राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सातवटै प्रदेशमा प्रादेशिक सूचना आयोगको गठन गर्नुपर्ने जरुरी रहेको बताएका छन्।
पाँचथरको फिदिममा मंगलबार बिहान पत्रकारसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन्।
यस्तै मुलुकमा रहेका ७५३ वटा स्थानीय तहमा उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा सूचना आयोगको बोर्ड गठन गर्नुपर्ने बताए। उनले भने, ‘प्रत्येक नेपालीलाई सूचना दिने र पाउने अधिकार नेपालको धारा २७ मा उल्लेख गरिएको छ, तर मानवअधिकारको घोषणापत्र १९४७ लाई हेर्दा सूचना प्रवाहको हक छुटेको छ, त्यसलाई संविधान संशोधनमार्फत यो बुँदा थप्न आवश्यक छ।’
उनले सूचनाको हक प्रवाहको निम्ति राज्य प्रणाली आफैँ जुर्मुराउनुपर्ने बताउँदै आम नागरिकलाई सजग गराउनु सरकारकै कर्तव्य रहेको उल्लेख गरे।
राज्य प्रणालीले सूचना एक प्रकारले विज्ञापनको रूपमा प्रचार गर्नुपर्ने भए तापनि सञ्चारकर्मीलाई समेत उपलब्ध नगराउनु दुर्भाग्य रहेको उनको भनाइ छ।
जुन सरकार सूचना लुकाउन उद्धत हुन्छ त्यो जनतामाझ अलोकप्रिय हुन्छ र उसको आयु पनि लामो नहुने उनको भनाइ छ। उनले भने, ‘जनताको घरघरमा गएर घुम्ती शिविरमार्फत सरकारी निकायले सूचना प्रवाह गर्नुपर्दछ।’