प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिएका छन्।
प्रदेश नं १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई संविधान, राष्ट्र र जनताप्रति समर्पित रहन शपथ खुवाएपछि सरावगीले १ नं प्रदेशसभाका सदस्यलाई सामूहिक रूपमा शपथ खुवाए।
सो अवसरमा प्रदेशका ५६ प्रत्यक्ष र ३७ समानुपातिक प्रदेश सदस्यले शपथ लिए।
शपथका अवसरमा क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, प्रतिनिधिसभाका सदस्य, पूर्वसांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश, सुरक्षाकर्मीका उच्च पदाधिकारी, कार्यालय प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, समाजसेवीलगायतको उपस्थिति थियो ।
शपथमा जे देखियो
मञ्चमा १ नं प्रदेशका विशिष्ट व्यक्तिको तस्वीर राखिएको थियो। सबैभन्दा माथि राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखिएको थियो। त्यसपछि एक लहरमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, झलनाथ खनाल र केपी शर्मा ओलीको तस्वीर राखिएको थियो ।
शपथका लागि उपस्थित अधिकांश सभासद् दौरासुरुवाल र गुन्युचोलीमा थिए। कुनै आदिवासी जनजातिका महिला सदस्य आआफ्ना लिम्बू र धिमालको संस्कृति झल्किने पोशाकमा थिए। एक पुरुष सदस्यले टाउकामा फेटा बाँधेका थिए। संघीय समाजवादी फोरम नेपालका प्रदेश सदस्य भने कुर्ता, पाइजामा र गम्छामा थिए।