पश्चिम- १, कास्की- १, स्याङ्जा- २, चितवन- १ र २, काठमाडौं- १, २, ५ र ६, मकवानपुर- १, सर्लाही- १, धनुषा- ३, सप्तरी- २, सुनसरी- ३, मोरङ-३ र ६ तथा झापा- ३ जिल्लाका २७ निर्वाचन क्षेत्रमा पुगेर पाँच हजारभन्दा बढी मतदातासँग प्रत्यक्ष भेटेर कुरा गरेका छन्।
त्यसमध्ये हामीले २१ निर्वाचन क्षेत्रको चुनावी विश्लेषण यसअघि नै लेखिसकेका छौं। हाम्रा सहकर्मीहरूले संकलन गरेका तथ्यांक र उनीहरूले मतदातासँग गरेको कुराकानीका आधारमा हामी यो स्टोरी लेख्दै छौं। यो स्टोरीमा हामीले बटुलेका तथ्यांक, मतदाताका भनाइ र अनुभूति अनि हाम्रो विश्लेषण हुनेछ।
सबभन्दा पहिले सुरू गरौं, राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा कति ठूलो दल बन्नेछ?
देशभर १६५ निर्वाचन क्षेत्र छन्। हाम्रा सहकर्मी २७ निर्वाचन क्षेत्रमा मात्र पुगेका छन्। हामीले सबै निर्वाचन क्षेत्र समेटेर कुनै मत सर्वेक्षण गरेका छैनौं। त्यसैले यो प्रश्नको उत्तर भन्न सजिलो छैन। तर २७ निर्वाचन क्षेत्रका मतदातासँग हामीले प्रत्यक्ष भेटेर गरेका कुराकानीले हामीलाई चुनावको परिणाम अनुमान गर्न र विश्लेषण गर्न केही सजिलो बनाएको छ।
रास्वपा कति ठूलो दल भन्छ भन्ने प्रश्नको उत्तर यो दलले समानुपातिकमा कति मत ल्याउँछ र प्रत्यक्षतर्फ कति सिट जित्छ भन्नेमा निर्भर गर्छ।
समानुपातिकबाट सुरू गरौं। रास्वपा पहिलो चुनावमै राष्ट्रिय पार्टी बन्छ भन्ने लगभग धेरैले अनुमान लगाइसकेका छन्। तर कति प्रतिशत मत ल्याउला भन्नेमा फरकफरक अड्कल छन्। धेरै मानिस ५ देखि २० प्रतिशतसम्म मत ल्याउला भन्ने अनुमान गर्छन्।
कति मत ल्याउँछ त यो दलले समानुपातिकमा?
हामीले २१ निर्वाचन क्षेत्रका ५ हजार १ सय ६१ मतदातासँग भेटेर कुरा गरेका छौं। कुराकानी गरेकामध्ये ४ हजार ३१ जनाले मात्र समानुपातिकमा कसलाई मत दिन्छु भन्ने खुलाएका छन्। अरूले निर्णय गर्न बाँकी भएको बताएका थिए। निर्णय गरिसकेकामध्ये ५२९ जनाले रास्वपालाई समानुपातिकमा मत दिने बताए। यो भनेको हामीले कुराकानी गरेका मतदाताको १४.७ प्रतिशत हो।
के रास्वपाले साँच्चै मुलुकभर खसेको समानुपातिक मतको १४.७ प्रतिशत मत ल्याउँछ त?
हामीलाई त्यस्तो लाग्दैन।
सबै १६५ निर्वाचन क्षेत्रको मत गन्दा रास्वपाको समानुपातिकतर्फ यति धेरै मत आउँछ भन्ने हामीलाई लाग्दैन। रास्वपाको घन्टी चुनाव चिह्नलाई मत दिने मतदाता मुख्यगरी ठूला सहर र पूर्व-पश्चिम राजमार्ग वरिपरिका सहरमा रहेको हामीले पायौं।
यस्ता सहरमा बसाइँसराइ गरेर आएको जनसंख्याको हिस्सा ठूलो हुन्छ। ऊ परिवर्तन गर्न र जोखिम मोल्न अरूभन्दा अगाडि हुन्छ। जसले आफ्नो थाजवाज नै परिवर्तन गरेर नयाँ ठाउँमा आएको छ, नयाँ अवसर खोजेको छ, सायद उसलाई आफूले मत दिने दल परिवर्तन गर्नु धेरै ठूलो कुरा हुन्न, जति अरूलाई हुन्छ।
अर्कातिर हिमाली भेग, उच्च पहाडी भेग र पूर्व-पश्चिम राजमार्गभन्दा केही दक्षिणमा रहेका निर्वाचन क्षेत्रमा घन्टीको प्रभाव र चर्चा नै धेरै छैन।
हामीले मतदातासँग कुरा गरेका धेरैजसो निर्वाचन क्षेत्र ठूला सहर र राजमार्ग वरिपरिका छन्। हामीले काठमाडौंका चार र चितवनका दुई निर्वाचन क्षेत्रका मतदातासँग कुरा गरेका छौं। त्यसबाहेक बाँके, दाङ, रूपन्देही, नवलपरासी, मकवानपुर, सर्लाही, धनुषा, सप्तरी, सुनसरी, मोरङ र झापाका निर्वाचन क्षेत्र छन्।
