दसैंको बिदामा अन्नपूर्ण आधार शिविर (एबिसी) जाने योजना थियो।
बाआमाले भन्नुभयो- अरू बाहिरबाट घर आउने बेलामा तिमीहरू किन बाहिर जान्छौ?
हामी रोकियौं र चितवनको सिराइचुली डाँडा उक्लेरै चित्त बुझायौं।
तिहारअगाडि तीन जनाको टोली उकालो लाग्यो एबिसीतिर- म, भाइ र भान्जा।
मानिस भन्थे चार दिन हिँड्नुपर्छ। तर हामी सडक पुगेको झिनुबाट डेढ दिनको हिँडाइमा एबिसी पुग्यौं अनि एकै दिनमा फर्कियौं। तेस्रो दिन साँझ झिनुबाट जीप चढेर घान्द्रुक गएर बस्यौं। चौथो दिन बिहान घान्द्रुक–नयाँपुल पदयात्रा पनि गर्यौं।
त्यहाँबाट गाडीमा कुष्मा पुगेपछि मैले पर्वतकै ठूलीपोखरीसम्म अर्को पदयात्रा गरेँ। दुई जना कुष्माकै साहसिक खेलकुदको रमाइलोमा भुले। त्यही दिन मध्यरातमा हामी चितवन पुग्यौं, भोलिपल्ट भाइटीका थियो।
घरबाट शनिबार अपराह्नतिर निस्केपछि हामी यात्राको पहिलो दिन पोखरा बसेका थियौं। त्यसैले साढे चार दिनको फुर्सदमा हामीले पोखराको लेकसाइडको सन्ध्याकालीन रमाइलो हेरेर झिनु–एबिसी–झिनु, घान्द्रुक–नयाँपुल र कुष्मा–ठुलीपोखरी–कुष्मा गरी तीन खण्डको पदयात्रा भ्यायौं। दुई जना त जवान भइहाले, मलाई पनि बुढेसकाल नलागेको प्रमाणित भयो।
तर माथि रहँदा र फिर्ती यात्राभरि म बेचैन भइरहेँ।
कारण थियो यो दृश्य।
हिमनदी छोटिँदै र हराउँदै गएको समाचार मैले सुन्न र पढ्न थालेको दशकौं भइसक्यो। तर यो दृश्य नहेरून्जेल त्यो समस्याको गम्भीरता अझै मेरो मगजमा घुसेको थिएन।
मैले यो तस्बिर खिचेको ठाउँबाट हिमालको फेदीसम्म झन्डै डेढ किमीको दुरी हुनुपर्छ। त्यहाँभन्दा तलपट्टि पनि त्यति नै टाढासम्म त्यसै गरी ढुंगा, बालुवा र माटोको रास लागेको छ।
अब कल्पना गर्नुस्, त्यो झन्डै तीन किलोमिटर लामो र आधा किलोमिटर चौडा क्षेत्रमा कुनै बेला पचास मिटर बाक्लो हिउँसहितको हिमनदी थियो। त्यो एउटा हिमनदीले मात्रै एकपल्टमा साढे सात करोड क्युबिक मिटर हिउँ भण्डारण गर्थ्यो। हजारौं वर्षदेखि कस्तो सन्तुलन थियो भने, पुछारबाट जति हिउँ पग्लेर नदीमा जान्थ्यो, हिमालबाट खस्केर अनि माथिबाट परेर उति नै हिउँ आउँथ्यो। अर्थात्, नदीहरू वर्षभरि बगिरहन्थे अनि हिमनदी मोटामोटी उत्रै रहन्थ्यो।
जब हामीले कार्बनडाइअक्साइड र मिथेनजस्ता ग्यासहरू अधिक उत्सर्जन गरेका कारण वायुमण्डल तीव्र गतिमा तात्न थाल्यो, हिउँ थपिने क्रमभन्दा पग्लिने क्रम निकै तीव्र भयो। यो र हिमालय क्षेत्रका हजारौं यस्तै हिमनदीहरू छोटिँदै र पातलिँदै गए।
