भारतबाट आउने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको छ।
भारतीय दबाब थेग्न नसकेर नागरिकको स्वास्थसँग जोडिएको विषयमा पछि हटेको भन्दै अहिले सरकारको आलोचना भइरहेको छ। संसददेखि सडकसम्म भारतलाई रिझाउन नेपालीका भान्छामा विषादीयुक्त तरकारी र फलफूल पठाउन नहुने आवाज उठेको छ।
सरकारले भने भारतीय दबाबमा नभई नाकामा आवश्यक पूर्वाधार नभएकाले विषादी परीक्षण रोक्नु परेको जनाएको छ।
‘भारतबाट पत्र आयो! खोई कसलाई पत्र आयो मैले थाहा पाइनँ। कसले पढ्यो त्यो पत्र मैले बुझेको छैन’, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पार्टी संसदीय दल बैठकमा भने, ‘मन्त्रालयहरूबाट हाम्रो पर्याप्त तयारीबिना यस्तो भयो। त्यसकारण अलिकति समस्या पर्यो। हाललाई यसलाई छोड्नु पर्यो र हामीले क्वारेन्टाइनहरू सुदृढ गर्नु पर्यो, क्वारेन्टाइन विकास गर्नुपर्यो अनि यसलाई लागू गर्नु पर्यो भनेर प्रस्ताव आएपछि त्यसलाई हामीले सदर गर्यौं हालका निम्ति।’
प्रधानमन्त्री ओलीको यो भनाइ तथ्यपूर्ण छैन।
तरकारी र फलफूलमा विषादी परीक्षण गर्न अहिले बिर्तामोड, सर्लाही (नवलपुर), काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरियामा विषादी जाँच्ने प्रयोगशाला छन्।
तीमध्ये पाँच वटा प्रयोगशाला सीमा जोडिएका जिल्लामै छन्।
यी प्रयोगशाला भर्खरै स्थापना भएका पनि होइनन्। २०७१ सालदेखि यी प्रयोगशालाबाट तरकारी र फलफूलको विषादी परीक्षण भइरहेको थियो।
‘हामीले केही वर्षदेखि ती प्रयोगशालाबाट अर्गेनोफस्फेट र कार्बमेट समूहका विषादी परीक्षण गरिरहेका थियौं,’ केन्द्रीय कृषि प्रयोगशालाका सूचना अधिकारी प्रकाश पौडेलले भने,‘बीचमा समायोजनको क्रम चलेकाले चार जना दरबन्दी भएको प्रयोगशालामा दुई जना कर्मचारीमात्र काम गरिरहेका थिए। तर कामै रोकिने अवस्था अहिले पनि छैन।’
उनले ती प्रयोगशालाले नमूना ल्याएको एकदिनमै परीक्षणको रिपोर्ट दिन सक्ने बताए।
प्रयोगशालाका बरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले तरकारीमा प्रयोग हुने किटनाशक र ढुसीनाशक विषादीमध्ये अहिले परीक्षण गरिएका ती दुई समूहका विषादी मानव स्वास्थ्यका लागि बढी हानिकारक हुने बताए।
‘हामीसँग धेरै विषादी परीक्षण गर्ने उपकरण छैनन्। त्यस्ता उपकरण ल्याउँदै जाने योजना छ,’ सूचना अधिकारी पौडेलले भने,‘अहिले जाँच्ने भनेको दुई समूहका विषादी जाँच्न भने समस्या थिएन।’
कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा आउने सामान लगभग ४० प्रतिशत भारतबाट आउँछ। तरकारीमा पनि आलु, प्याज, कागती र गोलभेडा धेरै आउँछ। सिजनअनुसार सबै प्रकारका फलफूल भारतबाट आउँछन्। भारतबाट आएका तरकारीहरू नेपालभरि नै खपत हुन्छ।
भारतीय तरकारीमा विषादीको मात्रा धेरै रहेको रिपोर्ट त्यहाँको सरकार आफैंले निकालेको थियो।
भारतभरिबाट जम्मा गरिएका १६ हजार ७ सय ९० नमूनामध्ये ५०९ वटामा एकदमै धेरै विषादी रहेको रिपोर्ट भारत सरकारको एक अध्ययनले सन् २०१५ मा सार्वजनिक गरेको थियो।
उक्त रिपोर्टमा तरकारी त्यसमा पनि बर्खाको समयमा उत्पादन गरिनेमा धेरै विषादी रहेको उल्लेख गरिएको छ।
त्यतिबेला. क्याप्सिकम, हरियो खुर्सानी, बन्दा, काउली, भन्टा, गोलभेडा, भिन्डी, तितेकरेला, काँक्रो, केराउ र धनियाँमा अत्याधिक विषादी भेटिएको थियो।