यी २१ क्षेत्रमै पनि काठमाडौं र चितवन छाडेर हिसाब गर्ने हो भने रास्वपाको समानुपातिकको मत स्वाट्टै घट्छ।
काठमाडौंका चारवटा निर्वाचन क्षेत्रमा रास्वपाको समानुपातिक मत औसत २४ प्रतिशत छ। त्यस्तै चितवनका दुई निर्वाचन क्षेत्र र मकवानपुरको एकसहित तीन निर्वाचन क्षेत्रमा रास्वपाको औसत मत २९ प्रतिशत छ। अर्कातिर मूलत: राजमार्गको दक्षिणमा पर्ने सिरहा, सप्तरी र धनुषाका तीन निर्वाचन क्षेत्रमा रास्वपाको औसत मत ४ प्रतिशत मात्रै छ। झापा, मोरङ र सुनसरीका चार क्षेत्रमा औसत मत ८ प्रतिशत छ भने बाँके, दाङ, रूपन्देही र नवलपरासीका चार निर्वाचन क्षेत्रमा रास्वपाको औसत मत १६ प्रतिशत छ।
यसले के देखाउँछ भने मुलुकभर रास्वपाको मत एकनासको छैन।
मतदाताकहाँ जाँदा हामीले कस्तो पायौं भने पूर्व-पश्चिम राजमार्गसँग जोडिएको एउटै निर्वाचन क्षेत्रमा पनि राजमार्ग वरिपरि घन्टीको प्रभाव छ, जबकि अलि दक्षिण जानेबित्तिकै प्रभाव कम हुँदै जान्छ। उदाहरणका लागि, सुनसरी- ३ मा हामी मतदातासँग कुरा गर्न जाँदा इटहरीमा घन्टीको राम्रै मत देखियो। केही दक्षिण, दुहबी पुग्नेबित्तिकै त्यो मत धेरै कम भयो।
पूर्वदेखि पश्चिमसम्मै राजमार्गको दक्षिणतर्फ ठूलो जनसंख्या बस्छ। त्यहाँ धेरै निर्वाचन क्षेत्र छन्। त्यहाँ रास्वपाको मत कम छ। तराईमै पनि विशेषगरी मधेस र लुम्बिनी प्रदेशका दक्षिणी भेगमा रास्वपा कमजोर देखिन्छ।
त्यसमा अर्को 'फ्याक्टर' ले पनि काम गरेको छ। ठूला र पुराना दलहरूको मत काट्न त्यहाँ यसपालि मधेसकै नयाँ र विद्रोही पार्टी अघि आएको छ- सिके राउत नेतृत्वको जनमत पार्टी।
मधेस र लुम्बिनी प्रदेशमा ठूला र पुराना मधेसवादी दलहरूसँग असन्तुष्ट मतको ठूलो हिस्सा जनमत पार्टीले लैजाने छ। जनमत पार्टीले चुनाव नलडेको भए मधेसमा असन्तुष्ट मतको ठूलो अंश रास्वपालाई जान सक्थ्यो। अब त्यो सम्भावना कम भएको छ।
रास्वपाका लागि एकदमै धेरै मत आउने काठमाडौं, चितवन वा मध्यम दरमा मत आउने बाँके, दाङ, रूपन्देही, नवलपरासीजस्ता धेरै निर्वाचन क्षेत्र मुलुकको अरू भागमा छैनन्। बर्दिया, कैलाली, कञ्चनपुरमा विद्रोही रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले असन्तुष्ट मत लैजान्छ।
सुदूरपश्चिम र कर्णालीका जिल्लाहरूमा रास्वपाप्रति कति आकर्षण छ भन्ने अन्दाज लगाउन हाम्रा सहकर्मीहरूले सुदूरपश्चिमका दुई जिल्ला डडेल्धुरा, डोटी र कर्णालीका दैलेख र जाजरकोट पनि भ्रमण गरेका थिए। त्यहाँका मतदातासँग कुरा गरेका थिए। ती जिल्लामा पनि हामीले रास्वपाको उल्लेख्य मत पाएनौं।
तर यो विश्लेषणसँगै एउटा कुरा हेक्का राख्नुपर्छ- घन्टी चुनाव चिह्न जसरी यसपालि मुलुकभरि विद्रोही मतको प्रतीकजस्तो बनेको छ र रवि लामिछानेप्रति मुलुकभर जुन चासो र आकर्षण देखिएको छ, त्यसले रास्वपाको कुनै उपस्थिति नभएको दूरदराजका निर्वाचन क्षेत्रबाट पनि उसलाई केही मत आउन सक्छ। त्यस अवस्थामा रास्वपाको समानुपातिकमा मत बढाउन ठूलो सहयोग पुग्छ।
त्यसो भए रास्वपाले मुलुकभरि समानुपातिकमा कति मत ल्याउँछ त?
