सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन्।
शनिबार अपरान्ह शितलनिवासमा राष्ट्रपति-प्रधानमन्त्रीबीच सवा घण्टा कुराकानी भएको स्रोतले बतायो।
राष्ट्रपति र प्रधानमन्त्रीबीच के कुरा भयो यसबारे भने खुलाइएको छैन।
प्रधानमन्त्री ओली बालुवाटार फर्किएपछि मन्त्री र राज्यमन्त्री बालुवाटर पुगेका छन्।
'हामीलाई ७ बजे प्रधानमन्त्रीले बोलाउनुभएको छ। तर केका लागि भन्नुभएको छैन,'एक मन्त्रीले भने,'मन्त्रिपरिषद् बैठक भने होइन।'
किनकी मन्त्रिपरिषद् बैठकमा राज्यमन्त्री उपस्थित हुँदैनन्।
यसअघि असार १८ गते पनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै समयमा राष्ट्रपतिलाई भेटेका थिए।
पार्टीभित्रबाटै अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न प्रधानमन्त्रीमाथि दबाव छ।
प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीका दिन लिम्पियाधुरासहित समावेश गरेको नक्सा जारी गरेपछि भारतीय राज्य प्रशासन संयन्त्र आफूलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर नेकपाभित्रै विवाद छ।
विवाद बढ्दै गएपछि सहमति जुटाउन भन्दै स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ।