गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन्।
गृहमन्त्री भएदेखि नै प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका थापा अहिलेसम्म अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपालको भेलामा सहभागी थिएनन्। बुधबार भने झम्सिखेलस्थित एक होटलमा भएको प्रचण्ड-नेपालनिकट नेताहरूको भेलामा थापा सहभागी भए।
उक्त भेलामा ३० जनाभन्दा बढी स्थायी समिति सदस्य सहभागी भएको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिए।
यसअघि वैशाख १७ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग हुँदा थापाले त्यसको विरोध गरेका थिए। दल विभाजनका लागि प्रक्रिया खुकुलो बनाउने अध्यादेश ल्याउँदा समेत उनले प्रधानमन्त्रीको कदमको बचाउ गरेका थिए।
झम्सिखेलमा भएको भेलाले प्रधानमन्त्री ओलीलाई पार्टीले गर्ने निर्णय स्वीकार गर्न आग्रह गरेको स्थायी समिति सदस्य रावलले बताए।
'हाम्रो पार्टीको स्थायी समिति बैठक चलिरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्रीले केही साथी बोलाएर छलफल गर्नुभयो। त्यही भएर यहाँ अर्का अध्यक्षले छलफल गर्नुभएको हो,' उनले भने, 'भोलि बिहान पनि छलफल गर्नुहुन्छ। हामीले पार्टीको बैठकबाट सबै कुरा होस् भन्ने चाहेका छौं। विधि पद्धतिबाट पार्टी चल्नुपर्छ भन्ने हाम्रो जोड छ।'
'यो बेला हामीले छुट्टै छलफल गर्न जरुरी थिएन। हाम्रो मूल जोड पार्टी विधि प्रणाली र सामूहिक निर्णयबाट चल्नुपर्छ, पार्टीका निर्णय सबैले मान्नुपर्छ भन्ने हो। तर, बैठक चलिरहँदा एउटा अध्यक्षले छलफल चलाएपछि अर्का अध्यक्षले पनि कुराकानी गर्नुभएको हो,' रावलले भने।
प्रधानमन्त्री तथा पार्टी अध्यक्षको राजीनामाबारे बैठकमै छलफल चलेकाले त्यसबारे छलफल गर्नु नपर्ने उनले बताए।
'कतिपय जिम्मेवार नेताहरूले पार्टीको निर्णय मान्नुपर्ने अवस्था आए, विधिअनुरूप चल्नुपर्ने अवस्था आए, पार्टीको निर्णय कार्यान्वयन गर्नुपरे त्यसको सट्टा बरू पार्टी नै फुटाउने हो भन्नेजस्ता अभिव्यक्ति आएका छन्,' उनले भने, 'पार्टीको निर्णय सबैले मानेर जानुपर्छ। बैठकमै छलफल गर्नुपर्छ भन्ने हाम्रो धारणा हो।'
बुधबारको भेलामा वरिष्ठ नेता नेपालनिकट स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराई भने उपस्थित थिएनन्।