हामीलाई लाग्छ रास्वपाले समानुपातिकमा ७ देखि १२ प्रतिशत मत ल्याउन सक्छ।
अब प्रत्यक्षतर्फ सिटको कुरा गरौं।
हामीले निर्वाचन क्षेत्रमा गएर विश्लेषण गरेका २१ निर्वाचन क्षेत्रमध्ये चितवन- २ मा उक्त पार्टीका रवि लामिछाने र काठमाडौं- ६ मा शिशिर खनाल विजयी हुनेछन् भन्ने हामीलाई लाग्छ। काठमाडौं- २ मा सोबिता गौतम र चितवन-१ मा हरि ढकाल पनि बलियो प्रतिस्पर्धामा छन्।
हामीले काठमाडौं- २ मा मतदाता भेटेर कुरा गरेको एक साताअघि मात्रै हो। त्यो बेला सोबिता गौतम र एमालेका मणिराम फुयालबीच कडा टक्कर थियो। एमालेलाई मत दिएका धेरै मतदाता अनिर्णीत अवस्थामा थिए। सोबिता गौतम र रास्वपाकै पनि माहोल निर्वाचन नजिकिँदै जाँदा बढ्दै गएकाले उनले जित्न पनि सक्छिन्।
चितवन- १ मा हामीले मतदाता भेटेर कुरा गर्दा निर्वाचन आउन दुई साताभन्दा बढी समय थियो। त्यो बेला रास्वपाका हरि ढकाल र नेपाली कांग्रेसका विश्वनाथ पौडेलबीच मुख्य प्रतिस्पर्धा थियो भने एमालेका सुरेन्द्र पाण्डे केही पछि थिए। निर्वाचन नजिकिँदै गर्दा कहिलेकाहीँ सुरूमा अग्रता लिएको मानिस पछि पर्छ र पछि परेको मानिस बलियो बन्छ। एमालेका कतिपय नेता-कार्यकर्ताले पछिल्ला दुई सातामा सुरेन्द्र पाण्डेले गरेका मेहनतका कारण उनी बलियो हुँदै गएको दाबी गरेका छन्। हामीलाई पछिल्लो स्थिति थाहा छैन। तर त्यहाँ रास्वपा राम्रो प्रतिस्पर्धामा छ।
हाम्रा सहकर्मीहरूले स्याङ्जा- २ मा मतदातासँग कुरा गर्दा नेपाली कांग्रेसका धनराज गुरूङ र एमालेकी पद्मा अर्यालबीच मुख्य प्रतिस्पर्धा थियो। रास्वपाका टिकराज गुरूङ केही पछि थिए। पछिल्ला दिनमा यहाँ पनि घन्टीको माहोल बढेको भए र गुरूङले प्रगति गरेका भए उनी पनि प्रतिस्पर्धामा हुनेछन्।
यसबाहेक हामीले मतदातासँग कुरा गर्न नपाएका ललितपुर- ३ मा तोसिमा कार्की र काठमाडौं- ८ मा बिराजभक्त श्रेष्ठ पनि बलियो प्रतिस्पर्धामा छन् भन्ने रास्वपाका नेताहरूको दाबी छ। यसबाहेक बारा- २ र नुवाकोट- २ मा पनि आफूहरू प्रतिस्पर्धी भएको रास्वपाका नेताहरू बताइरहेका छन्। हामीसँग यी निर्वाचन क्षेत्रबारे अनुमान गर्न पर्याप्त सूचना छैन।
अहिलेको अवस्था हेर्दा रास्वपाले प्रत्यक्षमा ५ सिटको वरिपरि जित्यो भने त्यो स्वाभाविक नै हुनेछ।
एउटा नयाँ दलले यति धेरै मत ल्याउने भएपछि एउटा प्रश्न स्वाभाविक रूपमा उठछ- रास्वपाले कुन दललाई जाने मत काट्छ? रास्वपाको उदयले कुन दललाई घाटा हुनेछ?
रास्वपालाई जाने मतको सबभन्दा ठूलो हिस्सा हिजो नेकपा एमाले र नेपाली कांग्रेसलाई मत दिएका मतदाता छन्। देशका २१ निर्वाचन क्षेत्रमा रास्वपालाई मत दिन्छु भन्ने ५९२ जना मतदातामध्ये ४३४ जनाले (७३ प्रतिशत) पहिले एमाले र कांग्रेसलाई मत दिएको बताए। त्यसमध्ये एमालेलाई दिएका ४० प्रतिशत र कांग्रेसलाई दिएका ३३ प्रतिशत छन्।
सबभन्दा मुख्य कुरा हामीले भेटेका अधिकांश नयाँ मतदाताले रास्वपालाई मत दिन्छु भने। एमाले र कांग्रेसका 'फ्रेस' वा युवा उम्मेदवार नभएका क्षेत्रमा त यी दललाई मत दिन्छु भन्ने नयाँ मतदाता लगभग शून्य छन्। १८-२४ वर्ष समूहका यी मतदाताको 'फस्ट लभ' रास्वपा बनेको छ। ठूला दलहरूका लागि भोलिको दृष्टिले हेर्दा यो ठूलो चिन्ताको विषय हो।
यसबाहेक घन्टीले राप्रपाको पनि केही भोट लैजान्छ। माओवादी केन्द्रका मतदाताले पनि फाट्टफुट्ट यो दललाई मत दिन्छु भनेको हामीले पायौं।
अब गठबन्धनको कुरा गरौं। गठबन्धनले बहुमत पुर्याउँछ कि पुर्याउँदैन?
