मंगलबार बालुवाटारमा एउटा असामान्य घटना भयो। प्रधानमन्त्रीको सरकारी निवास भए पनि पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बैठकहरू प्राय: बालुवाटारबाटै गर्ने गरेका छन्।
मंगलबार बिहान ११ बजे पनि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक बालुवाटारमै बोलाइएको थियो। केही नेताहरू बालुवाटार पुगिसकेका पनि थिए तर नेकपा अध्यक्ष ओलीले बैठक स्थगित गरिदिए।
बैठक स्थगित भएपछि नेताहरू बालुवाटारबाट फर्किएनन् बरू त्यहीँ बैठक बसे। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपालसहित २९ जना केन्द्रीय सदस्य उक्त बैठकमा सहभागी भए। उनीहरूले दुइटा निर्णय पनि गरे।
बैठकपछि अध्यक्ष प्रचण्डले वेवसाइटमा आफूले बैठकको अध्यक्षता गरेको गरेको समाचार सामग्री प्रकाशन गरेका छन्। तर ओली पक्षले भने उक्त बैठकलाई वैधानिकता दिन इन्कार गरेको छ। बैठकलाई उनीहरूले प्रचण्ड-नेपाल पक्षधर स्थायी कमिटी सदस्यको भेला भनेका छन्।
बैठकमा सहभागीहरूले भने मंगलबारको बैठक यसअघिकै स्थायी समिति बैठकको निरन्तरता भएको दाबी गरेका छन्।
'प्रधानमन्त्रीकै उपस्थितिमा स्थायी कमिटी बैठकको उद्घाटन भएको हो। अन्य दिनमा जस्तै मंगलबारको बैठकमा पनि प्रधानमन्त्री अनुपस्थित हुनुभएको हो,' स्थायी समिति सदस्य युवराज ज्ञवालीले सेतोपाटीसँग भने,'हिजोको बैठकले अर्को बैठकको मिति तोक्ने जिम्मेवारी प्रचण्ड कमरेडलाई दिएको छ। उहाँले अर्का अध्यक्षसँग छलफल गरेर बैठकको मिति तोक्नुहुन्छ।'
दुई अध्यक्षको सहमतिमा बैठक सर्न सक्ने भन्दै उनले मंगलबार भने एक जना अध्यक्षको निर्णयका भरमा सारिएको बताए।
'केपी कमरेडले एकताका बेला भएको सहमति तोड्नुभएको छ। दुई अध्यक्षले सहमति नगरी बैठक स्थगित गरिएको यो पहिलो घटना हो,' उनले भने,'बहुमत सदस्य प्रचण्डको अध्यक्षतामा बसिएको छ। त्यसकारण यो बैठक वैधानिक हो।'
उनले गत पुस र माघमा १ साता बसेको स्थायी कमिटी बैठक एक अध्यक्षबिना चलेकाले मंगलबारको बैठक पनि स्वभाविक भएको दाबी गरे।
वैधानिक व्यवस्थाअनुसार कमिटी प्रणालीबाट निर्णय गरेर अघि बढ्नु पर्ने भएकाले स्थायी कमिटी बैठकका लागि प्रधानमन्त्री तयार हुनुको विकल्प नरहेको समेत ज्ञवालीको भनाइ छ।
प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले मंगलबारको बैठक वैधानिक नरहेको दाबी गरे।
'एउटा अध्यक्षलाई जानकारी नै छैन। हामी स्थायी कमिटी सदस्यलाई समेत जानकारी नभएपछि कसरी त्यो स्थायी कमिटी बैठक हुन्छ?,' विश्वकर्माले भने,'त्यो बैठक कसले बोलायो, त्यो त पार्टी एकताको भावना र मर्मविपरीत भयो। त्यो धेरै गलत भएको छ।'
प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले छलफलका लागि बोलाउँदासमेत प्रचण्ड नआएकाले बैठक स्थगित गरिएको उनको तर्क छ।
'खुमलटारमा भेला भएर बैठक जसरी पनि गर्ने भनेर आउने तर अध्यक्षसँग संवाद नगर्ने, यो कुन तरिका हो। सार्वजनिक रूपमा प्रधानमन्त्रीको आलोचना गर्ने, प्रधानमन्त्रीको राजीनामा माग्नेजस्ता काम गलत भएको छ,' उनले भने,'प्रधानमन्त्रीले एकल निर्णयका आधारमा बैठक स्थगित गरेको भन्दै त्यसलाई चुनौती दिएर अर्को बैठक गर्नु सरासर गलत हो। संख्यालाई आधार बनाएर शक्तिमा जाने प्रयास नगरौं।'
उनले अझै पनि दुई अध्यक्षले छलफल गरेर अघि बढ्नुको विकल्प नरहेको बताए।
उपाध्यक्ष वामदेव गौतमले सारेको सहमतिको प्रस्तावका आधारमा अगाडि बढ्नु पर्ने उनको भनाइ छ।
मंगलबार बैठक बस्नुभन्दा पहिला दुई अध्यक्षको भेटघाट हुने समय तय भएको भए पनि प्रचण्ड नआएको प्रधानमन्त्रीनिकट स्रोतको आरोप छ। त्यस्तै बैठकका लागि आउँदैछु भनेर जानकारी गराउँदा-गराउँदै एकतर्फी बैठक स्थगित गरिएको प्रचण्ड निकट स्रोतको आरोप छ।