बालकृष्ण खाण भर्खरै पक्राउ परेको बेला थियो।
मैले चिनेका एक डिएसपीले मलाई फोन गरेर भने, 'अब त नेपाल सुध्रिन्छ कि क्या हो? प्रहरीले पूर्वगृहमन्त्री र सत्तारूढ दलकै प्रभावशाली नेतालाई उनकै घरबाट समातेर ल्यायो!'
उनले थपे, 'प्रहरीलाई निस्फिक्री काम गर्न दिएका दिन र जुन प्रहरीले राम्रो काम गर्छ उही माथि पुग्छ र आइजिपी बन्छ भनेका दिन प्रहरी पूरै सुध्रिन्छ।'
खासमा हो पनि।
नयाँ इन्सपेक्टरले फुली लगाएर जागिर सुरू गरेका दिन 'म कामले माथि पुग्छु; अब नेपालमा नेताले, नाताले वा पैसाले माथि पुग्ने दिन गए' भनेर विश्वास गर्न सक्यो भने उसले फरक ढंगले काम गर्छ। त्यो दिन नेपाल प्रहरी गुणात्मक रूपले बदलिनेछ।
माथि पुग्न नेताको निगाह चाहिन्छ, पार्टीले पत्याउनुपर्छ, बलियो नाता वा धेरै पैसा चाहिन्छ भन्ने हुन्जेल प्रहरीमा छिरेको इन्सपेक्टरले के गर्छ?
ऊ सुरूदेखि नै तिनै कुराको जोहो गर्न थाल्छ, जसले उसलाई माथि पुग्न सहयोग गर्छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणसहितका मुख्य अभियुक्तहरूलाई पक्रिन र अनुसन्धान अघि बढाउन प्रमुख भूमिका खेलेका दुई प्रहरी अधिकृतलाई 'कारबाही' स्वरूप सरूवा गरिएपछि ती डिएसपीले मलाई फेरि फोन गरे।
उनले भने, 'राजनीति त सुध्रिएको रहेनछ, नेपाल त नबन्ने नै भयो!'
प्रहरी अधिकृतहरूले जागिरमा छिर्दा जे शपथ खान्छन्, त्यही काम गर्दा दण्डित हुनुपरेको उनले गुनासो गरे।
'यस्तो भएपछि नेपाल प्रहरीमा थोरै संख्यामा रहेका राम्रा अधिकृतले अब कुन मनोबलका साथ काम गर्ने?' उनले प्रश्न गरे।
उनले उठाएको शपथको प्रसंगले मलाई छोयो।
मैले एक वरिष्ठ प्रहरी अधिकृतसँग उनीहरूले खाने शपथको बेहोरा मागेँ।
उनले पठाइदिए।
त्यसमा लेखिएको रहेछ — नेपाल राज्यमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीउधन र स्वतन्त्रताको संरक्षण गर्न नेपालको संविधानप्रति पूर्णतया निष्ठावान रही आफ्नो सम्पूर्ण योग्यता, ज्ञान र विवेकले भ्याएसम्म आफ्नो कर्तव्यलाई भय, पश्चाताप, लोभ, माया वा द्वेषभाव नराखी पालना गर्नेछु भनी म सत्य, निष्ठा, प्रतिबद्धतासहित प्रतिज्ञा गर्दछु। देश र जनताको नाममा शपथ लिन्छु।
पक्कै पनि सबै प्रहरी यो शपथमा दृढतापूर्वक उभिएका छैनन्।
प्रहरीले दुःख दिएका र उनीहरूबाट पीडित नागरिक धेरै छन्। त्यसैले आममानिसमा प्रहरीप्रति सहानुभूतिभन्दा आक्रोश धेरै देखिन्छ।
तर राम्रा र नराम्रा मानिस त सबै क्षेत्रमा छन्। जुन जुन प्रहरीले आफूले खाएको शपथको धर्म निर्वाह गर्न खोजेका छन्, उनीहरूलाई शासकहरूले कस्तो व्यवहार गरिरहेका छन्?
त्यसको झलक पछिल्ला दुई सातामा हामीले प्रस्टसँग देख्यौं।
एसएसपी मनोज केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख भएर नआएको भए नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकारहरू पक्राउ नै पर्ने थिएनन्। उनीहरूविरूद्ध मुद्दा चल्ने थिएन। पीडितहरूले यथेष्ट प्रमाणसहित दिएका उजुरीहरू केसीभन्दा पहिलेका दुई एसएसपीले दराजमा थन्क्याएका थिए। त्यसरी थन्क्याउनेमध्ये एक एसएसपी अहिलेका बहालवाला आइजिपी बसन्त कुँवर थिए।
त्यसैगरी, यो प्रकरणका मुख्य योजनाकारहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा लगायत पक्राउ परिसकेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञवालीले सक्रियता नदेखाएको भए यसमा संलग्न हाइ-प्रोफाइल राजनीतिज्ञ र कर्मचारी पक्राउ पर्ने थिएनन्।
पूर्वगृहसचिव टेकनारायण पाण्डेको मुख खुलाउन ज्ञवालीले नै प्रमुख भूमिका खेलेका थिए। पाण्डेकै बयानले पूर्वगृहमन्त्री खाणलाई पक्राउ गर्ने बाटो खुल्यो। खाणलाई पक्रिएर अनुसन्धान गर्ने निर्णय उनैले गरेका थिए।
आज नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरू जति पनि न्यायालयको कठघरामा उभ्याइएका छन्, त्यसका पछाडि यी दुई प्रहरी अधिकृतको ठूलो हात छ। उनीहरूले देश र जनताका नाममा जुन शपथ खाएका थिए, कम्तीमा यो प्रकरणमा त्यसैअनुसार सत्य र निष्ठापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका कारण यो सम्भव भएको हो।
यो प्रकरणमा पछिल्लोपटक फेरि नयाँ पीडितहरू उजुरी लिएर आए। जब ती उजुरीमाथि एसएसपी केसीले कारबाही अघि बढाए, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणासहित नजिकका मानिसहरूको होस उड्यो।
अनुसन्धानको नयाँ सिलसिला सुरू भएपछि त्यो आफू वा आफ्ना मानिससम्म आइपुग्नसक्ने भयले उनीहरू आत्तिए।
त्यसपछि देउवा दम्पतीले यी दुई प्रहरी अधिकृतलाई जसरी पनि उनीहरूको जिम्मेवारीबाट हटाउनुपर्ने अडान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' समक्ष राखे।
सुरूमा प्रधानमन्त्री प्रचण्डले देउवा दम्पतीलाई फकाउने प्रयास गरे। गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि उनीहरूलाई सार्न नहुने अडान लिए। तर देउवा दम्पती टसमस भएनन्।
अन्तत: उनीहरूकै दबाबका कारण केसी र ज्ञवाली दुवैलाई प्रहरी हेडक्वार्टरमा कुनै खास काम नहुने विभागमा लगेर थन्क्याइयो।
देउवाले आफूले सत्ताको नेतृत्व गर्दा वा सत्ता साझेदार हुँदा प्रहरीमा हस्तक्षेप गरेको यो पहिलोपटक होइन। पटक-पटक उनले जेहनदार प्रहरी अधिकृतहरूलाई पन्छाएर आफ्ना आसेपासेहरूलाई अघि बढाएका छन्। देउवाले नेपाल प्रहरीलाई जनताको होइन, आफ्नो सेवक संस्था ठान्छन् भन्ने पटक पटक देखिएको छ।
यति हुँदाहुँदै यसपालि प्रहरी अधिकृतहरूको सरूवाको दोष देउवा दम्पतीको टाउकोमा थोपरेर प्रधानमन्त्री र गृहमन्त्री टकटकिन पाउँदैनन्। किनभने, यसका निर्णयकर्ता प्रधानमन्त्री र गृहमन्त्री हुन्।
उनीहरूले नफेरौं भने होलान् तर अडिन सकेनन्। निष्ठावान प्रहरी अधिकृतहरूमाथिको अन्याय रोक्न सकेनन्। प्रधानमन्त्री र गृहमन्त्री आफैंले लिएको शपथको धर्म जोगाउन सकेनन्।
