सरकारले तेजाव आक्रमण गर्नेहरूलाई २० वर्षसम्म जेल सजाय तोक्ने गरी कानुन ल्याउने भएको छ।
तेजाब आक्रमणबाट पीडितहरूलाई भएको क्षतिका आधारमा आक्रमणकारीलाई सजाय दिने प्रस्तावसहित कानुन मन्त्रालयले अध्यादेश तयार पारिसकेको छ।
अब बस्ने मन्त्रिपरिषदको बैठकमा तेजाव आक्रमणलाई नियमन गर्ने र दण्ड, सजायको गरी दुइटा अध्यादेश लैजाने कानुन मन्त्रालयको तयारी छ।
मन्त्रालयले गृह मन्त्रालय र सरोकारवाला निकायहरूसँग छलफल गरेर दुइटा अध्यादेशको मस्यौदा तयार पारेको हो।
अध्यादेशमा एसिड आक्रमणबाट पूर्ण क्षति भएमा २० वर्ष सजाय र १० लाख जरिवाना प्रस्ताव गरिएको छ।
'तेजाब आक्रमणका कारण कुनै पनि व्यक्तिको दुवै आँखा गयो भने, दृष्टि जल्यो भने, सुन्ने शक्ति हरायो, नाक जल्यो, अनुहारमा पूर्ण रूपमा क्षति भयो भने २० वर्ष कैद र १० लाख जरिवाना भन्ने छ,' स्रोतले भन्यो, '२० वर्ष भनेपछि २० वर्ष नै बस्नुपर्छ। अरु अपराधमा जस्तो आचरण सुधारिएमा लगायतका प्रावधानहरू यसमा राखिएको छैन। पूरै सजाय भुक्तान नगरिकन आक्रमणकारी बाहिर निस्कन पाउँदैन।'
एउटा आँखा, एउटा कानमा क्षति भयो भने १० देखि २० वर्षसम्म कैद प्रस्ताव गरिएको छ भने अंगभंग हुने र शारीरिक क्षति भयो भने ५ देखि १० वर्ष कैद बस्नुपर्ने प्रावधान राखिएको छ।
अध्यादेशमा तेजावको विक्री वितरणका लागि लाइसेन्स अनिवार्य गर्न प्रस्ताव गरिएको छ।
'विक्री वितरणको नियमनका लागि कति बेच्न पाउने, लाइसेन्स कसरी पाउने, कसरी नविकरण गर्ने यी सबै प्रावधान राखिएको छ,'कानुन मन्त्रालय स्रोतले भन्यो,'तेजाव बेच्नेले किन्नेको सबै रेकर्ड राख्नुपर्छ। किन्ने मान्छे कहाँ बस्छ, के गर्छ, के प्रयोजनका लागि लैजान लागेको हो, सबै प्रष्टसँग उल्लेख गर्नुपर्छ।'
संसद सुचारू नभएकाले सरकारले अहिले अध्यादेश ल्याउन लागेको हो।
संसदको अधिवेशन सुरू भएपछि अध्यादेशलाई प्रतिस्थापन गर्ने प्रावधान छ।
भदौ २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले १५ दिनभित्र एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कानुनको मस्यौदा बनाउन कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका थिए।