ब्रिफिङ: निजगढ एयरपोर्ट
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न २५५६ हेक्टर जग्गामा रुख काट्ने आदेशका लागि वन तथा वातावरण मन्त्रालयलाई पत्र लेखेको छ। यो पत्रसँगै निजगढ विमानस्थलबारे चासो र बहस सुरु भएको छ।
आजका दिनमा निजगढ विमानस्थलसँग जोडिएका विभिन्न पाटा समेटेर हामीले यो ब्रिफिङ तयार गरेका छौं।
१. निजगढमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनुको अब सम्भवत: अर्को विकल्प छैन।
काठमाडौं विमानस्थल साँघुरो भैसक्यो। यसलाई सुधार गरेर केही सजिलो बनाउन सकिन्छ। त्यो दीर्घकालीन समाधान भने हैन। विमानस्थलका लागि निजगढ ठिक ठाउँ हो कि होइन भन्ने प्रश्न पनि उठेका छन्।
नागरिक उड्ड्ययन प्राघिकरणका पूर्व प्रमुख वीरेन्द्रबहादुर देउजा नेतृत्वको समितिले धेरै अध्ययन गरेर निजगढ प्रस्ताव गरेको हो। अहिले काठमाडौं-निजगढ फास्टट्रयाक बन्ने प्रक्रियामा छ। यो बनेपछि निजगढ-काठमाडौं सवारी दुरी ५८ मिनेटको हुनेछ। ठाउँको हिसाबले अब निजगढमा विवाद हुनुपर्ने खास कारण छैन।
२. निजगढ विमानस्थलसँग पर्यावरणीय र जैविक संवेदनशीलता जोडिएको छ भन्ने हेक्का राख्नुपर्छ।
यो विमानस्थल मूल रूपमा निजगढको जंगल मासेर बनाउने हो। यहाँ नेपालमा लोप हुँदै गएका सालका रूख छन्। पर्सा राष्ट्रिय वन्य निकुञ्ज पनि जोडिने यो जंगल बाघ, हात्तीसँगै कैयन जनावर र चराचुरुङ्गीको वासस्थान र आवतजावत मार्ग हो। पर्यावरणीय र पशुपन्छीमा पर्ने असर कम गर्न भरसक कम जंगल विनाश गर्नुपर्छ। सकेसम्म जनावरहरूको आवतजावत कसरी सुनिश्चित गर्ने भन्नेमा हाम्रो ध्यान जानु जरुरी छ।
३. अहिलेको मूल विवाद निजगढमा कत्रो र कस्तो विमानस्थल बनाउने र कति जंगल विनाश गर्ने, कति रूख काट्ने भन्ने हो।
पर्यटनले वन मन्त्रालयलाई पत्राचार गरेजस्तो निजगढमा २५५६ हेक्टर जंगल फडानी गर्नु जरुरी छ? वा, त्योभन्दा कम जग्गा ओगटेर पनि नेपाललाई भविष्यसम्म चाहिने विमानस्थल बनाउन सकिन्छ?
