पछिल्ला केही समययता रूपन्देहीको क्षेत्र नं ३ 'क' बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष पाण्डेयले ड्युटीमा रहेका प्रहरीलाई सडकको चोकमा देखाएको व्यवहारले नेपाल प्रहरीको शिर निहुँरिने अवस्था बनाएको छ।
पाण्डेय लुम्बिनी प्रदेशका पूर्वगृहमन्त्री समेत हुन्। त्यसैले पनि सीमित साधन स्रोतका बाबजुद पनि आफ्नो ड्युटीमा खटिने प्रहरी कर्मचारीहरूको बाध्यता र समस्याबारे पाण्डेय पक्कै जानकार हुनुपर्छ। ती नै पाण्डेयले सडकमा ड्युटी गरिरहेका तल्लो दर्जाका प्रहरी कर्मचारीहरूलाई भारतीय नागरिककै अगाडि हुर्मत लिएका ३ वटा भिडिओ आफ्नै टिकटकबाट सार्वजनिक गरेका छन्।
पाण्डेयले सार्वजनिक गरेको भिडिओमा भारतीय पर्यटकलाई प्रहरीले दु:ख दिएको भन्ने देखाउन खोजिएको छ।
पछिल्लो पटक उनले सार्वजनिक गरेको भिडिओमा नो पार्किङमा सवारी साधन राखेका भारतीय नागरिकलाई प्रहरीले नियम उल्लङ्घन गरेको भन्दै चिट काटेपछि पाण्डेय उत्तेजित भएर थर्काएको देखिएको छ।
पाण्डेयले ड्युटीमा रहेका प्रहरी हवल्दारलाई रकम असुल्न खोजेको प्रमाणित गराउने प्रयास गरेका छन्। तर त्यो सम्भव नभएपछि सबैका अगाडि अभद्र व्यवहार गरेर हुर्मत लिने प्रयास गरेको भिडियोमै देखिन्छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक रन्जु केसीले सवारी साधन पार्किङ निषेधित क्षेत्र तोकिएको भैरहवाको व्यस्त र मुख्य बजारमा भारतीय नम्बर प्लेट युपी ४७ क्यु ४७८५ नम्बरको कार लामो समयसम्म रोकिराखेका कारण ड्युटीमा खटिएका प्रहरी कर्मचारीले चिट काटेको बताइन्।
त्यही चिटको आधारमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाले ५ सय रुपैयाँ जरिवाना लिएको थियो। यो असार ३१ गतेको घटना हो।
‘नो पार्किङ लेखिएको ठाउँमा लामो समय भारतीय नम्बरको कार रोकेपछि ड्युटीमा खटिएको प्रहरीले जरिवाना गर्नका लागि चिट दिएको थियो तर, माननीय आएर भारतीय पर्यटकलाई किन जरिवाना गर्ने भनेर उल्टै प्रहरीलाई थर्काउनु भयो,’ केसीले भनिन्।
उनले प्रहरी कर्मचारीले कुनै गलत काम नगरेको दाबी गर्दै प्रहरीको अभिभावक बन्नुपर्ने पूर्वगृहमन्त्री समेत रहेका सोही क्षेत्रका प्रदेश सांसदले अरूका अगाडि प्रहरीलाई निरूत्साहित गरेको गुनासो गरिन्।
पाण्डेयले गरेको यो व्यवहार भारतीय नागरिकका सामु नेपाल प्रहरीको शिर झुकाउने उद्देश्य प्रेरित भएको भैरहवाका स्थानीय बताउँछन्।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले जनप्रतिनिधि हुँ भन्ने सोचाइले पाण्डेयलाई उन्मत्त बनाउँदै लगेको टिप्पणी गरे।
पाण्डेयले केही दिनअघि हेल्मेट नलगाई मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा चढेका ३ जना भारतीय युवालाई प्रहरीले रोकेको केहीबेरमा पुगेका पाण्डेयले ड्युटीमा रहेका प्रहरीलाई तथानाम गाली गरेको गुनासो प्रहरीहरूको छ।
त्यसअघि बेलहिया नाकाबाट अटोमा आइरहेका भारतीय नागरिकलाई सशस्त्र प्रहरीले डन्डामा चेक गर्दैगर्दा पुगेका पाण्डेयले भारतीय नागरिकलाई चेकजाँच नगर्न भन्दै सशस्त्र प्रहरीलाई थर्काएका थिए। यी सबै भिडिओ पाण्डेय आफैले टिकटकमा हालेका छन्।
सडकमा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरू घाम पानी नभनी ड्युटीमै खटिएको बेला बिना गल्ती आफूहरूले गाली खानुपर्दा अभिभावकविहीन जस्तै हुने गरेको गुनासो गर्छन्।
‘कहिलेकाहीँ त हाम्रो कुरा सुनाउने ठाउँ पनि हुँदैन, नेताहरूका मात्र कुरा सुनिदिने हाकिम भएको भए धेरै जना पहिले नै अनाहकमा कारबाहीमा परिसक्थे,’ एक ट्राफिक जवानले भने।
हामीले यसबारेमा प्रदेश सांसद सन्तोष पाण्डेयसँग पनि सोधेका छौँ।
उनले प्रहरीले भारतीय पर्यटकहरूबाट गलत ढङ्गले पैसा असुल गरिरहेकोले त्यसलाई निरूत्साहित गर्न आफूले पहल गरेको दाबी गरे।
