प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीनिकट स्थायी समिति सदस्यहरूले उनलाई खुट्टा नकमाउन सुझाव दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको छलफलमा उनीहरूले पार्टी बैठकमा आएका धारणालाई लिएर नआत्तिनसमेत भनेका छन्।
'कसैले चाहँदैमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हट्ने होइन। प्रधानमन्त्रीले केही गलत बोल्नु भएको छैन,' बैठकमा सहभागी एक स्थायी समिति सदस्यले सेतोपाटीसँग भने,'पार्टी अध्यक्षबाट हटाउन महाधिवेशन चाहिन्छ। प्रधानमन्त्रीबाट हटाउने हो भने संसदीय दलबाट हटाउन सक्नुपर्छ।'
स्थायी समिति बैठकले अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन सक्ने कुनै प्रावधान नरहेको समेत ती स्थायी समिति सदस्यले बताए।
प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भट्टराई र उद्योग मन्त्री लेखराज भट्ट सहभागी थिए।
त्यस्तै स्थायी समिति सदस्य सत्यनारायण मण्डल,रघुवीर महासेठ, छविलाल विश्वकर्मा पनि बैठकमा सहभागी थिए।
पार्टी नेताका धारणा सुन्न सुझाव दिएको स्थायी समिति सदस्य सत्यनारायण मण्डलले सेतोपाटीलाई बताए।
'बैठकमा साथीहरूले आफ्ना कुरा राख्नुहुन्छ, बाझ्नुहुन्छ। यसलाई सकरात्मक रूपमा लिनुपर्छ भनेर हामीले भनेका छौं,' उनले भने,'प्रधानमन्त्रीले पनि यसलाई सकरात्मक भन्नुभएको छ।'
बैठकमा सहभागी पर्यटन मन्त्री भट्टराईले सहभागीका कुरा सुनेपछि प्रधानमन्त्रीले बाँकी नेता र सदस्यहरूसँग पनि परामर्श गर्ने जवाफ दिएको बताएका छन्।
‘सहभागीहरूले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकतावद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेडली भावनाको विकास गर्न प्रमलाई सुझाव दिनुभएको छ,’ भट्टराईले फेसबुकमा लेखेका छन्,‘चिज सकारात्मक दिशामा जाने आशा गरौं। प्रोक्सी वार बन्द गरौं।’