प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच बिहीबार हुने भनेको भेटघाट हुन सकेन। दुई अध्यक्षबीच सहमतिका लागि प्रयास गर्ने भनेर बुधबारको स्थायी समिति बैठक स्थगित भएको थियो।
बुधबार दुई अध्यक्षबीच भएको भेट पनि सकारात्मक भएको थिएन।
'प्रधानमन्त्रीले आफ्नो अडान छाड्नुभएको छैन। दुई अध्यक्षको कुरा नमिलेकाले अब स्थायी समितिमै छलफल गर्नुपर्छ भन्ने अध्यक्षको निष्कर्ष छ,' प्रचण्डनिकट श्रोतले सेतोपाटीसँग भन्यो, 'अब दुई अध्यक्ष बसेर हुँदैन भनेर नै बिहीबार भेट नभएको हो। शुक्रबार स्थायी समिति बैठक बस्नुपर्छ।'
बुधबार पनि प्रचण्डले प्रधानमन्त्री ओलीसँग अध्यक्षले राजीनामा दिनुपर्ने बताएका थिए। तर प्रधानमन्त्रीले अध्यक्षका लागि महाधिवेशन र प्रधानमन्त्रीका लागि आम निर्वाचन कुर्नुपर्ने जवाफ फर्काएका थिए।
बालुवाटारको छलफल सकारात्मक नभएपछि प्रचण्डले बिहीबार आफ्नै निवासमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग छलफल गरेका थिए। सो छलफलमा प्रचण्डले प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक नभएको ब्रिफिङ गरेका थिए भने खनाल र नेपालले अब नयाँ ढंगले जानुपर्ने धारणा राखेको श्रोतले बतायो।
प्रधानमन्त्रीनिकट श्रोतको भने दुई अध्यक्षबीच छलफल सकारात्मक दिशामा गइरहेको दावी छ।
'मंगलबारभन्दा बुधबारको छलफल सकारात्मक भएको थियो,' प्रधानमन्त्रीनिकट श्रोतले भन्यो, 'आज उहाँ (प्रचण्ड) आउने भन्नुभएको थियो, आउनुभएन। सायद भोलि भेटघाट हुन्छ।'
सहमति नभएमा प्रधानमन्त्री ओली भने स्थायी समिति बैठक सार्ने पक्षमा छन्।
कृषि मन्त्री एवम् स्थायी समिति सदस्य घनश्याम भुषालको संयोजनमा कृषि मन्त्रालयमा बसेको दोश्रो पुस्ताका केही नेताहरूको बैठकले पनि आवश्यक परेमा स्थायी समिति बैठक सार्न सुझाव दिएको छ।
'दुई अध्यक्षबीच अझै छलफल गर्न जरुरी छ,' बैठकमा सहभागी स्थायी समिति सदस्य मणि थापाले भने, 'छलफलका लागि समय जरूरी परेमा अझै केही दिन स्थायी समिति बैठक स्थगित गर्न सकिन्छ।'
अर्का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले दुई अध्यक्षबीच टुटेको संवाद सुरू भएकाले केही दिन त्यसको परिणाम निम्ति पर्खनुपर्ने बताए।
'दुई अध्यक्षबीच लामो समयदेखि संवाद हुन सकेको थिएन। उहाँहरूबीच छलफल होस् र समझदारी बनोस् भन्ने हाम्रो चाहना हो,' उनले भने, 'अहिले कोभिड-१९ र बाढी-पहिरोबारे छलफल गर्न पनि जरुरी छ। तर उहाँहरूलाई विमर्शका लागि समय चाहिन्छ भने दिनुपर्छ।'
अर्का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले स्थायी समिति बैठकभन्दा पनि सहमति ठूलो कुरा रहेको बताए।
प्रधानमन्त्रीसँग छलफल नभए पनि प्रचण्डले प्रधानमन्त्रीनिकट नेताहरूसँग खुमलटारमा छलफल गरेका थिए।
उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेललाई अलग्गै भेटेका प्रचण्डले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पनि भेटेका थिए।
भेटमा ओली पक्षीय नेताहरूले दुई अध्यक्षले नै छलफल गरेर सहमति गर्न सुझाव दिएका थिए।
'यो पार्टी एकता तपाईंहरूले नै गरेको हो। तपाईंहरूले गरेको सहमति हामीले मान्छौं। पार्टी यताउता भएछ भने जनतामा जाने ठाउँ रहँदैन भनेका छौं,' प्रचण्डसँगको भेटबारे एक नेताले भने, 'प्रचण्डले तपाईंहरू पनि लाग्नुस् भन्नुभएको छ। छलफल सकारात्मक भएको छ भन्नुभएको थियो।'
एकआपसमा राम्रोसँग नबोल्ने अध्यक्षहरू वार्तामा बस्ने थालेकाले आवश्यक परे बैठक सार्न समेत ओली पक्षीय नेताहरूले प्रचण्डलाई सुझाव दिएका थिए।
'छलफल राम्रोसँग भइरहेको छ। यसलाई छलफलबाटै टुंगो लगाउनुपर्छ भनेर हामीले भन्यौं,' नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, 'उहाँले तपाईंहरूले सहयोग गर्नुपर्यो भन्नुभएको छ।'