बैंकिङ कसुर गरेको अभियोग लागेका कर्णाली प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री खड्गबहादुर खत्री पदमुक्त भएका छन्।
फौजदारी मुद्दा लागेका मन्त्री खत्रीलाई बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरेको जानकारी दिएका हुन्।
मन्त्री खत्रीलाई पदमुक्त गरेसँगै मुख्यमन्त्री शाहीले अर्को व्यवस्था नहुञ्जेल सो मन्त्रालय आफैंले सम्हालेको बताएका छन्। ‘अर्को निर्णय नभएसम्म उहाँलाई पदमुक्त गरिएको छ,’ मुख्यमन्त्री शाहीलाई उद्धृत गर्दै निकट स्रोतले भन्यो।
फर्जी बैंक ग्यारेन्टी गर्दा जमानी बसेका खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन उच्च अदालत पाटनले सोमबार आदेश दिएको थियो।
कृषि विकास बैंक रत्नपार्क जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्रीकै नाम प्रतिवादी कायम भई आएपछि उनलाई पक्राउ गरी अदालत ल्याउन आदेश जारी भएको उच्च अदालतले जनाएको छ।
न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले मन्त्री पक्रन आदेश दिएको थियो। मन्त्री खत्री ठेकेदार हुन्। मन्त्री खत्रीको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा छ।
५५-५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो।
बैंक ग्यारेन्टीमा ठेकेदार रणवीर तुम्बा र देवजंग शाहीको प्रत्यक्ष संलग्नता थियो। सो मुद्दामा तुम्बा, शाही र बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाललाई प्रहरीले पक्राउ गरी अदालत पेश गरेको थियो।
यो पनि हेर्नुहोस्