गठबन्धनका उम्मेदवारको प्रत्येक निर्वाचन क्षेत्रको विश्लेषण हामीसँग छैन। तर गठबन्धनले बहुमत ल्याउँछ कि ल्याउँदैन भन्ने प्रश्नलाई यो कोणबाट विश्लेषण गरे निष्कर्षमा पुग्न सकिन्छ भन्ने हामीलाई लाग्छ।
पहिलो, गठबन्धनलाई हराउने गरी नयाँ दलको उदय भएको छ कि छैन?
दोस्रो, प्रमुख प्रतिपक्षी दललाई संसदीय राजनीतिमा 'गभरमेन्ट-इन-वेटिङ' अर्थात् सरकार बनाउन पर्खिरहेको दल भनिन्छ। किनभने उसले आउने निर्वाचनमा सत्तामा भएका दललाई हराएर नयाँ सरकार गठन गर्न सक्छ।
माथि नै चर्चा गरेझैं रास्वपाको उदय यो निर्वाचनको सबभन्दा ठूलो स्टोरी हो। तर यसको उदय २०६४ सालमा माओवादीको उदयजस्तो सबभन्दा ठूलो दलका रूपमा हुने छैन। साथै, जत्रो दल बने पनि सबै दललाई जाने मत काटेर रास्वपा नयाँ दलका रूपमा उदाउने हो। त्यसैले यसले गठबन्धनलाई मात्र क्षति गर्दैन।
दोस्रो, एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेजस्तो एमालेले यसपालि बहुमत ल्याउँछ? वा, कम्तिमा गठबन्धनलाई बहुमत ल्याउनबाट रोक्छ?
हामीले मतदाताहरुसँग कुरा गर्दा सबभन्दा धेरै निराश र अन्यौलमा एमालेकै मतदाता पायौं। तपाईंहरूले हामीले गरेको २१ निर्वाचन क्षेत्रका विश्लेषण मिहिनसँग पढ्नुभयो भने त्यसमा अन्तिमसम्म अनिर्णित मतदाता पहिले एमालेलाई मत दिएकाहरू नै छन्। त्यस्तै माथि चर्चा गरेजस्तो नयाँ उदाउँदै गरेको रास्वपालाई मत दिनेमा एमालेलाई मत दिँदै आएका मतदाता नै बढी छन्।
कांग्रेसले कतिपय ठाउँमा गठबन्धन दलका अन्य उम्मेदवारलाई सिट छाडेको छ। त्यसैले गठबन्धनसँग असन्तुष्ट कांग्रेसीहरूको केही मत घन्टी वा अरू चुनाव चिह्नमा जानु अस्वाभाविक होइन। तर बहुसंख्यक ठाउँमा एक्लै लडेको एमालेको मत नै ठूलो मात्रामा घन्टी वा अरू दललाई गएको छ। माथि उल्लेख भएको एउटा तथ्यांक यहाँ स्मरणीय छ- यसपालि घन्टीले पाउने मतमध्ये ४० प्रतिशत अघिल्लोपटक एमालेलाई र ३२ प्रतिशत कांग्रेसलाई गएको मत हो।
प्रत्यक्षतर्फ कांग्रेसको उम्मेदवार नभएको तर एमालेको आफ्नो उम्मेदवार भएका कतिपय निर्वाचन क्षेत्रमा पनि हामीले कांग्रेसको तुलनामा एमालेको धेरै मत घन्टीमा जाने पायौं।
उदाहरणका लागि, एमालेबाट दाङ- २ मा महासचिव शंकर पोखरेल, रूपन्देही- १ बाट पार्टी सचिव छविलाल विश्वकर्मा र काठमाडौं- २ बाट बागमती प्रदेशका निवर्तमान सभासद मणिराम फुयालले चुनाव लडेका छन्। गठबन्धनबाट दाङ- २ मा माओवादी नेता रेखा शर्मा र काठमाडौं- २ मा पूर्वसभामुख ओनसरी घर्ती चुनाव लडेका छन्। रूपन्देही- १ मा गठबन्धनको समर्थनमा एमाले परित्याग गरेका घनश्याम भुसाल चुनाव लडेका छन्। यी निर्वाचन क्षेत्रमा गठबन्धनसँग असन्तुष्ट भएर कांग्रेसका परम्परागत मतदाताले जति मत घन्टीलाई हालेका छन्, त्योभन्दा बढी मत एमालेका परम्परागत मतदाताले घन्टीलाई दिएका छन्।
(पढ्नुहोस्, यी तीनै निर्वाचन क्षेत्रमा हामीले गरेको चुनाव विश्लेषण दाङ- २, रूपन्देही- १, काठमाडौं- २)
यसपालि हामीले देखेको अर्को 'ट्रेन्ड' कांग्रेसबाट एमालेतर्फ एकदमै कम मात्र मत गएको छ। त्यसको दाँजोमा एमालेबाट कांग्रेसमा जाने मत धेरै छ।