‘प्रहरीले भारतीय नागरिक देख्यो कि जरिवाना असुल गर्ने परिपाटी बन्द गर्नुपर्छ, हजार दुई हजार जरिवाना लिएर होइन नेपाल आउने भारतीय पर्यटकबाट डेढ दुई लाख रुपैयाँ खर्च गराउन सक्नुपर्छ,’ उनले भने।
पाण्डेयले भारतीय पर्यटकको मात्र कुरा नभई सुरक्षाकर्मीहरूको सेवाबाट नेपाली नागरिक पनि खुसी नभएको बताए। उनले भारतीय पर्यटकबाट पैसा उठाउन नपाएपछि हतोत्साहित बनाइयो भन्ने गुनासो गर्ने गरेको आरोप लगाए।
प्रदेश सांसद पाण्डेयले सडकमा खटिने प्रहरी कर्मचारीलाई मात्र होइन प्रदेश सभाबाट समेत भारतीय नागरिकलाई गर्दै आएको चेकजाँच बन्द गर्नुपर्ने बताउँदै आएका छन्।
लुम्बिनी प्रदेशको समृद्धि पर्यटनबाट मात्र सम्भव हुने भएकोले भारतीयहरूलाइ चेकजाँच गर्न बन्द गर्नुपर्ने पाण्डेयको तर्क छ। उनले भारतीय पर्यटकलाई हुँदै आएको चेकजाँच रोक्नुपर्ने र त्यसको सुरूआत भैरहवाबाटै हुने दाबी गरे।
तर पाण्डेयले कारबाही नगर्न दबाब दिँदै आएका भारतीय नागरिक भने पर्यटकभन्दा पनि खुला सीमाबाट व्यापार गर्न आउने व्यापारीहरू रहेका छन्।
प्रत्यक्षदर्शीका अनुसार सांसद पाण्डेयले भने जस्तो पर्यटक भनिएका ती व्यक्ती पर्यटक नभई भारतीय फलफूल व्यापारी हुन्। अमिश नामका ती भारतीय व्यापारी प्रायजसो पवन मिष्टान्न आसपास रहेका फलफूल पसलमा भारतबाट नरिवल लिएर आउने गर्छन्।
‘नो पार्किङमा गाडी पार्किङ गरेको भन्दै ट्राफिक प्रहरीले जरिवानाको चिट दिएपछि स्थानीय एक फलफूल व्यापारीले म कहाँ सधैँ आउने मान्छे हुन् छोडिदिनुस् भनेर अनुरोध गर्न आएको एक प्रत्यक्षदर्शीले बताए।
प्रदेश सांसद, प्रहरी र भारतीय नागरिकका बीचमा छलफल चल्दै गर्दा पुगेका पत्रकार माधव ढुङ्गानाले माननीय जस्तो मान्छे सडकमा ड्युटीमा रहेका प्रहरीसँग विवाद गर्नुभन्दा प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रहरी प्रमुखसँग कुरा गर्न सुझाव दिएपछि पाण्डेय त्यहाँबाट हिँडेका थिए।
प्रदेश सांसद पाण्डेयले नेपालमा आएपछि जुन प्रयोजनले आएको भए पनि त्यो व्यक्तिलाई पर्यटकको रूपमा व्यवहार गर्नुपर्ने बताए।
‘नेपालमा आइसकेपछि चाहे भारतीय होस् चाहे अरू कुनै देशको नागरिक होस् जुन प्रयोजनले आए पनि त्यो पर्यटक हुन्छ, सुरक्षाको लागि भन्दै खटिने प्रहरीले सम्मान र मुस्कानसहितको प्रहरी सेवाको नारालाई फलो गर्नुपर्यो,’ उनले भने।
सडकमा ड्युटीमा रहेका सुरक्षाकर्मीलाई थर्काउँदै हिँड्ने पाण्डेयले प्रहरीका अधिकृतहरूलाई भने जानकार गराएका छैनन्।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल भैरहवाका प्रमुख प्रहरी उपरीक्षक मेखराज जोशीले ड्युटीमा रहेका प्रहरीसँग भएको विवादबारे पाण्डेयले आफूलाई कुनै कुरा नगरेको बताए।
‘मसँग प्रहरीले पर्यटकलाई दुख दिए भनेर गुनासो आएको छैन, मैले पनि माननीयको टिकटक हेरेर थाहा पाएँ, उनले भने।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले प्रदेश सांसद पाण्डेयको व्यवहार कानुन हातमा लिने खालको भएको बताउँदै आफूले यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुरा राख्ने बताए।
‘मैले माननीयज्यूलाई पनि यो तरिका ठिक भएन भनेर भनेको छु, यो विषयमा प्रमुख जिल्ला अधिकारीज्यूसँग पनि कुरा गर्छु,’ प्रहरी उपरीक्षक क्षेत्रीले भने।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कुनै प्रहरी कर्मचारीले गल्ती वा कमी कमजोरी गरेको भए सम्बन्धित कार्यालयको प्रमुख वा प्रमुख जिल्ला अधिकारीलाई भन्नुपर्ने बताए।
‘प्रहरी कर्मचारीले गल्ती गरेको वा कमजोरी गरेको भए जिल्ला प्रहरी प्रमुख वा प्रमुख जिल्ला अधिकारीलाई भन्नुपर्छ, माननीयले सडकमा गएर ड्युटीमा खटिएको प्रहरीलाई हतोत्साहित गराउने होइन यो तरिका ठिक भएन,’ उनले भने।