‘सभामुख महोदय! मेरो हातमा किताब छैन, पढ्न पनि सक्दिनँ, नपढेर आएँ। केही भन्न सक्छु या सक्दिनँ। सिद्धान्त र प्राथमिकतामा त दलित, महिला, पछाडि परेका, दूरदराजका कुरा समेटिएको छ। यो किताबमा मात्र समेटिने हो कि काम पनि गर्ने हो? २०७७ मा के हुन्छ थाहा छैन, २०७६ कोमा त केही भएको थिएन।’
प्रदेश सभाको छैठौं अधिवेशनमा कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको प्रदेश विनियोजन विधेयक, २०७७ का सिद्धान्त, उद्धेश्य, प्राथमिकता र प्रमुख नीति कार्यान्वयनको आशंका गर्दै सांसद झोवा बिकले सदनमा बोलेको कुरा हो। उनका कुरामा क्लिष्ट शब्द छैनन्, न सरकारको चर्को आलोचना छ। तर उनको यही भाषणको अहिले सामाजिक सञ्जालभरि चर्चा छ।
अहिले सबैको मन जित्ने भाषण गरेकी झोवा मुगुदेखि उखाडबखाडपूर्ण यात्रा गरेर सर्खेत आइपुगेकी हुन्। सुर्खेत आइपुगेकीमात्र होइनन् टिक्न पनि उनलाई कम्ता हम्मेहम्मे परेको होइन। एकचोटि त उनलाई यतिसम्म लागेको थियो कि बोल्दै नबोली बस्नुभन्दा बरू सांसदबाट राजीनामा गरिदिन्छु।
प्रदेश सभा गठन भएछि बसको पहिलो हिउँदे अधिवेशनभर उनी सदनमा मौन बसिन्।
झोवाले राजनीतिमा भोगेको दु:ख भनेको ‘भाषण गर्न नसक्नु’ नै हो।
‘राजनीतिमा मैले दु:ख भोगेको भनेकै भाषण गर्न नसक्नु हो, गाउँमा पनि धेरै बोलिनँ,’ उनले सेतोपाटीसँग भनिन्, ‘सांसद भइसकेपछि प्रदेशको पहिलो अधिवेशनभर बोलिनँ, नबोलेपछि पत्रकारले बोल्नै सक्दिनन् भनेर आलोचनात्मक कुरा लेख्न थाले।’
हिउँदे अधिवेशन सकिएपछि रारा-कर्णाली पर्यटन वर्षको उद्घाटन भयो। कर्णाली प्रदेश सरकार घोषणा गरेको उक्त कार्यक्रमको उद्घाटनमा झोवा पनि गइन्।
कार्यक्रम सकेर घर गइन् र आफू राजीनामा दिने निर्णयमा पुगेको कुरा गाउँकै एक जना महिला नेतृलाई सुनाइन्।
झोवाले उनलाई आमासमान मान्थिन्। दुर्गममा बसेर लामो समयसम्म राजनीतिमा सक्रिय भएकी झोवाकी छिमेकी अभिभावकले राजीनामा नदिन सल्लाह दिइन्।
‘मेरो गाउँमा एकजना पहिले राजनीति गरेको महिला हुनुहुन्छ। उहाँलाई म मम्मी भन्छु,’ झोवाले भनिन्, ‘सदनमा बोल्नै सक्दिँन। यसरी पाँच वर्ष कसरी बिताउन सक्छु भनें। त्यहीबेला ममीले भन्नुभयो- मैले ४० वर्ष राजनीति गर्दा सांसद बन्न सकिनँ, तिमीले छिट्टै यो पद पाएकी छौ। त्यसैले राजीनामा नदेऊ जसरी हुन्छ संसदमा बस भन्नुभयो।’
ती महिलाले उनलाई ‘पाँच वर्ष तिम्रो स्थायी जागिरजस्तो हो यो। भाषण गरे पनि नगरे पनि तिमी संसदमा बस्नैपर्छ’ भनिन्।
छिमेकी अभिभावकको सल्लाह लिइसकेपछि झोवा फेरि सुर्खेत आइन्। लगत्तै दोस्रो अधिवेशन पनि चल्यो।
‘संसदको दोस्रो अधिवेशनमा म बोलें, पहिलोचोटि बोलेर हो कि राम्रो बोल्न नसके पनि मेरो चर्चा बढ्यो,’ उनी भन्छिन्, ‘पछि म आफैंलाई लाग्यो-यसो गरेपछि हुनेरहेछ भन्ने। आजभोलि त म बोल्न लाज पनि मान्दिनँ, बैठकमा पनि बोल्छु।’
संसद बैठकमै बोल्न सुरू गरेदेखि नै आफूलाई ‘केही सक्ने रहेछु’ भन्ने लागेको उनी बताउँछिन्।
लिनै नचाहेको ‘सांसद’ पद
झोवाको जन्म घर मुगुको मुगुम कार्मारोङ गाउँपालिका-७ हो। यो गाउँपालिका तिब्बतसँग जोडिएको छ। झोवाको बाल्यकाल गोठालो गर्दै बित्यो। बाल्यकालपछिको समय खेतीपातीमा बित्यो। उनले पढ्न पाइनन्। उनको गाउँमा अहिले पनि गाडी जाँदैन।
‘पढ्न पाइएन म घरालेको छोरी (घरमै ज्वाइँ राखेर विवाह गरिएको), दाजुभाइ नभएकी एक्ली छोरी भएकाले घरमै ज्वाइँ राखेरे मेरो विवाह गरिएको हो,’ उनले भनिन् ‘त्यसबेला हाम्रोतिर पढ्नुपर्छ भन्ने हुँदैनथ्यो, बाहिर पढ्न जान घरकी एक्ली छोरी भएकाले बुवाआमालाई छोड्न सकिएन। त्यहाँ त पढ्ने कुरै भएन।’
झोवा मुगुबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्छिन्। प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बने पनि झोवाले त्यतिबेला लिन इच्छाएको पद भने होइन।
प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारी चलिरहेको थियो। झोवालाई समानुपातिक उम्मेदवारको टिकट दिने पार्टीले निर्णय गरेको रहेछ। त्यसबेला उनका बुवाको निधन भएको थियो। बुवाको मृत्युको १० दिनपछि उनलाई समानुपातिक उम्मेदवार बनाइएको खबर आयो।
‘बुवा बितेको १० दिन भएको थियो, समानुपातिकको टिकट लिनुस् भन्ने कुरा आयो, मैले बुवा बित्नुभएको छ गाउँगाउँ गएर भोट माग्न सक्दिनँ भने,’ उनले भनिन्, ‘पछि फेरि नेताहरू आउनुभयो, एक त दलित महिला त्यही पनि हरेक कुराबाट पछाडि परेको भनेर मेरो नागरिकताको फोटोकपी र फोटो लिनुभयो, त्यसको पर्सिपल्ट समानुपातिकमा १३ नम्बरमा परेको भन्ने खबर आयो। मलाई सांसद हुन सजिलो भयो।’
उनी संघीयता र लोकतान्त्रिक प्रणालीले आफूलाई संसदमा प्रतिनिधित्व गर्ने अवसर दिएको बताउँछिन्।
झोवा भन्छिन्, ‘लोकतान्त्रिक व्यवस्थामा पिछडिएकाहरूलाई समावेश गर्ने क्रममा मेरो नाम पनि समावेश भएको हो।’
१ मत बढी ल्याएर जिल्ला सदस्य
झोवा सांसद हुनुअघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुगुकी सदस्य थिइन्। निर्विरोध सदस्य बन्ने उनको अपेक्षा थियो तर प्रतिस्पर्धीले मानेनन्। नमानेपछि चुनावै लड्नुपर्यो।
‘तपाईं पुरूष हो, पछि पनि अवसर पाउनुहुन्छ। म महिला हो अहिले मौका दिनुस् भनें,’ उनले भनिन्, ‘तर उहाँले म चुनाव नै लड्छु भन्नुभयो, त्यसो भए म पनि लड्छु भनेर चुनावमा उत्रिएँ। उहाँले ७६ मत ल्याउनुभयो, मैले ७७ मत ल्याएँ। १ मतले जितें।’
सांसद झोवा आफ्नो क्षेत्रका नागरिक शिक्षित होऊन् भन्ने चाहन्छिन्। विकट ठाउँमा भएकै कारण शिक्षा, स्वास्थ्यजस्ता कुरामा पहुँच नपुगेकी उनी आफ्नो क्षेत्रका अरू नागरिकलाई शिक्षाको पहुँचमा पुर्याएर आत्मनिर्भरताको बाटोमा डोर्याउने उनको सपना छ।
‘मजस्तै अहिले मेरो गाउँका अरू पनि छन्, मैले जुन अवस्था भोगें त्यही अवस्था अहिले पनि मेरो ठाउँमा छ,’ उनले भनिन्, ‘यसकारण केही राम्रो योजना लिएर विकास गर्न पाए र मजस्तै महिलाका लागि सहज बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ।’
गाउँमा अझ पनि छोरीलाई नपढाउने, सानै उमेरमा छोराछोरीको विवाह गराइदिने चलन भएकाले उनी यसबारे सचेत गराउन गाउँ गएका बेला समुदायमा पुगेर कुरा गर्छिन्।
‘म आफैं पुग्छु र भन्छु- सानो उमेरमा बिहे नगर पढाइमा ध्यान देऊ। म नपढेकै कारणले पछि परेको उदाहरण दिएर उनीहरूलाई सचेत गराइरहेकी छु। आगामी दिनमा पनि यस्तो भनिरहनेछु,’ झोवाले भनिन्।
‘सुगम र दुर्गमलाई बराबर बजेट हुनु हुँदैन’
झोवालाई सरकारको बजेट विनियोजन गर्ने प्रणालीमा भने चित्त बुझेको छैन। उनी दुर्गमलाई सुगम बनाउन सुगमभन्दा धेरै बजेट विनियोजन गर्नुपर्ने धारणा राख्छिन्।
‘सुगमको जस्तो गरी बजेट हालियो भने दुर्गमका विकासका योजना अधुरा हुन्छन्, मैले यो कुरा बारम्बार भन्ने गरेकी छु,’ उनले भनिन्।
आफूले उठाएका कुरा सरकारले नसुनेकोमा पनि उनको गुनासो छ।
‘हामी कुरा उठाउँछौं, हाम्रो सरकार नभएकाले होला सरकारले हाम्रो कुरै सुन्दैन,’ उननले भनिन्, ‘योजनाहरू किताबमा आउने बेलामा दुर्गम, पिछडिएको कुरा सम्बोधन गरिएको हुन्छ, पछि त्यसलाई कार्यान्वयन गर्ने बेलामा सुगमलाई जस्तो दुर्गमलाई बजेट दिइन्छ।’