उदाहरणका लागि, दाङ- २ मा कांग्रेसको उम्मेदवार छैन। हामीले कुरा गरेकामध्ये कतिपय कांग्रेसलाई भोट दिने गरेका मतदाताले यसपालि पोखरेललाई दिने बताए। तर कांग्रेसकै उम्मेदवार भएका ठाउँमा कांग्रेसको विरलै मात्र मत एमालेतिर सरेको देखिन्छ। जबकि कांग्रेस र एमाले दुवैले आफ्ना उम्मेदवार उठाएको कतिपय निर्वाचन क्षेत्रमा एमालेको उल्लेख्य मत कांग्रेसमा सर्ने देखिन्छ। उदाहरणका लागि, कांग्रेसका सुनिल शर्मा उठेको मोरङ- ३, शेखर कोइराला उठेको मोरङ- ६, विनोद चौधरी उठेको नवलपरासी पश्चिम- २ र प्रदीप पौडेल उठेको काठमाडौं- ५ मा अघिल्लोपटक एमालेलाई गएको मतको उल्लेख्य अंश कांग्रेसलाई जाने देखिन्छ। जबकि यी निर्वाचन क्षेत्रमा कांग्रेसबाट एमालेतिर मत सरेको देखिन्न।
अर्को कुरा, यसपालि एमाले र राप्रपाले केही ठाउँमा गठबन्धन गरेका छन्। गठबन्धन नगरेका ठाउँमा पनि पहिले एमालेलाई गएको थोरै मत राप्रपातिर सरेको देखिन्छ। विशेषगरी काठमाडौंमा राप्रपालाई कांग्रेस र एमाले दुवैबाट मत गएको छ। तर कांग्रेसभन्दा एमालेबाट धेरै मत गएको छ।
उदाहरणका लागि, राप्रपाले काठमाडौंका चार निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ औसत १४ प्रतिशत मत ल्याउने देखिन्छ। राप्रपालाई यी निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ मत दिन लागेका मतदातामध्ये २८ प्रतिशतले पहिले एमालेलाई मत दिएको बताए भने २० प्रतिशतले पहिले कांग्रेसलाई दिएको भने। काठमाडौंबाहिर पनि समानुपातिकमा एमालेको केही मत राप्रपालाई जाने देखिन्छ। तर काठमाडौंभित्र कांग्रेसको नगन्य मत मात्रै राप्रपालाई जाने देखिन्छ।
यी सबै तथ्य हेर्दा एमालेले यसपालि समानुपातिक वा प्रत्यक्षतर्फ मत बढाउने कुनै गुञ्जायस देखिन्न। घन्टीमा केही मत गएपछि कांग्रेसको पनि समानुपातिकतर्फको मत घट्ने देखिन्छ। प्रतिनिधिसभाका ७० भन्दा बढी निर्वाचन क्षेत्रमा कांग्रेसको आफ्नो उम्मेदवार नभएकाले पनि उसको समानुपातिकतर्फको मत घट्न सक्छ।
प्रत्यक्षतर्फ पनि गठबन्धनका कारण असन्तुष्ट भएका कांग्रेस कार्यकर्ता घन्टी वा अरू दलतिर लाग्दा एमालेले त्यसको फाइदा उठाउन सक्थ्यो। तर कांग्रेस वा माओवादीको तुलनामा एमालेकै धेरै मत घन्टी र अरू दललाई जाने भएपछि त्यसको लाभ गठबन्धनलाई हुनेछ। स्थानीय चुनावमा गठबन्धनको मत धेरै भएका ठाउँमा अब एमालेले गठबन्धनका उम्मेदवारलाई हराउन कठिन हुनेछ। यसले गठबन्धनलाई प्रत्यक्षतर्फ धेरै सिट जित्न सजिलो हुनेछ।
अर्कातिर समानुपातिकमा कांग्रेस र एमाले दुवैको मत घट्ने हुँदा समानुपातिकको सिट बढाएर एमालेले गठबन्धनलाई धक्का दिन सक्ने छैन। यी सबै तथ्य हेर्दा गठबन्धनको बहुमत सजिलैसँग पुग्छ भन्ने हाम्रो विश्लेषण छ।
माओवादीको समानुपातिकतर्फ कति मत आउँछ भन्न सक्ने अवस्थामा हामी छैनौं। हामीले समानुपातिकमा माओवादीलाई मत दिने धेरै मानिस भेटेका छैनौं। तर पहिले माओवादी केन्द्रलाई दिएको र यसपालि अरूलाई मत दिने मन बनाएका मतदाता पनि भेटेका छैनौं। माओवादीका केही फाट्टफुट्ट मतदाताले घन्टीलाई मत दिने बताएका छन्। तर उनीहरूले पनि समानुपातिकमा माओवादीलाई नै मत दिने भनेका छन्।
