नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं ३ संसदीय दलका नेतामा शालिकराम जमरकट्टेल (धादिङ) लाई चयन गरेको छ ।
संसदीय दलको बिहिबार बसेको बैठकले दलको उपनेतामा कुमारी मोक्तान (मकवानपुर) र प्रमुख सचेतकमा बसन्त माझी (सिन्धुली) तथा सचेतकमा प्रतिमा श्रेष्ठ (भक्तपुर)लाई चयन गरेको छ।
प्रदेश नं ३ का उपसभामुखमा राधिका तामाङ (नुवाकोट) लाई उम्मेदवार बनाउने निर्णय भएको संसदीय दलका नेता जमरकट्टेलले जानकारी दिए। संसदीय दलका नेता जमरकट्टेलले जनताको अपेक्षानुसार संविधान कार्यान्वयन र आर्थिक समृद्धिको कार्ययोजनालाई अगाडि बढाउने लक्ष्यका साथ आफ्नो पार्टीले प्रदेशसभामा भूमिका निर्वाह गर्ने बताए।
संसदीय दलको बैठकलाई माओवादी केन्द्रका ३ नं प्रदेश इञ्चार्ज हितमान शाक्य र नेता झक्कुप्रसाद सुवेदीले सम्बोधन गर्दै जनअपेक्षानुसार काम गर्न प्रदेशसभा सदस्यलाई आग्रह गरेका थिए। ‘जनताको ठूलो अपेक्षा छ, आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउनुपर्नेछ। यो अवस्थामा माओवादी केन्द्रका सदस्यको भूमिका महत्वपूर्ण र प्रभावकारी हुनु जरुरी छ’, नेताद्वयको जोड थियो।
रासस