प्रधानमन्त्री ओलीले निर्णयका पछाडि भारतको कुनै दबाब नभएको पनि दाबी गरेका छन्। तर केही दिनअघि काठमाडौंस्थित भारतीय दूतावासले सार्वजनिक रूपमै आफूहरूले नेपाल सरकारको ध्यानाकर्षण गरेको बताएको थियो।
‘हामीले नेपाल सरकारका उच्च अधिकारीहरूलाई भेटेर र लिखित रूपमै आफ्नो कुरा भनेका छौं,’ दूतावासका प्रवक्ता अभिषेक दुवेले सेतोपाटीसँग भनेका थिए।
भारतले विषादी परीक्षणका दुइटा कुरामा आपत्ति जनाएको थियो। पहिलो, सीमा नाकामा पर्याप्त उपकरण र जनशक्ति नभएकाले विषादी जाँच्न समय लाग्ने भएकाले धेरै तरकारी र फलफूल सडेका छन्।
भारतको अर्को आपत्ति नेपालबाट जाने तरकारी र फलफूलमा भारतले नियमित विषादी चेकजाँच गर्दैन भने नेपालले किन गर्ने भन्ने थियो।
नेपाललाई सीमामै प्रयोगशाला बनाउनु पर्यो भनेर दबाब दिने भारतले भने आफ्ना सीमामा त्यस्ता प्रयोगशाला बनाएको छैन।
प्रयोगशाला नहुँदा उसले नेपाली सामानलाई चेकजाँच नगरी जान दिन्छ भन्नेचाहिँ होइन।
नेपालबाट अदुवा, चिया, कफी अलैंचीलगायत सामान भारत निर्यात हुन्छ। लामो समयदेखि नेपाली व्यापारीले सामान पठाउन झन्झट व्यहोर्नु परिररहेको छ।
पूर्वी नेपालको झापाबाट अदुवा पठाउनु पर्यो भने एउटा परीक्षणको रिपोर्ट ल्याउन त २४ सय किलोमिटर टाढाको बैंग्लोर पुग्नुपर्छ।
नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले भने-हामीले यस्तो सास्ती भोगेको कति समय भइसक्यो। अहिलेसम्म केही सुधार भएको छैन।
२ वर्षअघि भारतले नेपालको अदुवा सीमामा रोक्यो। नेपाली अदुवामा विषादीको मात्रा रहेकाले चेकजाँच नगरी नपठाउने उसको अडान थियो।
‘नेपालले दुई दशकअघि नै प्रयोगमा प्रतिबन्ध लगाएको अल्डीकार्ब विषादी छ कि छैन भनेर अदुवामा परीक्षण गर्न लगाइयो,’ खड्काले भने,‘सुरूदेखि नै नेपाली अदुवामा त्यो विषादी नभेटिए पनि अहिलेसम्म जाँच गराइरहनु परेको छ।’
खड्काका अनुसार भारत अदुवा पठाउन अल्डीकार्बबाहेक पाँच किसिमका चेकजाँच गर्नुपर्छ। त्यस्ता चेकजाँच गर्ने प्रयोगशाला सीमामा छैनन्, कलकत्ता, पटना वा लखनऊ पुग्नुपर्छ।
नेपालबाट वर्षेनी झन्डै एक लाख ८० हजार मेट्रिक टन अदुवा भारत निकासी हुन्छ।
‘एउटा नमूनाको परीक्षण गरेको पाँच हजार रूपैयाँ तिर्नुपर्छ। नाकामा ट्रक राखी कलकत्ता पुगेर रिपोर्ट ल्याउन १०/१५ दिन लाग्छ,’ खड्काले भने,‘त्यतिञ्जेल ट्रकभित्रको केही अदुवा त कुहिसक्छ।’
विशेष खालका परीक्षण गर्ने प्रयोगशाला त परको कुराका भारतले नेपाली सीमामा पर्याप्त क्वारेन्टाइन अफिस पनि राखेको छैन।
‘सीमामा भारतभन्दा नेपालले धेरै ठाउँमा क्वारेन्टाइन राखेको छ। उहाँहरूलाई पनि राख्नुस् भन्दा नेपालबाट आउने सामानको मात्रा थोरै हुन्छ। सबै ठाउँमा राख्दा खर्चमात्र बढी हुन्छ भन्ने जवाफ दिनुहुन्छ,’ कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने।
हरेक देशले आफ्ना नागरिकको हितलाई ध्यानमा राखेर आयात हुने सामानमा के-के चेकजाँच गर्ने निर्णय गर्न सक्छन्।
‘सजिलो अप्ठेरो कुरा आफ्नो ठाउँमा छ। नेपालीले पनि कलकत्ताको लखनऊ पुगेर रिपोर्ट ल्याउन सजिलो त हुँदैन नि,’ कृषि मन्त्रालयका एक अधिकारीले भने,‘प्रयोगशाला बनाउने, जनशक्ति थप्ने कुरा पनि गर्नुपर्छ। तर कसैले दबाब दियो भन्दैमा विषादी परीक्षण रोक्नु हुन्न।’