नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक पद छोड्नै पर्ने बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै स्थायी समिति सदस्य पाण्डेले दुई पदमा एक पद प्रधानमन्त्री आफैंले रोज्ने विश्वास व्यक्त गरे।
'प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद आफैंले रोज्नुपर्छ। उहाँले नै यसको निकास खोल्नुपर्छ भन्ने मलाई लाग्छ। जे रोजे पनि उहाँकै कुरा हो,' उनले भने,' पार्टीको आग्रहलाई कसलै अटेर गर्छ भन्ने मलाई लाग्दैन। कोही पनि पार्टीभन्दा माथि छैन। सबैलाई पार्टीले बनाएको हो।'
नेकपाभित्रको विवाद र जारी स्थायी समिति बैठकबारे हामीले नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसँग कुराकानी गरेका छौं।
यस कुराकानीका मुख्य बुँदा :
-अहिले पार्टी पनि चलेको छैन र सरकार पनि चल्न सकेको छैन। सरकार र पार्टीले जुन प्रभाव राखेर जानुपर्ने थियो, त्यो हुन सकेको छैन।
-दुबै काममा एउटै व्यक्ति रहँदा दुबै काममा बाधा पुगेको छ। यसलाई ध्यानमा राखेर एक व्यक्ति, एक पद भन्ने कुरा जबरजस्ती उठेको छ।
- बाहिर आएका समाचारलाई आधार मान्ने हो भने पछिल्ला दिनमा प्रचण्डजीसँग केही अन्यौलता र अस्पष्टता छ कि! जस्तो देखिएको छ। तर प्रचण्ड पनि प्रधानमन्त्रीले १ पद छोड्नु पर्छ भन्ने पक्षमा हुनुहुन्छ होला भन्ने मलाई लाग्छ।
- १३ गतेको बैठक एउटा निष्कर्षमा पुग्नपर्छ, सधैं बैठक लम्ब्याएर मात्रै हुँदैन।
-'युद्धविराम' शब्द प्रयोग नगरे पनि मैले के भन्न सक्छु भने पार्टीभित्र सहमति, समझदारी र निष्कर्षमा नपुगेका कारण बैठक स्थगित भएको छ। एक प्रकारले यो युद्धविराम पनि हो। आन्तरिक निष्कर्षमा नपुगेका कारणले हो।
- दुई अध्यक्ष र सचिवालय बस्ने निष्कर्ष निकाल्ने अनि त्यसलाई बैठकमा ल्याउने एउटा उपाय हो भने अर्को स्थायी समितिबाट निष्कर्ष निकाल्ने हो। पहिलो बाटोबाट समाधान निकाल्नु सहज हो। त्यस्तो हुन सकेन भने बैठकबाट निष्कर्ष निकाल्ने हो।
- स्थायी समितिको शक्तिकै कारणले बैठक आयोजना भएको हो। यसको शक्तिकै कारणले बैठक सर्नेलगायत भएको हो। टिप्पणी गर्नेहरूले स्थगित समिति भने पनि स्थायी समितिकै जोडबलले बैठक भएको हो।
- महाधिवेशन मुखले गरेर हुँदैन। तलका कमिटीको निर्वाचन हुनुपर्यो। दस्तावेजको लेखन हुनुपर्यो। एउटा समझदारीका आधारमा अधिवेशनमा जानु पर्यो। त्यो काम भएको छैन। यो अवस्थामा चैतमा त हुन कठिन छ, मंसिरमा कसरी होला?