प्रहरीमाथि पुराना शासकहरूको हैकम छँदै थियो, यसपालि नयाँको पनि थपियो।
कर्तव्यनिष्ठ वरिष्ठ प्रहरी अधिकृतहरूमाथि 'बडे-महाराजहरू' को ज्यादती मञ्चन भइरहेका बेला एक जना 'छोटे-महाराज' ले काठमाडौंको कोटेश्वरमा ड्युटी गरिरहेका एक सामान्य प्रहरीमाथि धावा बोलेर उनको शासनकाल कस्तो हुन्छ भन्ने झल्को दिएका छन्।
शनिबार राति कोटेश्वरमा खटिएका सई सुशील न्यौपानेले बालकुमारीबाट आउँदै गरेका सवारीहरू रोकेर जाँच गरिरहेका थिए। कागजपत्र छन् कि छैनन्, चालकले मादकपदार्थ सेवन गरेको छ कि छैन भन्ने जाँच गर्नु उनको काम थियो।
त्यही बेला सेतो नम्बर प्लेटको एउटा सरकारी गाडी आयो। त्यो गाडी कसको हो, गाडीभित्र को छ, उनको चासोको विषय भएन। चासो भए पनि उनले परैबाट थाहा पाउने कुरा भएन।
न्यौपानेले चालकसँग कागजपत्र मागे।
सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरूपयोग नहोस् भनेर त्यस्ता दिनमा गाडी चलाउनै परे प्रमुख जिल्ला अधिकारी (सिडिओ) को अनुमति लिनुपर्ने नियम छ। न्यौपानेले त्यही अनुमतिपत्र मागे।
चालकसँग थिएन।
त्यसपछि चालकले काठमाडौं महानगरपालिकाको गाडी भएको र गाडीमा मेयर-पत्नी सवार भएको बताए।
न्यौपानेले केहीबेर सोधपुछ गरेर गाडी छाडिदिए।
कानुनतः कारबाही गर्नुपर्थ्यो। कम्तीमा चिट काट्नुपर्थ्यो। नियमअनुसार त्यो गाडी न्यौपानेले बग्गीखाना पठाउन पनि सक्थे! सायद मेयर-पत्नी चढेको गाडीलाई के कारबाही गर्नु भनेर चिट पनि नकाटी छाडिदिए! पूरा कर्तव्य पालना गरेनन्!
यसरी आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले सडकमा रोकेर चेक गरेको थाहा पाएपछि मेयर बालेन शाह आगो भए। फेसबुकमा तुरून्तै उत्तेजक स्ट्याटस ठोके, 'आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार!'
ए बाबा, तिम्री श्रीमती चढेको गाडी सडकमा चेकिङमा पर्दा सरकारले चोरको पगरी पाउने?
अनि तिमीले सिंहदरबार आगो लगाउने धम्की दिने?
ए छोटे महाराज! सिंहदरबार तिम्रो गाईगोठ पछाडि राखेको परालको माच हो र, तिमीले चाहनेबित्तिकै आगो लगाइदिने? जनताको रगत र पसिनाबाट बनेको सार्वजनिक सम्पत्ति पो हो त त्यो!
शनिबार त्यो उत्तेजक स्ट्याटस लेख्दा बालेनले बिदाको दिन महानगरको उक्त गाडी आफ्नी श्रीमतीले प्रयोग गरेकी थिइन् भन्ने कुरा लुकाउन खोजेका थिए। उनको स्ट्याटसमा त्यो कुरा कहीँ उल्लेख थिएन।
जब मिडियामा श्रीमती चढेको गाडी जाँचमा परेको झोँकमा बालेनले त्यो उत्तेजक स्ट्याटस लेखेको सार्वजनिक भयो, उनले मानिसको ध्यान अर्कैतिर मोड्ने प्रयास गरे।
आफूनिकट एउटा फेसबुक पेजमा आइतबार बिहान एक वाक्यको पोस्ट लेख्न लगाए, 'मेयर बालेन र सविना काफ्लेले छोरी जन्माएका छन्। बधाइ!'
छोरी कहिले जन्मिएको हो भन्ने सूचना लुकाइएको यो समाचार मानिसहरूमा सरासर भ्रम पार्ने बदनियतका साथ लेखिएको थियो। भयो पनि त्यस्तै!
मानिसहरूलाई लाग्यो — सविना काफ्ले सुत्केरी बेथामा परेर अस्पताल जान लागेकी रहिछन्। बेथामा परेकी उनलाई प्रहरीले दुःख दिएछ, बालेनको पारो त्यही भएर चढेको रहेछ!