४. विमानस्थलले कति क्षेत्रफल ओगट्ने भन्ने विषय कत्रो र कस्तो बनाउने भन्नेसँग जोडिन्छ।
कोरियन कम्पनी वर्ल्डवाइड ल्यान्डमार्कले गरेको विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) का आधारमा पर्यटन मन्त्रालयले २५५६ हेक्टर जग्गाका रूख काट्नुपर्छ भन्ने निष्कर्ष निकालेको हो। त्यति जग्गामा दुई लाख ठूला र मझौला तथा साना साढे चार लाख गरी झन्डै सात लाख रूख रहेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले देखाएको छ।
निजगढमा आगामी ५० वर्ष धान्ने विमानस्थलका संरचना बनाउन कति जग्गा चाहिन्छ भन्ने नै अहिलको मुख्य प्रश्न हो। त्यो यकिन भैसकेपछि त्यति जग्गाभन्दा धेरैको जंगल अहिल्यै किन विनाश गर्ने भन्ने अर्को जबर्जस्त प्रश्न जन्मिन्छ।
५. कति जग्गा चाहिन्छ? कत्रो विमानस्थल चाहिन्छ? त्योसँगै यात्रुलाई राम्रो सेवा दिने आधुनिक विमानस्थल बनाउन के चाहिन्छ भन्ने प्रश्नको उत्तर खुट्टयाउन भारतको मुम्बईस्थित छत्रपति शिवाजी महाराजा अन्तर्राष्ट्रिय विमानस्थल हेरौं।
सन् २०१७ मा चार करोडभन्दा बढी यात्रु ओसारपसार गर्ने समूहमा मुम्बई विमानस्थलले एसिया-प्रशान्त क्षेत्रकै 'उत्कृष्ट विमानस्थल' अवार्ड पाएको थियो। एयरपोर्टस् काउन्सिल इन्टरनेसनलले यो अवार्ड दिने गर्छ।
पछिल्लो आर्थिक वर्ष यो विमानस्थलले ४ करोड ८० लाख यात्रु र ९ लाख टन कार्गो ओसारपसार गर्यो। यहाँ दैनिक अौसत ८ सय ५० हवाइजहाज आउजाउ गर्छन्। यो पछिल्लो वर्ष एउटा मात्र धावनमार्ग भएको संसारकै व्यस्त विमानस्थलमा परेको थियो।
यति धेरै यात्रु र कार्गो ओसार्ने, यति व्यस्त र एसिया-प्रशान्त क्षेत्रकै उत्कृष्ट अवार्ड पाएको मुम्बई विमानस्थल कति क्षेत्रफलमा बनेको होला?
जम्मा ७५० हेक्टर!
अर्थ सिधा छ— विमानस्थलको आकारभन्दा महत्वपूर्ण व्यवस्थापन रहेछ।
मुम्बई विमानस्थलले जहाज र यात्रु व्यवस्थापनका लागि 'ए-सिडिएम' प्रणाली अपनाएको छ। भारतका तीनवटा विमानस्थलमा मात्र यो प्रणाली लागू छ।
ए-सिडिएम भनेको 'एयरपोर्ट कोल्याबोरेटिभ डिसिजन मेकिङ' हो। विमानस्थल सञ्चालक, जहाज सञ्चालक, एयर ट्राफिक कन्ट्रोल र ग्राउन्ड स्टाफबीच हरबखत सूचना आदानप्रदान र प्रविधि प्रयोग गरेर विमानस्थलमा हुने ढिलासुस्ती कम गर्न र जहाज अवतरण तथा उडान चुस्त बनाउन ए-सिडिएमको ठूलो भूमिका हुन्छ। हाम्रो ध्यान भने चुस्त व्यवस्थापनमा कम र ठूला संरचनामा धेरै जाने गर्छ।
६. मुम्बईको जत्रो त साह्रै सानो हुन्छ, निजगढमा त्योभन्दा ठूलो विमानस्थल चाहिन्छ भन्ने अड्डी नै हो भने लन्डन र हङकङको उदाहरण पनि छ।
लन्डनको १२२७ हेक्टरमा बनेको हिथ्रो विमानस्थल संसारकै व्यस्तमध्ये एक हो। यसले वार्षिक ७ करोड ८० लाख यात्रु र ५० लाख टन कार्गो ओसारपसार गर्छ। त्यस्तै, १२५५ हेक्टरमा बनेको हङकङ विमानस्थलले पनि वार्षिक ७ करोड २० लाख यात्रु ओसार्छ (हेर्नुहोस् सेतोपाटीको स्टोरी)।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष ३८ लाख यात्रु आउजाउ गरे। हामी भैरहवा र पोखरा ‘अन्तर्राष्ट्रिय’ विमानस्थल निर्माण गर्दैछौं। बुद्ध एयरले छिट्टै नेपालगन्ज-दिल्ली उडान गर्दैछ। यी विमानस्थलबाट पनि यात्रुले सोझै विदेश आवतजावत गर्न थालेपछि तत्काललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप केही घट्नेछ।
निजगढ विमानस्थल बनेपछि विदेशबाट आउजाउ गर्ने यात्रु संख्या बढ्ने सम्भावना पक्कै छ। तर, त्यसको पनि केही हिस्सा पोखरा र भैरहवा विमानस्थलले लिनेछन्।
त्यसो भए निजगढ विमानस्थलमा यात्रु चाप कहिले सात-आठ करोड पुग्ला? अहिल्यै त्योभन्दा धेरै यात्रु धान्ने विमानस्थल बनाएर फजुल खर्च गर्ने र आवश्यकताभन्दा धेरै रुख काट्ने काम किन?
