राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तत्काल कुनै अध्यादेश नआउने बताएका छन्।
बिहीबारको मन्त्रिपरिषद बैठक संसद अधिवेशन अन्त्य गरेपछि प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको आशंका गरिएको थियो।
सोही आशंका भएर नेकपा अध्यक्ष प्रचण्ड पनि जारी स्थायी कमिटी बैठक रोकेर राष्ट्रपतिलाई भेट्न शितल निवास गएका थिए।
‘उहाँ अध्यादेश आउँछ कि आउँदैन भनेर छलफल गर्न शितल निवास जानुभएको हो। राष्ट्रपति र प्रधानमन्त्री दुबैले अध्यादेश आउँदैन भन्नुभएको छ,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
संसद अधिवेशन भने प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँगको समझदारीविपरीत अन्त्य गरेको उनले जानकारी दिए।
आज बिहान प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रिपरिषद बैठक र संसद अधिवेशन अन्त्य नगर्नेबारे समझदारी भए पनि प्रधानमन्त्री समझदारीविपरीत अघि बढेको प्रवक्ता श्रेष्ठले बताए।
‘आज मन्त्रिपरिषद बैठक नबस्ने समझदारी दुई अध्यक्षबीच आज बिहानको छलफलमा भएको रहेछ। तर मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्यो। यसबारे पनि स्थायी कमिटीमा छलफल भयो,’ उनले भने।
आजको स्थायी कमिटीमा केशव बडाल र अमृत बोहराले धारणा राखेका थिए। उनले स्थायी कमिटी बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित भएको बताए।