अनि त के चाहियो, मानिसहरू प्रहरी र समाचार लेख्ने मिडियामाथि खनिए। बेथामा परेकी महिलालाई दुःख दिएको भनेर प्रहरीमाथि गाली बर्सियो।
मेयर बालेन त्यही झुटो सहानुभूति बटुल्दै बसे। सत्यतथ्य बताउने कोसिस गरेनन्।
मिडियाले बालेनको सचिवालयसँग मेयर दम्पतीलाई पुत्रीलाभ कहिले भएको हो भनेर सोध्यो। सचिवालयले हामीलाई थाहा छैन भन्यो। मिति लुकायो।
अन्तत: सत्यतथ्य पत्ता लगाएर सेतोपाटीले समाचार लेख्यो — कोटेश्वर घटना भएको नौ दिनअघि भदौ ८ गते मेडिसिटी अस्पतालमा मेयर दम्पतीकी छोरी जन्मिएकी थिइन्। आमा सविना काफ्ले अस्पतालबाट भदौ ११ गते नै डिस्चार्ज भएकी थिइन्। अनि अस्पतालमा रहेको बच्चा भेटेर सिनामंगल घर जाँदै गर्दा मेयर पत्नीको गाडी जाँचमा परेको थियो।
त्यो समाचारसँगै कोटेश्वर घटनामा मेयर बालेनले अघिल्लो साँझ लेखेको उत्तेजक स्ट्याटस कति नाजायज र बहुलठ्ठी थियो भन्ने प्रस्ट भयो।
तैपनि मेयर बालेनले झुटको सहारा लिन छाडेनन्।
आइतबार साँझ उनको सचिवालयले विज्ञप्ति निकालेर थप झुट बोल्यो।
गाडी चलाउन सिडिओ कार्यालयबाट अनुमतिपत्र लिएको जानकारी गराउँदा पनि गाडी छेउ लगाएर सात मिनेटसम्म सोधपुछ गरिएको उक्त विज्ञप्तिमा उल्लेख छ।
काठमाडौंका सिडिओ जितेन्द्र बस्नेतले बालेन-पत्नी सवार महानगरको उक्त गाडीले शनिबार चल्न पाउने अनुमति नलिएको प्रस्ट पारेका छन्। बालेनले अहिलेसम्म अनुमतिपत्र देखाउन सकेका छैनन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआइजी पोषराज पोखरेलले पनि उक्त गाडी सात मिनेट रोकेको र अनावश्यक केरकार गरिएको बालेनको भनाइ खण्डन गरेका छन्। बढीमा एक मिनेट सोधपुछ गरेर गाडी छाडिएको उनले जानकारी गराएका छन्।
प्रहरीले मादकपदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गरेको भन्ने आरोप त सई न्यौपानेले नै खण्डन गरेका छन्।
बालेनको विज्ञप्तिमा यस्तो पनि भनिएको छ — प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब सात मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे।
यो विज्ञप्ति तिनै मेयरको सचिवालयले जारी गरेको हो, जसको आदेशमा महानगर प्रहरीले साइकलमा, ठेलामा तरकारी र फलफूल बेचेर जीवन गुजारा गर्ने नागरिकहरूमाथि हदैसम्म अमानवीय व्यवहार गर्छ। उनीहरूलाई लछारपछार पार्छ, उनीहरूको सम्पत्ति लुटपाट गर्छ र उनीहरूको हारगुहार र रोदन नसुनी त्यसलाई लगेर गैरकानुनी तरिकाले लिलाम गर्छ।
महानगर प्रहरीको यो ज्यादती कैयनपटक मिडियामा रिपोर्टिङ भएको छ। तर मेयर आजसम्म त्यसमा चुप छन्, अनि महानगर प्रहरीको अत्याचार जारी छ।
उल्टो मेयर बालेनले केही दिनअघिको एउटा कार्यक्रममा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बुद्धि, विवेक, इमानदारिता र हिम्मतका साथ काम गरिरहेको भनेर प्रशंसा गरे।
यस्तो अमानवीय कृत्यको नेतृत्व गर्ने मेयरको सचिवालयले जारी गरेको विज्ञप्तिमा उनकी श्रीमती चढेको गाडी ड्युटीमा रहेका प्रहरीले सडक छेउ लगाएर केही मिनेट सोधपुछ गर्दा 'मानवीय संवेदनशीलताको कत्ति पनि ख्याल नगरेको' आरोप छ!