७. निजगढ विमानस्थलबारे पछिल्लो स्टोरी गर्नुअघि मैले बुधबार वन तथा वातावरण मन्त्री शक्ति बस्नेतलाई भेटेको थिएँ। पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई पनि त्यही दिन भेट्ने समय थियो। पोखरा जाने जहाजको समय गडबड भएपछि उनलाई बिहीबार मात्र भेट्न पाएँ।
अधिकारीलाई सोधेँ, 'झन्डै साढे १२ सय हेक्टरमा बनेका लन्डन र हङकङ एयरपोर्टले वार्षिक आठ करोड यात्रु धान्छन्। हामीले अमूल्य सालको जंगल मासेर किन २५५६ हेक्टर जग्गा खाली गराउने?'
उनले भने, 'निजगढ एयरपोर्ट सहरभन्दा धेरै बाहिर बन्ने हुँदा अलिक धेरै संरचना बनाउनुपर्छ। त्यति थोरै जग्गाले अलिक नपुग्ला।'
मैले भनेँ, 'कत्रो क्षेत्रफलमा बनाउने अन्तिम निर्णय गर्ने सरकारले हो। तर, किन त्यति ठूलो जग्गामा बनाउनुपर्यो भन्ने सार्वजनिक जवाफदेहिता तपाईंको हुनेछ।'
मैले सुझाएँ पनि, 'अध्ययन गर्न लगाउनुहोस् न, लन्डन र हङकङ एयरपोर्टमा नभएका के संरचना हाम्रोमा चाहिने रहेछन्! हामीलाई १२५० हेक्टर जमिनले किन नपुग्ने रै’छ।'
८. यथार्थ के हो भने, लन्डन, हङकङ र मुम्बईमा भएजति संरचना निजगढमा अहिल्यै चाहिन्नन्। अब आउने केही दशकसम्म पनि चाहिन्नन्।
हिथ्रोमा अहिले पाँचवटा टर्मिनल छन्। चारवटा यात्रुका लागि, एउटा कार्गोका लागि। हङकङ विमानस्थलमा दुई र मुम्बईमा तीन टर्मिनल छन्। लन्डन र हङकङमा दुई धावनमार्ग छन् भने मुम्बईको एउटा मात्र छ।
हुनलाई मुम्बई विमानस्थलमा पनि एकअर्कालाई काटेर गएका दुइटा धावनमार्ग छन्। यी समानान्तर धावनमार्ग नभएकाले छुट्टाछुट्टै चलाउन मिल्दैन। त्यसैले, एउटै धावनमार्ग मानिन्छ।
यी तीनै विमानस्थलमा अन्य आवश्यक संरचना पनि त्यहीअनुसार छन्। करोडौं यात्रु धान्ने यी विमानस्थलका भौतिक संरचनाले निजगढ विमानस्थलको आवश्यकता नधान्ने कुरै छैन। बरु धेरै हुनेछ।
निजगढमा अहिले एउटा धावनमार्ग र एउटा टर्मिनलले पुग्छ। त्यसैका लागि चाहिने सहायक संरचना बनाउने हो। आवश्यक भएपछि दोस्रो धावनमार्ग र दोस्रो टर्मिनल बनाउन अहिल्यै योजना बनाएर जग्गा छुट्टयाउने हो।
संसारका अरू विमानस्थलले पनि आवश्यकताअनुसार विस्तार गरेका हुन्। जस्तै- सन् १९४६ मा व्यावसायिक सञ्चालनमा आएको हिथ्रो विमानस्थलले १९७० मा तेस्रो, १९८४ मा चौथो र २००८ मा पाँचौं टर्मिनल जोडेको हो। तेस्रो धावनमार्ग बनाउने पक्षमा सांसदहरुले २०१८ जुनमा मात्र मत हालेका हुन्।
