भीमदत्त नगरपालिकाको दोस्रो नगर सभाबाट तीन ऐन पारित सहितका विभिन्न निर्णय गरिएका छन्। नगर सभामा हालसम्मको विकास निर्माणको समीक्षा र आगामी दिनमा बनाउनुपर्ने नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरिएको छ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिकालाई रूपान्तरणको बाटोमा लैजाने प्रतिबद्धता गरी विभिन्न ऐन र निर्णय पारित गरिएको बताए। ‘नगर सभामा अहिलेसम्मको विकास निर्माणको समीक्षा गर्यौं, विगतका कमजोरी सच्याउँदै भीमदत्तको रूपान्तरण र परिवर्तनका लागि सबैले सामूहिक रूपमा लाग्ने कुरा भयो’, नगर प्रमुख विष्टले भने। नगर सभामा आगामी तेस्रो नगर सभामा पेश हुने नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरिएको छ।
दोस्रो नगर सभाबाट सहकारी ऐन, आर्थिक ऐन र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन पारित गरिएका छन्। यसअघि पहिलो नगर सभाबाट पारित ऐन स्थानीय राजपत्रमा प्रकाशित गरिएका छन्।
नगर सभाले विभिन्न ६ वटा विषयत समिति पुनः गठन र पशु सेवाअन्तर्गत छुटेको बजेट थप गर्ने अधिकार नगर कार्यपालिकालाई दिएको छ। नगर कार्यपालिका (कार्य सम्पादन नियमावली) का आधारमा वडाध्यक्षको संयोजकत्वमा तीनदेखि ६ सदस्यीय समिति गठन गरिएका छन्।
यसैगरी, नगर सभाबाट नगर सभा सञ्चालनका लागि आवश्यक कर्मचारीलाई सभाकक्षमा रहन अनुमति दिने निर्णय गरिएको छ। नगरपालिकाका सबै वडामा एक/एकसहित २७ जना नगर प्रहरीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ।रासस