बालेनका नजरमा उनको र उनको परिवारको संवेदना र 'चमेली' हरूको संवेदनाको मूल्य फरक छ।
उनको परिवार चढेको गाडी ड्युटीमा रहेका प्रहरीले चेक गर्नसम्म मिल्दैन। प्रश्न सोध्न मिल्दैन। उक्त गाडी शनिबार चलाउन अनुमतिपत्र पनि लिनुपर्दैन।
तर 'चमेली' हरूले आफ्नो जीवन गुजारा गर्न र बालबच्चा पाल्न साइकलमा, ठेलामा कुनै व्यवसाय गर्दा उनीहरूमाथि सांघातिक हमला गर्न नगर प्रहरीलाई छुट छ। लछारपछार पारेर उनीहरूका सामान र सम्पत्ति कब्जा गर्न छुट छ। कानुनविपरीत लिलाम गर्न छुट छ।
बालेन अरूको अधिकार र जीवन, विशेषगरी जीविका चलाउन संघर्ष गरिरहेकाहरूप्रति जति असंवेदनशील र निर्दयी देखिएका छन्, आफ्नो र आफ्नो परिवारको विशेषाधिकारको भ्रम उनमा त्यति नै बढी रहेको कोटेश्वर घटनाले देखाएको छ।
आफूलाई अभिजात वर्गको र त्यसमा पनि कानुनभन्दा माथिको विशेषाधिकार प्राप्त ठान्ने भ्रम बालेनमा कहाँबाट आयो?
काठमाडौंको मेयरमा निर्वाचित हुँदै गर्दा करिब डेढ वर्षअघि सेतोपाटीसँगको कुराकानीमा उनले त्यसको छनक दिएका थिए।
तपाईंको पारिवारिक पृष्ठभूमि के हो, तपाईं कहाँको शाह हो भन्ने प्रश्नमा उनले भनेका थिए, 'म मधेसको तेली साह होइन। जुम्लाको ठकुरी शाह पनि होइन। पूर्वराजा ज्ञानेन्द्रजस्तो शाह पनि होइन। म सूर्यवंशी राजपरिवारको सन्तान हुँ। प्योर राजाको छोरा हुँ।'
यसो भनिरहँदा उनको स्वरमा तेज थियो। हाउभाउ पनि एकदमै उद्वेलित देखिन्थ्यो।
हामीले थप सोधेका थियौं, 'तपाईंले सूर्यवंशी राजपरिवारको सन्तान हुँ त भन्नुभयो तर यो कुरा कसरी थाहा पाउनुभयो?'
'त्यो त हाम्रो वंशावलीमै छ।'
के तपाईंहरूको इतिहास सिम्रौनगढसँग जोडिन्छ?'
उनले भनेका थिए, 'सिम्रौनगढभन्दा पुरानो। त्यहाँका राजा हरिसिंह देवभन्दा पुरानो। हाम्रो राज्यमा मिथिला, हेटौंडा, काठमाडौंसहित यहाँका धेरै ठाउँ पर्थे।'
बालेनको सुनाएको सूर्यवंशी राजपरिवारको विवरण हाम्रो इतिहाससँग मेल खाँदैन। लिच्छविहरू आफूलाई सूर्यवंशी भन्छन्, तर त्यो हजार वर्षभन्दा पुरानो इतिहास हो। आफूलाई सूर्यवंशी लिच्छविहरूको खलक भन्ने अहिलेसम्म कोही देखिएका छैनन्। त्यसपछि अर्को कुनै सूर्यवंशी खलकले मिथिला, हेटौंडा, काठमाडौंसहितका भू-भागमा राज्य गरेको इतिहासमा देखिँदैन।
त्यसैले बालेनले जे भने, त्यो भ्रम हो, कि झुट हो!
एउटा भिडिओ अन्तर्वार्तामा बालेनले दिएको उत्तरले उनी के सोच्छन्, कसरी सोच्छन् र केलाई महत्व दिन्छन् भन्ने प्रशस्त छनक दिन्छ। धेरै भन्छ।
उनलाई अन्तर्वार्ताकारले सोध्छन्, 'हिटलरलाई भेट्नुभयो भने तपाईं के सोध्न चाहनुहुन्छ?'
उनी भन्छन्, 'हिटलरलाई भेटेर धेरै कुरा सिक्न मन थियो। स्ट्राटेजिक प्लानिङहरू... अनि उहाँले सबैलाई एउटै सोच्ने कसरी बनाउनुभयो, त्यो चाहिँ बुझ्न मन छ।'
म आफूले हिटलरलाई भेटेँ भने सोध्दो हुँ — तिमीले ग्यास च्याम्बरमा ६० लाख मानिस मारेर के पायौ? त्यसमा तिमीलाई कहिल्यै पश्चाताप भएन?
तर 'सबैलाई एकै हिसाबले सोच्ने कसरी बनाउने' भनेर पक्कै सोध्ने थिइनँ।
किन सबैलाई एकै हिसाबले सोच्ने बनाउने? के सबैलाई एकै हिसाबले सोच्ने बनाउन सम्भव छ? के त्यो जरूरी छ?
बालेनले लोकतन्त्रबारे के सोच्छन्, थाहा छैन। लोकतन्त्रबारे उनले बिरलै बोल्छन्। बिरलै उच्चारण गर्छन्।
उनले नयाँ र पुराना सबै नेतालाई एकमुष्ट चोर भनेर लेखेका छन्। सरकार, अदालत सबै भारतको गुलाम हो भनेर लेखेका छन्। भारत, चीन सबैलाई ठिक पार्ने मैले नै हो भन्ने भ्रम उनमा बारम्बार देखिन्छ।
तर आजको मूल कुरा — बालेन के सोच्छन्, कुन भ्रम वा दृढतामा छन् भन्ने होइन।
समाजको एउटा महत्वपूर्ण हिस्साले उनका बारेमा के सोच्छ र उनलाई कसरी हेर्छ भन्ने हो। अनि किन त्यसरी हेर्छ भन्ने हो।
यी प्रश्नहरूमा हाम्रो लोकतन्त्रको वर्तमान र भविष्य जोडिएको छ।
आज बालेन कैयनका नजरमा वर्तमान नेपाललाई चाहिने 'नम्बर १ विद्रोही' हुन्, जसले कुनै नेता, कुनै पार्टी, अदालत, मिडिया कसैलाई बाँकी नराखी मन लागेको शब्दमा गाली गर्छन्।
अहिले जति पनि बेथिति छन्, धेरैका नजरमा त्यसविरूद्धका प्रतीक हुन्, बालेन।
अहिलेका नेता, प्रणाली, राज्य सञ्चालनको तौरतरिका र भ्रष्टाचारका काण्डहरूलाई लिएर जति पनि मानिसको दिमाग रन्किएको छ, उनीहरूका नजरमा त्यसका प्रतिउत्तर हुन्, बालेन।
धेरै मानिस आज पुराना दलसँग वाक्क छन्। उनीहरूका नजरमा ती दल अब सुध्रिँदैनन्। ती दलमा कब्जा जमाएर बसेका मुख्य नेता त झनै सुध्रिँदैनन्। न त उनीहरूले सत्ता नै छाड्ने छन्।
यस्तो सोच्ने कतिपय मानिस, खासगरी युवाका नजरमा अब रवि लामिछाने पनि यी बेथितिका उत्तर होइनन्। किनभने, रवि पनि मन्त्री भए, सांसद छन्। मुख्य दलका नेताहरूसँग हिमचिम गर्छन्। 'काम नपाएर' संसदमा कराएर बस्छन्। नेताहरूलाई बालेनले जसरी गाली गर्दैनन्। भारत, चीन, अमेरिकालाई लल्कार्दैनन्। उनी पनि पुरानासँग 'मिलिसकेका' छन्।
यी मानिसलाई 'निख्खर विद्रोही' चाहिएको छ। नेता, लोकतन्त्र, गणतन्त्र, संघीयता सबैलाई उल्टाउने विद्रोही चाहिएको छ। त्यो रवि होइनन्, हुन सक्दैनन्।
नयाँ, पुराना सबै 'नालायक' हरूलाई चोर भनेर लल्कार्ने, जे पनि भन्न र गर्न सक्ने हिम्मत भएका 'जंगबहादुर' हुन् बालेन। त्यसैले उनीप्रति विशेष आकर्षण छ।
बालेनले कोटेश्वर प्रकरणमा जे भने वा गरे, त्यो गलत भयो भन्ने कतिपयलाई सिंहदरबारसँग भने कत्ति पनि चित्त बुझेको छैन। त्यसैले फेसबुकमा धेरैले लेखे — बालेनले गल्ती गरेकै हुन्, तर सिंहदरबार चाहिँ जलाउनै पर्छ!
