प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आइतबारको भेटमा आ-आफ्नो अडान यथावत् राखेका छन्। भेटमा दुई अध्यक्षबीच केही बेर विवाद भएको स्रोतले जानकारी दियो।
स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। जवाफमा प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याए। उनले आ-आफ्नो बाटो तय गर्न चेतावनीसमेत दिएको स्रोतले बतायो।
'दुई अध्यक्षबीच विवाद भएपछि हामीले अझै छलफल गर्नुपर्छ भनेर सोमबार फेरि बस्ने तय भएको छ,' स्रोतले सेतोपाटीसँग भन्यो, 'सोमबार बिहान दुई अध्यक्षको बैठक बस्नेछ। त्यो बैठक सकारात्मक भए मात्र स्थायी कमिटी बस्छ।'
शनिबार ११ बजे बोलाइएको स्थायी कमिटी बैठक सहमतिको प्रयासका लागि भन्दै सोमबारसम्म स्थगित भएको हो। सोमबार दुई अध्यक्षबीच छलफल सकारात्मक नभए फेरि स्थगित हुने प्रधानमन्त्रीनिकट एक नेताले सेतोपाटीलाई बताए।
आइतबारको बैठकबारे जानकारी दिँदै ती नेताले भने, 'आज धेरै केही भएन, उहाँहरू बस्नुभयो, आफ्ना कुरा गर्नुभयो। अनौपचारिक टिम बनाएको मात्रै हो। सहमतिको वातावरण बनिसकेको छैन।'
उनका अनुसार महासचिव पौडेल, स्थायी कमिटी सदस्यहरू पोखरेल, पुन र शर्मालाई सहमतिका लागि गृहकार्य गर्न भनिएको छ।
'बैठक नकारात्मक भएको छैन, तर सकारात्मक पनि हुन सकेन। कुरै नहुने परिस्थितिबाट काम गर्न टिम बनाउनु पनि सकरात्मक पक्ष हो,' ती नेताले भने।
आइतबार दुई अध्यक्षसँगै सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए। त्यस्तै, ऊर्जामन्त्री तथा स्थायी कमिटी सदस्य वर्षमान पुन र अर्का स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि थिए।
'अझै पनि कुनै ठोस सहमति हुने आधार तयार भएको छैन,' प्रचण्डनिकट स्रोतले सेतोपाटीसँग भन्यो, 'प्रधानमन्त्री आफ्नो अडानबाट टसमस हुनुभएको छैन। कुनै सहमतिको आशाले भन्दा केही त गर्नुपर्यो भनेर गृहकार्य गर्न भनिएको हो।'
दुई अध्यक्षबीच कुरा नमिले पनि छलफलले निरन्तरता पाएकाले आशा गर्ने ठाउँ रहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले सेतोपाटीलाई बताए।उनले दुई अध्यक्षबीच खुलेर कुराकानी हुन थालेको जानकारी पनि दिए।
स्थायी कमिटी बैठकभन्दा अगाडि दुई अध्यक्षको छलफलले एउटा दिशा दिने अर्का सदस्य पृथ्वी सुब्बा गुरुङले बताए। आवश्यक परे सहमतिका लागि स्थायी कमिटी बैठक सर्न सक्ने उनको भनाइ छ।
प्रधानमन्त्री ओलीसँगको छलफल सकारात्मक हुन नसकेपछि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेताहरूसँग छलफल गरेका थिए। आफूनिकट नेताहरूसँग प्रचण्डले टेलिफोनमा समेत छलफल गरेका थिए।
प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीले स्थायी कमिटी बैठक पर धकेल्दै गए आफ्ना-आफ्ना समूह बसेर निर्णय गर्नुपर्ने निष्कर्ष निकाल्ने तयारी गरेको स्रोतले बतायो। प्रधानमन्त्रीले पार्टी नेताहरूसँग छलफल गर्नुभन्दा विपक्षी दललाई फकाउन थालेको भन्दै प्रचण्ड-नेपाल समूह संशकित बनेको छ।
पार्टी कमिटीले गरेका निर्णय मान्ने कि नमान्ने भनेर विवाद हुनु आफैंमा दुःखद पक्ष रहेको एक स्थायी कमिटी सदस्यले बताए।
'शनिबार पनि प्रधानमन्त्रीले कित्ता प्रस्ट पार्न मन्त्रीहरूलाई भन्नुभयो। सबैको कित्ता कुन हो भन्ने पनि उहाँलाई थाहा छ। तर, उहाँले फेरि बहकाउने कोशिस गर्नुभएको हो,' मन्त्रीसमेत रहेका ती स्थायी कमिटी सदस्यले भने, 'प्रधानमन्त्रीले पार्टीको निर्णय मानेर जानु नै अहिलेको समस्या समाधान हो।'
जेठ २ को सहमति मान्ने कि मंसिर ४ को भनेर बहस गर्नुभन्दा सहमतिको नयाँ आधार तयार गर्न जरूरी रहेको उनले बताए।
'नेकपालाई टाइफाइड भएको छ। यस्तो बेला एन्टिबायोटिक चाहिने हो, तर हाम्रो नेतृत्व कुन कम्पनीको सिटामोल किन्ने भनेर झगडा गरिरहेका छन्,' उनले भने, 'दुवै अध्यक्ष वरिपरि रहेकाहरूलाई पार्टी फुट्दा कुनै फाइदा नहुने भएकाले पार्टी फुटको अवस्थामा पुग्दैन भन्नेमा म विश्वस्त छु।'
केन्द्रीय सदस्यहरूले छुट्टै दबाब दिँदै
स्थायी कमिटी बैठकले निर्णय गर्न नसक्ने भन्दै केन्द्रीय सदस्यहरूले केन्द्रीय समिति बैठक माग गरेका छन्। उनीहरूले हस्ताक्षर अभियानसमेत सुरू गरिसकेका छन्। यसनिम्ति शनिबार 'जुम' मिटिङ गरिएको थियो। त्यसमा सहभागी सबैले बैठक माग गर्न सहमति जनाएको केन्द्रीय सदस्य ठाकुर गैरेले सेतोपाटीलाई बताए।
'हामी ५३ जनाले बैठक गरेका थियौं। उहाँहरू सबै बैठक माग गर्दै हस्ताक्षर गर्न तयार हुनुहुन्छ। केही साथीहरूले हस्ताक्षर गरिसक्नुभएको छ,' उनले भने, 'सोमबार २ बजे पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम छ। त्यही बेला हामी बैठक पनि बस्छौं, हस्ताक्षर संकलनलाई निरन्तरता पनि दिन्छौं।'
महाधिवेशनपछि सबभन्दा ठूलो संस्था केन्द्रीय समिति भएकाले बैठक माग गर्न लागिएको उनले बताए।