प्रदेश नं १ का छ मन्त्रालयमध्ये सबैभन्दा शक्तिशाली मन्त्रालयको रूपमा देखिएको आन्तरिक तथा कानून मन्त्रालयले सोमबारदेखि विधिवतरूपमा काम सुरू गरेको छ।
मन्त्रालयका सचिव यज्ञबहादुर खत्रीका अनुसार यो मन्त्रालयले केन्द्रको गृह मन्त्रालयसरह काम गर्नेछ। सूचना तथा सञ्चार, कानून र सामान्य प्रशासनको सम्पूर्ण कार्य यसै मन्त्रालयबाट हुनेछ। मन्त्रालयका सचिव खत्रीले प्रदेशका छ मन्त्रालयमध्ये अधिकारको हिसाबले शक्तिशाली रहेको बताए। उनका अनुसार प्रदेशको शान्ति सुरक्षा, कर्मचारीको सरुवा, बढुवा र कानून निर्माणको रूपमा मन्त्रालयले भूमिका खेल्ने छ।
सूचना तथा सञ्चार मन्त्रालयबाट हुने सम्पूर्ण काम यही मन्त्रालयले गर्नेछ। सचिव खत्रीका अनुसार शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्यूरो, द्वन्द्व व्यवस्थापन, कानून न्याय तथा प्रदेशसभा मामिला र प्रदेश कर्मचारी यही मन्त्रालयले खटनपटन गर्नेछ।
यस मन्त्रालयमा तीनवटा महाशाखा रहनेछन्। प्रशासन योजना तथा विपद् व्यवस्थापन, सुरक्षा समन्वय र कानून तर्जुमा महाशाखा रहनेछन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था कृषि सहकारी मन्त्रालय रहनेछन्। संघीय शासन व्यवस्था कार्यान्वयनको चरणमा रहेकाले प्रदेश नं १ मा मन्त्रालयको स्थापना हुने क्रम जारी रहेको छ।
प्रदेशका प्रमुख सचिव यादव कोइरालाले सीमित स्रोत साधनका बाबजुद मन्त्रालय स्थापना गर्नेक्रम जारी रहेको बताए। मुख्यमन्त्री चयन भइसकेपछि सबै मन्त्रालयबाट काम सुचारु हुने जानकारी दिए। मन्त्रालय स्थापना हुने क्रमसँगै सचिव आउने क्रम जारी छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा सन्तोष श्रेष्ठ, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयमा हरिबहादुर केसी र पूर्वाधार मन्त्रालयमा किशोरचन्द्र गौतम सचिवको रूपमा आइसइकेका छन्।
रासस