आफ्नो देशबाट आउने तरकारी र फलफूल नेपाली सीमामा चेक जाँच हुन थालेपछि भारतले आपत्ति जनाएको छ।
काठमाडौंस्थित भारतीय राजदूतावासले सरकारका उच्च अधिकारीलाई चिठी पठाएर भारतीय तरकारी र फलफूलमा भइरहेको विषादी चेकजाँचबारे चासो व्यक्त गरेको हो।
‘हामीले नेपाल सरकारका उच्च अधिकारीहरूलाई भेटेर र लिखित रूपमै आफ्नो कुरा भनेका छौं,’ दूतावासका प्रवक्ता अभिषेक दुवेले सेतोपाटीसँग भने।
स्रोतका अनुसार भारतले विषादी परीक्षणका दुइटा कुरामा आपत्ति जनाएको छ। पहिलो, सीमा नाकामा पर्याप्त उपकरण र जनशक्ति नभएकाले विषादी जाँच्न समय लाग्ने भएकाले धेरै तरकारी र फलफूल सडेका छन्।
भारतको अर्को आपत्ति नेपालबाट जाने तरकारी र फलफूलमा भारतले नियमित विषादी चेकजाँच गर्दैन भने नेपालले किन गर्ने भन्ने छ।
नेपाल सरकारले भारतीय पक्षलाई विषादी परीक्षण रोक्ने कि नरोक्ने भन्नेबारे जवाफ पठाइसकेको छैन। तर विषादी परीक्षण रोक्नेबारेमा छलफल भने भइरहेको जनाएको छ।
‘यसबारे अर्थ र कृषि मन्त्रालयसँग छलफल भइरहेको छ। तर केही निर्णय भइसकेको छैन,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले भने। उनले भारतीय पक्षले पठाएको पत्रबारे भने आफूलाई जानकारी नभएको बताए।
बुधबार एक कार्यक्रममा बोल्दै अर्थसचिव डा. राजन खनालले भारतीय नाकामा ताजा तरकारी रोकिएको बारेमा सरकारले चासो दिएको बताएका थिए।
खनालले सरकारी निकायबीचको समन्वय अभावमा यस्तो देखिएको जानकारी दिए।
बिहीबारभित्रै यो समस्या समाधान हुने उनले आश्वासन दिएका थिए।
सरकारले असार पहिलो सातादेखि भारतीय फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो।
गुणस्तरहीन वस्तुको आयात रोक्ने उद्देश्यले सरकारले गरेको यो नीतिगत व्यवस्थाको कार्यान्वयनमा भने चुनौति देखिएको छ।
हाल कालिमाटी र सर्लाहीको हरिवनमा मात्रै हाल फलफूल तथा तरकारीको विषादी परीक्षण हुन्छ।
भन्सारहरुमा विषादी परीक्षणको उपकरण नहुँदा आयातकर्तालाई काठमाडौं आई नमुना परीक्षण गराई लैजानु पर्ने बाध्यता छ।
कालिमाटी बजारमा आउने तरकारी तथा फलफूलको ४० प्रतिशत भारतले ओगटेको छ भने ६० प्रतिशत स्थानीय बजारले ओगटेको छ।