माओवादी नेताहरू समानुपातिकतर्फको आफ्नो मत लगभग स्थिर रहेको दाबी गर्ने गर्छन्। २०७०, २०७४ र गएको स्थानीय निर्वाचनको परिणाम हेर्दा माओवादीको मत धेरै फरक परेको छैन। तर फेरि २०७० को दाँजोमा २०७४ र २०७४ को दाँजोमा २०७९ को स्थानीय निर्वाचनमा थोरै-थोरै भए पनि माओवादीको मत घट्दै गएको देखिन्छ। यसपालि पनि केही मत पक्कै घट्नसक्छ।
सत्ता गठबन्धनकै अर्को दल माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई समानुपातिकमा मत दिन्छौं भन्ने मतदाता पनि हामीले खासै भेटेनौं। थोरै मतदाता देशभर फैलिएकाले पनि हामीले करिब पाँच हजार मानिससँग कुरा गर्दा नभेटेका हुन सक्छौं। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका कार्यकर्ता देशैभरि छन् तर मतदाता कति छन् र उक्त दल राष्ट्रिय पार्टी बन्छ वा बन्दैन, त्यसबारे हामी केही भन्न सक्ने अवस्थामा हामी छैनौं।
सत्ताबाहिर रहेका साना दलहरूको स्थिति यसपालि के हुन्छ?
राप्रपा, विवेकशील साझा र नयाँ शक्ति धेरै चर्चाका बाबजुद पनि गएको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न सकेनन्। मधेसका दुई प्रमुख दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले त्यो बेला करिब ५ प्रतिशत मत ल्याएर राष्ट्रिय दल बनेका थिए।
नयाँ शक्ति यसपालि अस्तित्वमै छैन। विवेकशील साझा लगभग गुमनाम छ। राप्रपामा यसपालि नयाँ नेतृत्व छ। पार्टी महाधिवेशनमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष चुनिएपछि राप्रपा 'रि-ब्रान्डिङ' को चरणमा छ। सबै पुराना राजनीतिक दलका नेतृत्वमा उही अनुहार रहेका बेला राप्रपामा नेतृत्व फेरिएपछि धेरै मतदाताका लागि राप्रपा पनि नयाँ दलजस्तो बनेको छ।
कतिपय मतदाताले हामीसँग 'पुराना दललाई नदिने, यसपालि नयाँलाई दिने- राप्रपालाई दिने' भने। गएको स्थानीय निर्वाचनको मत हेर्दा पनि राप्रपा राष्ट्रिय पार्टी बन्ने देखिएको थियो। यसपालि पनि मुख्य सहर र राजमार्ग वरिपरि राप्रपाको केही मत बढेको देखिन्छ। रास्वपाको उदय नभएको भए राप्रपाको मत थप बढ्थ्यो। रास्वपाले कांग्रेस एमालेका असन्तुष्ट मतदाता मात्र तानेको छैन, राप्रपाका केही मतदाता पनि तानेको छ। उदाहरणका लागि, काठमाडौंमा रास्वपालाई समानुपातिकमा मत दिन्छु भन्ने ३ प्रतिशतले पाँच वर्षअघि राप्रपालाई मत दिएको बताए।
दुई मधेसवादी दलले पनि यसपालि मधेस प्रदेशमा चुनौती बेहोरेका छन्। पाँच वर्षअघिको तुलनामा दुवै मधेसवादी दल केही कमजोर देखिएका छन्। गएको स्थानीय चुनावमै कांग्रेस मधेसमा ४६ स्थानीय पालिका जितेर सबभन्दा ठूलो दल भएको थियो भने जसपा २५ र लोसपा १४ पालिकामा खुम्चिएका थिए।
सत्ता गठबन्धनबाट अन्तिम समयमा अलग भएको उपेन्द्र यादव नेतृत्वको जसपा अहिले दोहोरो चुनौतीमा छ। एकातिर सत्ता गठबन्धन र मुख्यगरी नेपाली कांग्रेसको चुनौती छ भने अर्कातिर मधेसमा यसपालि पहिलोपटक निर्वाचन लड्दै गरेको सिके राउत नेतृत्वको जनमत पार्टीको चर्को दवाब छ। यादव स्वयं राउतबाट आफ्नो सांसद सिट जोगाउन संघर्षरत छन्।
