राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी आर्थिक वर्ष ०७५/७६ को लागि पैसाको अभाव हुने भएकोले अन्तर्राष्ट्रिय दाता सम्मेलनको आयोजना गर्ने बताएका छन्।
बिहिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै सिईओ भुसालले पुनर्निर्माणको लागि यो आर्थिक वर्षसम्म रकमको कुनै अभाव नहुने भएपनि अर्को वर्षको लागि झण्डै साढे तीन खर्ब पैसा चाहिने भएकोले दाता सम्मेलनको आन्तरिक गृहकार्यमा प्राधिकरण जुटिरहेको जानकारी दिए। उनले भने,‘०७५ को असारसम्म सम्मेलन हुन्छ, हामी आन्तरिक गृहकार्यमा जुटिरहेका छौं, दाता सम्मेलनको आयोजना गर्नेबारे हाम्रो सोच बनिसकेको छ।’
साक्षात्कारमा बोल्दै उनले ७ खर्ब रुपैयाँको नोक्सानी भएकोले पुनर्निर्माणको लागि झण्डै ९ खर्ब रुपैयाँ चाहिने आफूहरूको प्रक्षेपण भएको बताए। उनले भने,‘४२ अर्ब रुपैयाँ नेपालको आन्तरिकबाटै र ३०/३२ अर्ब रुपैयाँ दातृ निकायबाट काम भएको छ, भारतबाट एक खर्ब रुपैयाँ आउन बाँकी नै छ, २५ अर्ब रुपैयाँ आउने प्रक्रिया सुरू भइसकेको छ, ७५ अर्ब रुपैयाँ लाईन अब क्रेडिट भएकोले आउँछ।’
प्राधिकरणको ऐन पुनर्निर्माणमैत्री नभएकोले काममा ढिलाइ र खर्च गर्न क्षमतामा कमी आएको पनि उनले गुनासो पोखे। उनले भने,‘ऐन प्रभावकारी नहुँदा ढिलाइ भएको हो, प्राधिकरणलाई स्वीपिङ पावर दिएको भए अहिले खर्च पनि प्रभावकारी रूपमा हुन्थ्यो नि।’
यो आर्थिक वर्ष चुनाव सम्पन्न भएकोले बैंकहरूमा समेत पैसाको अभाव रहेको उनको भनाइ थियो। अनुदान दिनेबारे आफूहरूले बैंकसँग लगातार छलफल गरिरहेको जानकारी दिँदै भने,‘हामी उहाँहरूसँग चरणबद्ध छलफलमा छौं, ७५३ ओटै स्थानमा बैंक शाखा खोल्नुपर्ने प्रावधान जो छ, उहाँहरूले सबैको ग्यारेण्टी खोज्नुभएको छ, अहिले छलफल चलिरहेको छ।’
प्राधिकरणले हिजोमात्रै आफ्नो स्थापनाको २ वर्ष पूरा गरेको उल्लेख गर्दै सिईओ भुसालले भने,‘प्राधिकरणको २ वर्ष पूरा भयो, हाम्रो सुरूवाती ८ महिना त प्राधिकरण गठनमै बित्यो, त्यस्तै यो बीचमा विभिन्न उतारचढावहरू आए, अस्थिर सरकारले गर्दा सिईओ नै फेरबेदल हुनुभयो, यो बीचमा म कार्यकारी भएर आएको छु, काम गर्दैछु, मैले पदभार ग्रहण गरेकै दिन लक्ष्य निर्धारण गरेको थिएँ, मनसुन अगावै ६० प्रतिशत घर बनाउने र निजी आवासमा पीडितहरूलाई सार्ने, अहिले हाम्रो टिम पूरा कोशिसमा छ, हामी द्रुत गतिमा काम गर्दैछौं।’
उनले आफूले तीन महिनाभित्रै सकारात्मक छनक देखाएको दाबी गरे । उनले भने,‘अति प्रभावित १४ जिल्लाहरू खासगरी १३१ स्थानीय तहका १ हजार १ सय ९६ वडामा प्राविधिकहरू खटाएका छौं।’ उनले प्राविधिक तथा आफ्ना टोलीहरूलाई दोस्रो किस्ता सिफारिशको लागि आग्रह गरेको पनि जानकारी दिए। प्राधिकरण निर्देशक समितिका अनुसार ७० देखि ७५ प्रतिशत घर बने भनेपनि यसलाई १ सय प्रतिशत मान्न सकिनेछ। उनले आगामी असारभित्र ६० प्रतिशत निजी आवास निर्माण भइसक्ने दाबी गरे । घर निर्माणको लागि काठको कुनै समस्या नभएको समेत उनले स्पष्ट पारे ।
यद्यपी सिईओ भुसालले प्राविधिक कामदारको भने केही अभाव रहेको गुनासो पोखे। भुसालले अघि थपे,‘हामीले ५६ हजार कामदारलाई तालिम दिएका थियौं, तर अहिले २५ हजार बाँकी छन्, कोही विदेश गए, कोही बच्चा तथा महिलाहरू हुनुहुन्छ।’
उनले धरहरा निर्माण पनि यही आर्थिक वर्षभित्रै निर्माण गर्न सुरू गर्ने जानकारी दिए। उनले भने,‘हामी विभिन्न विकल्पका बारेमा छलफल गरिरहेका छौं, हेरिटेज कम्प्लेक्स बनाउने प्राधिकरणको सोच छ।’ त्यस्तै, उनले रानीपोखरीको पुनर्निर्माणमा अहिले विवाद देखिएकोप्रति टिप्पणी गर्दै भने,‘राष्ट्रपतिले पहिल्यै नै शिल्यान्यास गर्नुभएको छ, काठमाडौं महानगर र पुरातत्व विभागबीच केही विवाद छ, यसबारेमा अहिले छलफल चलिरहेको छ, छिट्टै यसको काम सुरू हुन्छ।’
उनले आगामी ५ वर्षभित्रै समग्र पुनर्निर्माणको काम सकिने विश्वास दिलाए। उनले थपे,‘हामी पुनर्निर्माणलाई अभियानको रूपमा युद्धस्तरमा काम गर्दैछौं, हाम्रो म्याद ५ वर्ष सम्म हो, यही अवधिभित्र सबै काम सक्छौं।’ उनले एकल महिला, अति वृद्धवृद्धा, टुहुराटुहुरी, नाबालक, अपाङ्ता र दृष्टिविहीनजस्ता भल्नेरेवल ग्रुपको हकमा प्राधिकरणको तर्फबाट घर बनाउन विशेष योगदान रहने पनि जानकारी दिए। उनले भने,‘किनभने उहाँहरूले काम गर्न सक्नुहुन्न, यसको लागि हामी हाम्रो तर्फबाट सहयोग पुर्याउन तयार छौं।’