प्रदेश नम्बर १ को सभामुखमा एमालेका प्रदीप भण्डारी निर्विरोध निर्वाचित भएका छन्।
सोमबार बसेको प्रदेशसभा बैठकले भण्डारीलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो।
बैठकको सुरूमै सांसद तुलसीप्रसाद न्यौपानेले भण्डारीलाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अर्का सांसद लक्ष्मण तिवारीले सो प्रस्तावमा समर्थन गरेका थिए।
सभामुखमा एक जनाको नाम मात्रै प्रस्ताव भएपछि जेष्ठ सदस्य ओम सरावगीले भण्डारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे। धरानका भण्डारी सुनसरी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभामा निर्वाचत भएका थिए। शिक्षण पेसाबाट सेवानिवृत्त भएका उनी २०२७ सालदेखि बामपन्थी राजनीतिमा सक्रीय छन्।
प्रदेशसभा आज दिउँसो १ बजेर १९ मिनेटमा सुरू भएर १ बजेर ३५ मिनेटसम्म सञ्चालन भएको थियो।