हाम्रो विश्लेषणमा राउतले यादवलाई सप्तरी- २ बाट हराउने छन्। मधेस प्रदेशभरि नै जसपा र लोसपाले पनि यसपालि आफ्नो समानुपातिक मत जोगाउन जनमत पार्टीसँग संघर्ष गर्नुपर्ने छ। लोसपाको समानुपातिक मत यसअघिको स्थानीय निर्वाचनमै धेरै घटेर करिब २.२ प्रतिशतमा सीमित भएको छ। त्यही ट्रेन्ड जारी रहे लोसपा यसपालि राष्ट्रिय पार्टी बन्दैन। तर सत्ता गठबन्धनका कारण लोसपाले प्रत्यक्षतर्फ केही सिट जित्नेछ। जसपाले भने प्रत्यक्षतर्फ पहिले जितेका सिट आफूसँग राख्न पनि कठिन संघर्ष गर्नुपर्ने छ।
स्थानीय तहमा दलहरूले पाएको मत हेर्ने हो भने सत्ता गठबन्धनबाट अलग भएको जसपा ३ निर्वाचन क्षेत्रमा मात्र अघि छ। एमाले र जसपाको भोट मिलाउँदा पनि मधेसमा एमाले ३ र जसपा ३ निर्वाचन क्षेत्रमा अघि छन्।
अन्तिममा फेरि एकपटक राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गरौं।
यो पार्टीको उदय किन भयो? निर्वाचनभन्दा केही महिनाअघि मात्रै खुलेको दललाई लाखौं मतदाताले किन मत दिँदैछन्? हामीले भेटेका मतदाताको कुरा सुन्दा रास्वपाले यसपालि भोट पाउनुका पछाडि केही कारण छन्।
पहिलो, मुख्य दल र त्यसमाथि पनि 'बूढा नेता' सँगको दिक्दारी। हामीले कुरा गरेका धेरै मतदाताले 'अब बूढा नेताहरूले केही गर्दैनन्, युवा आउनुपर्छ' भने।
मुख्य दलको दाँजोमा ती दलका शीर्ष नेताहरूप्रति मतदाताको आक्रोश धेरै नै देखियो। लामो समयदेखि एउटै अनुहार देख्दाको दिक्दारी एकातिर छ भने अर्कातिर 'पुराना दलले केही गरेनन्' भन्ने ठूलो गुनासो छ। झापा बिर्तामोडका शंकर ढकालले धेरै अघिदेखि कांग्रेसलाई मत दिँदै आएका हुन्। यसपालि कसलाई मत दिने भन्नेमा उनी रनभुल्लमा छन्। लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला सँगै बसेका प्रधामन्त्री शेरबहादुर देउवाले र्याल चुहाएर उँगेको भिडिओ हेरेपछि उनको कांग्रेससँग मन मरेको हो।
'कांग्रेसका लागि भनेर दिनरात कुदियो। कतिपटक भात नखाई कुदियो। तर नेताहरू सत्तामा पुगेपछि काम पनि गर्न नसक्ने, मर्ने बेलासम्म टाँसिइरहने,' ढकालले भने, 'नयाँहरूलाई मौका नै नदिने भए, पार्टी र देश बर्बाद पार्ने भए।'
देउवाको लुम्बिनीको भिडिओ हेरेपछि आफ्नो जाँगर मरेको र कांग्रेस भन्न लाज लागेको उनको भनाइ छ।
'हेर्नुस् त त्यो भिडिओ, कांग्रेसको र मुलुककै बेइज्जत भएन,' उनले भने, 'शरीर गलुञ्जेल सत्तामा बस्नुपर्ने कस्तो मानसिकता हो यो!'
देशभरिका धेरै मतदाताको दिमागमा त्यो भिडिओ बसेको रहेछ। धेरैले त्यसको प्रसंग उठाए र नेताहरूले बाँचुञ्जेल कुर्सी नछाडेको भन्दै दिक्दारी पोखे।
काठमाडौंको बुढानिलकण्ठ- ७ का शैलेन्द्र थेवेलाई एमालेसँग दिक्दार लागेको छ। 'मैले र मेरा बुवाले आजसम्म एमालेका उम्मेदवारलाई भोट दियौं। अहिले फर्केर हेर्दा व्यर्थै दिएछौं भन्ने लाग्छ,' उनले भने।
सर्वहाराको पक्षमा काम गर्ने सिद्धान्त बोकेकाले एमाले मन परेको तर अब आफ्नो मनै मरेको उनको भनाइ छ। 'दलका नेताहरू जनताका नेता भएनन्,' उनले भने।
इटहरी उपमहानगरपालिका-८ का ४९ वर्षीय राजन पौडेलले राजनीतिक दलहरूले एउटै उम्मेदवार बारम्बार उठाएर वाक्क लगाएको बताए। उनको निर्वाचन क्षेत्रमा विजय गच्छदार कांग्रेसबाट सातौंपटक चुनाव लड्दै छन्।
'मैले अघिल्लोपटक पनि कांग्रेसलाई नै मत दिएको हो,' पौडेलले भने, 'नयाँ र आशा लाग्ने युवा उम्मेदवार उठाएको भए पहिलेदेखि भोट दिदै आएको दल छाड्नुपर्ने थिएन।'
