कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष ०७७/०७८ को बजेटमाथि संसदमा छलफल भइरहेको छ।
०७७/०७८ को बजेटसमेत स्पष्ट रूपमा विनियोजन नभएको भन्दै कर्णाली प्रदेशको प्रतिपक्षी दलले लामो समयसम्म सदन अवरूद्ध गर्यो। विशेषगरी मुख्यमन्त्री कार्यालयको बजेट डल्लो भएको भन्दै सदनमा विरोध हुने गरेको छ।
सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालयको बजेट शीर्षकमाथि छलफल भएको छ।
छलफलमा सहभागी भएकी सांसद् झोवा बिकले प्रदेश सरकारलाई व्यंग्य गर्दै डल्लो बजेट फुटाउन आग्रह गरेकी छिन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको यो आर्थिक वर्षको बजेट डल्लो भएको भन्दै अपरेशन गर्न आग्रह गरिन्।
‘मुख्यमन्त्री कार्यालयमा जहिले पनि डल्लो बजेट आउँछ, पोहोर पनि त्यही डल्लो बजेट खोज्न समय लाग्यो,’ सांसद बिकले भनिन्, ‘अहिले पनि यही समस्याका कारण प्रतिपक्षी दलले १० दिनसम्म सदन अवरूद्ध गर्नुपर्यो, अब मासुमा डल्लो भए त अपरेशन गर्नु हुन्थ्यो, मनमै डल्लो परेछ अपरेशन गर्न कहाँ जानु। तैपनि डल्लो बजेटलाई सकेसम्म अपरेशन गरेर समान बनाऔं।’
उनले बजेट विनियोजन गर्दा समानुपातिक नभएको भन्दै आपत्ति जनाइन्।
विकासका पूर्वाधार निर्माण गर्न धेरै बजेट लाग्ने दुर्गम क्षेत्रमा नै प्रदेश सरकारले थोरै बजेट हाल्ने गरेको उनले बताइन्। उनले आफ्नो निर्वाचन क्षेत्रमा बजेट कम परेको दु:खेसो पोखिन्।
‘हामी दुर्गम क्षेत्रका समानुपातिक सांसदको निर्वाचन क्षेत्रमा कम बजेट किन जान्छ? हामीले हाम्रो क्षेत्रमा बजेट लिएर घर बनाउने होइन, छोरोछोरीको बिहे गर्ने होइन,’ सांसद बिकले भनिन्, ‘मेरो क्षेत्रमा जाने र अर्को माननीयको क्षेत्रमा जाने बजेट उही जनताको लागि हो, मैले जनतालाई के जवाफ दिने?’
मुख्यमन्त्री कार्यालयमा भएको डल्लो बजेटलाई बाँडेर दुर्गममा क्षेत्रमा हाल्न उनले आग्रह गरिन्।
‘जताजता डल्लो बजेट छ, त्यो डल्लो फुटाएर मेरोजस्ता दुर्गम क्षेत्रको लागि बाँड्नुपर्छ। नत्र हामी फेरि सदन् अवरूद्ध गर्न बाध्य हुन्छौं,’ उनले भनिन्।
यो पनि पढ्नुस्: