नेकपा (माओवादी केन्द्र) ले प्रदेश नं १ को संसदीय दलका नेतामा टङ्क आङबुहाङ (ताप्लेजुङ) लाई सर्वसम्मत चयन गरेको छ।
माओवादी केन्द्र प्रदेश नं १ का संयोजक सावित्रीकुमार काफ्लेले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आङ्बुहाङलाई सर्वसम्मत दलका नेतामा चयन गरिएको बताए। त्यस्तै, पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नका लागि इन्द्र हाङ्वो (पाँचथर) लाई पनि सर्वसम्मत चयन गरिएको छ।
प्रदेश नं १ का ९३ सांसदमध्ये माओवादी केन्द्रका १५ र उदयपुरबाट माओवादी केन्द्रका सहयोगमा निर्वाचित नारायणबहादुर मगरको पनि पार्टीमा समर्थन रहेको संयोजक काफ्लेले बताए। प्रदेश नं १ का इन्चार्ज गोपाल किराँतीले पार्टीभित्र विचार र सङ्घर्ष हुनु स्वाभाविक हो भने।
रासस