हेटौंडा-९, मास्टर चोकका सूर्यबहादुर सुनारले माओवादी केन्द्रलाई पहिलोपटक मत दिँदाको खुसी सम्झिए।
'प्रचण्ड प्रधानमन्त्री हुँदा म खाडीमा थिएँ। अब देशमा शान्ति छाउँछ, विकास हुन्छ अनि स्वदेशमै रोजगारी पाइन्छ भनेर हामीले खसी काटेर खाएको हो,' उनले भने, 'तर केही परिवर्तन भएन। कसैले केही गर्न सकेन। त्यही भएर यसपटक घन्टीलाई भोट दिने हो।'
चितवनको कालिका चोकका राम मगरले अघिल्लोपटक एमाले र माओवादी केन्द्र मिलेर चुनाव लड्दाको खुसी सम्झिए। उनी एमालेको प्रचारप्रसारमै गएका थिए।
'कति नाच्दै हिँडिएको थियो त्यो बेला। यसपालि पनि बोलाइरहेका छन्, गइन्न,' उनले भने, 'म अर्कै दलमा पोइला गएँ भन्दिनू।' उनले दिक्दार भएर यसपालि घन्टी चिह्नमा मत दिने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति मतदाता आकर्षित हुनुको अर्को कारण हो, यसका अध्यक्ष रवि लामिछानेप्रतिको आकर्षण।
लामिछानेप्रति आकर्षित हुने धेरै मतदाता उनले टेलिभिजनमा काम गर्दा विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरेको सम्झिन्छन्। त्यो कामले धेरैको मन तानेको रहेछ। निमुखा र अप्ठ्यारोमा परेकालाई रविले सहयोग गर्छन् भन्ने गहिरो छाप मतदातामा परेको रहेछ। उनलाई धेरैले कार्यक्रम चलाउँदै गर्दा युट्युबमा देखेको बताए।
कालिका नगरपालिका-७, चितवनका तीन महिला रविले निमुखालाई उद्धार गरेकाले रास्वपालाई मत दिन लागेको बताउँछन्। 'हाम्रा छोराछोरी पनि विदेशमा छन्। भोलि असजिलो पर्दा नेपाल ल्याउन रविको सहयोग चाहिन सक्छ,' उनीहरूले भने।
मतदाताहरू यसअघि पनि दलहरूसँग नरिसाएका होइनन्। उनीहरूको दिक्दारी यसपालि मात्र पलाएको होइन। तर यसअघि जति रिसाए पनि मुख्य दलहरूलाई कसैले हराउन सक्दैन भन्ने धेरैलाई लाग्थ्यो। बालेन शाह र हर्क साम्पाङले स्थानीय निर्वाचनमा मुख्य दलका उम्मेदवारहरूलाई हराएपछि धेरैलाई मुख्य दललाई हराउन सकिँदो रहेछ भन्ने पर्यो। 'आफ्नो मत अब खेर नजाने रहेछ' भन्ने परेपछि यसपालि धेरै मतदाता मत बदल्न तयार भए। बालेन र हर्कले राम्रो काम गरेको भन्दै धेरै मतदाता नयाँ दल र स्वतन्त्रलाई मौका दिन तयार भएको बताउँछन्।
काठमाडौं- ६ निर्वाचन क्षेत्रमा पर्ने गल्कोपाखाकी ४५ वर्षीया रत्ना श्रेष्ठले यसपालि कुनै हालतमा दललाई मत नदिने बताइन्। उनले भनिन्, 'एक्लै चुनिए पो काम गर्न सक्छ। पार्टीको मान्छे भएपछि उसलाई माथिबाट दबाब आउने रहेछ। अनि काम गर्न नसक्ने रहेछ। पार्टी बोकेर आउँछ, लौरो बोकेर आए पो मत दिन हुन्थ्यो।'
यसरी पुराना र स्थापित दलहरूप्रति मतदातामा देखिएको अविश्वास यी दलका लागि ठूलो चुनौती हो। स्थानीय निर्वाचनमै काठमाडौं, धरान र धनगढीमा यो घन्टी बजेको थियो। दलहरू त्यो बेला पनि थोरै डराएका थिए। तर उनीहरूले 'दलीय व्यवस्थामा स्वतन्त्रले केही गर्न सक्दैनन्' भन्दै त्यो डरलाई लुकाए।
यो पनि पढ्नुस्:
अब त उनीहरूकै घन्टी बजाउँदै नयाँ दलको उदय भएको छ। अब ठूला राजनीतिक दलका नेताहरूले ढुक्कसँग बस्न पाउने छैनन्। मतदाताको यो रूझानले ठूला दलभित्र परिवर्तन खोज्ने युवाहरूलाई ठूलो बल पुग्नेछ। आउने दिनमा नेपाली राजनीतिको तलाउ अब हिजोको जस्तो जमेर बस्न सम्भव छैन। यसमा तरंग उत्पन्न भइसकेको छ।