यसले राज्यप्रति मानिसको विश्वास कसरी उडेको छ, निराशा कति बाक्लो बनेको छ भन्ने देखाउँछ।
कतिपय मानिस, मुख्यगरी राजनीतिज्ञहरू यो के भइरहेको छ, मानिसहरू किन यति धेरै आक्रोशित र उग्र छन्, किन उग्र बोलिरहेका छन् र किन कुरा सुनिरहेका छैनन् भनेर छक्क परेका छन्। यो आक्रोश कहिलेसम्म रहन्छ? कि यो विद्रोहमै परिणत हुन्छ भन्ने पनि उनीहरूको मनमा पर्न थालेको छ।
तर अहिले नेपालमा जे भइरहेको छ, त्यो नयाँ कुरा भइरहेको छैन। राजनीतिका किताबहरूमा प्रशस्त लेखिएका कुरा नै भइरहेको छ।
जब उदार लोकतन्त्रले डेलिभरी (शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत आवश्यकता) दिँदैन, जब सुशासनको प्रत्याभूति दिँदैन, जब नेताहरू भ्रष्ट छन् र आफ्नो स्वार्थ मात्र हेर्छन् भन्ने आममानिसलाई लाग्छ, जब यहाँ कानुन सानालाई मात्र लाग्छ र सत्ता र शक्ति हुनेले उन्मुक्ति पाउँछन् भन्ने बारम्बार देखिन्छ, तब आमजनताले धैर्य गुमाउन थाल्छन्।
त्यसपछि मानिसहरूलाई राजनीतिज्ञसँग मात्र होइन, व्यवस्थाप्रति नै वितृष्णा आउँछ। त्यो व्यवस्थाबाट फाइदा लिइरहेका 'इलिट' हरूसँग रिस उठ्छ। त्यो व्यवस्थाका अभिन्न अंग; अदालत, कार्मचारीतन्त्र, मिडिया, व्यवसायी सबैसँग रिस उठ्छ।
अनि उसले त्यस्तो व्यवस्था र त्यसबाट लाभ लिइरहेका सबैलाई लल्कार्ने, सबैलाई ठिक लगाउने तानाशाह खोज्छ। सबै कुरा ठिक गरिदिन्छु भन्ने पपुलिष्ट खोज्छ। सबै कुराको सजिलो समाधान छ भन्ने चटके खोज्छ!
अहिले मुलुकले भोगिरहेको कुशासन र बेथितिमा हाम्रा राजनीतिज्ञहरूको ठूलो भूमिका छ। तर आजका सबै बेथिति र जटिलताका कारक उनीहरू मात्र होइनन्। न त आजका सबै जटिलताको सजिलो उत्तर वा तत्काल उपचार नै उपलब्ध छ। दुई विशाल छिमेकीबीच हामी जसरी च्यापिएका छौं, हाम्रा सीमा र सम्भावना धेरै हदसम्म त्यसले पनि निर्धारित गरेको छ।
तर अत्तालिएका मानिसलाई छुमन्तर गरेर सबै बदलिदिने, सबै ठिक पारिदिने 'हिरो' वा सबै भत्काइदिने 'विद्रोही' चाहिएको छ। कतिपय मानिसले बालेनमा दुवै देखेका छन्।
जनतामा अहिले जुन निराशा छ, जुन हतारो छ, त्यसलाई हामीले सम्हाल्न सकेनौं भने त्यसले मुलुकलाई पुर्याउने दक्षिणपन्थी फासीवादमा हो।
अंग्रेजीमा एउटा भनाइ छ — डेमोक्रेसी ह्याज टू डिफेन्ड इट्सेल्फ मेनी टाइम्स (लोकतन्त्रले धेरैपटक आफ्नै प्रतिरक्षा गर्नुपर्छ)।
नेता भनेको आउँछन्, जान्छन्। नेताभन्दा दलहरू स्थायी हुन्। तर दल पनि आउन र जान सक्छन्।
त्यसैले लोकतन्त्रको डिफेन्ड गर्ने भनेको कुनै नेता वा दलको डिफेन्ड गर्ने होइन। लोकतान्त्रिक पद्धतिको, लोकतान्त्रिक संस्थाहरूको, कानुनी शासनको, समाजमा चाहिने उदारता र सहिष्णुताको, मानिसहरूको स्वतन्त्रताको र सामाजिक न्यायको डिफेन्ड गर्ने हो।
के हामीसँग 'छोटे महाराज' र 'बडे महाराज' को चेपुवाबाट लोकतन्त्रलाई जोगाउने दृढता र तागत छ?