त्यस्तै, १९९८ मा सुरु हङकङ विमानस्थलले २००७ मा दोस्रो टर्मिनल जोडेको थियो।
९. कतिपयले तर्क गर्छन्— विमानस्थल भनेको दीर्घकालीन संरचना हो। भविष्यलाई पुग्ने गरी बनाउनुपर्छ।
हामी अहिले बाँचेको युगमा प्रविधि तीव्र गतिमा परिवर्तन भैरहेको छ। 'आर्टिफिसियल इन्टिलिजेन्स’ को अभूतपूर्व गतिमा विकास भैरहेको छ। सन् २०२९ सम्म कतिपय मेसिनहरुको 'आर्टिफिसियल इन्टिलिजेन्स' मानिसको तहमा पुग्नेमा धेरै वैज्ञानिकहरुको सहमति छ। त्यसपछि त यसको विकास अकल्पनीय गतिमा हुनेछ।
प्रविधिमा हुने यी बदलावले अन्य क्षेत्रजस्तै संसारका विमानस्थलमा पनि व्यापक परिवर्तन ल्याउने विख्यात डिजाइनरहरूले बताइरहेका छन्।
भविष्यका विमानस्थलमा अहिलेजस्तो यात्रुका लामा लाइन रहने छैनन्। अहिल्यै कतिपय विमानस्थलमा सुरु भएको अनलाइन चेकिङ विस्तारित हुनेछ। यात्रुले ‘ब्यागेज’ को अहिलेजस्तो झन्झट व्यहोर्नुपर्ने छैन। विमानस्थलमा अहिले पाइने दु:ख न त्यतिखेर हुनेछ, न त यात्रुले त्यो सहने छन्।
त्यसैले, अहिले बन्ने टर्मिनल, त्यसमा प्रयोग हुने प्रविधि र आउने ५० वर्षमा बन्ने टर्मिनलमा आनका तान फरक हुनेछ। हामीले विमानस्थल निर्माणमा भविष्यमा अाउने यी बदलावलाई अहिल्यै ख्याल गर्नुपर्छ। त्यही भएर आउने केही दशकलाई पुग्ने गरी न्यूनतम संरचना बनाउने, अरू खालि ठाउँ राख्ने र पछि चाहिएअनुसार विस्तार गर्नु 'कमन सेन्स’ हो। अहिलेलाई आवश्यक जंगल मात्र फडानी गर्ने र पछि आवश्यक भएपछि थप जंगल लिँदै जानु विवेकपूर्ण कदम हो।
हामीले ७५० हेक्टर क्षेत्रफल ओगटेर विमानस्थल बनाउन सक्यौं भने पर्यटन मन्त्रालयले प्रस्ताव गरेको २५५६ हेक्टरभन्दा एक-तिहाइ क्षेत्रफलका मात्र रूख काट्नुपर्ने हुन्छ। १२५० हेक्टर क्षेत्रफल विमानस्थलका लागि खालि गर्ने हो भने पनि अहिले प्रस्ताव गरेभन्दा आधा मात्र रूख काट्नुपर्नेछ।
यसले रूख र जंगल मात्र जोगाउने छैन, जनावर र चराचुरुङ्गीको वासस्थान पनि जोगाउनेछ। चुरे तलका मानिसका लागि पर्यावरणीय असर कम गर्नेछ।
अरूले विमानस्थलभित्र र वरिपरि रूख रोपेर हरियाली बढाइरहेका छन्। हामी त जंगलभित्रै विमानस्थल बनाउँदैछौं, जुन कमै मुलुकले गर्छन्। त्यसैले जति कम रूख काट्यो, विमानस्थल वरिपरि त्यति हरियाली हुनेछ।