एक दिन यो हिम नदी पूरै हरायो। हुँदाहुँदा अहिले त यो हिमनदीको सिरानतिरको पचासौं मिटर ठाडो पहरोभन्दा पनि निकै माथि मात्रै हिउँ पाइयो यो वर्षको अक्टोबरको अन्त्यतिर।
यहाँको पर्यावरण यति रफ्तारमा खल्बलिँदो छ कि हिमनदीहरू अलप भएसँगै अनगिन्ती पहिरोहरू भेटिन्छन् एबिसी वरिपरिको सानो क्षेत्रमा मात्रै। लोप भइसकेका हिमनदीमा कतैकतै यस्ता दृश्य देख्न पाइन्छ जहाँ हिउँको एउटा पत्रलाई माथिबाट आएको पहिरोले छोपेको हुन्छ।
हिमाली क्षेत्रमा पहिरोको जोखिम बुझ्न हेर्नुहोस् एबिसीको सानो बस्तीलाई नै जोखिममा पारेको यो पहिरो।
यो सबै हेर्दा प्रष्ट हुन्छ, हिमालका चुचुराहरूमा अरू दशकौंसम्म हिउँ रहिरहला तर नदीको मूलमा रहेका हिमाली क्षेत्रका हिमनदी अब केही वर्षका पाहुना मात्रै हुन्। अहिलेसम्म त बढ्दो हिउँ पग्लने दरका कारण सुख्खा याममा पनि नदीहरू चिप्रिक्क भइसकेका छैनन्। तर त्यसो हुँदा सुख्खा याममा नदी सुख्खा हुने संकट अलि पछि सर्ने मात्रै हो टर्ने होइन।
यो वर्ष चीनको याङ्त्जे नदी र अमेरिकाको मिसिसिपी जस्ता पानीजहाजको आवतजावत हुने नदीहरू जसरी चिप्रिक्क भए, त्यो अवस्था हिमालयबाट बग्ने इन्डस, गंगा र ब्रह्मपुत्र गरी तीनै नदीमा एकाध वर्षमा आउन सक्ने देखिन्छ।
अब कल्पना गरौं, जब वर्षका धेरै महिनासम्म दक्षिण एसियाका दुई अर्बभन्दा बढी मानिसहरूलाई पाल्ने नदी सुक्छन्, तब के हुन्छ? हामी सिँचाइ केले गर्छौं? बिजुली केबाट निकाल्छौं? उद्योगधन्दा केले चलाउँछौं? हामी पर्यटकलाई के देखाउँछौं?
ढलजस्तै भए पनि अहिले बगिरहेका दक्षिण एसियाका नदीहरू वर्षका धेरै महिना बग्नै छाडे भने हामीले बेपर्वाह फाल्ने प्लास्टिकका बोतलदेखि अस्पतालको संक्रमणजन्य फोहर र विषाक्त उद्योगहरूबाट निस्कने लेदो केले बगाउँछ?
अनि सबैभन्दा महत्वपूर्ण प्रश्न- हामी के पिएर बाँच्छौं?
त्यो अवस्थामा पिउने पानी र एक छाक खानाको खोजीमा अनिवार्य विस्थापित हुने करोडौं दक्षिण एसियालीहरू कता जान्छन्? अवश्यम्भावी बनेका जलस्रोत-द्वन्द्व र युद्धहरूका कारण विस्थापित हुने अरू करोडौं कता जान्छन्?
के त्यो अवस्थामा हामीमध्ये धेरै बाँच्न त सक्छौं?
संसारभर अहिले नै मानव विस्थापनको प्रमुख कारण जलवायु संकटजन्य प्राकृतिक विपत्तिहरू बनिसकेका छन्। अहिले नै भारतका धेरै वटा राज्य संसारकै सबैभन्दा गम्भीर पानी संकटबाट गुज्रिरहेका छन्। झन्डै डेढ अर्ब मानिसको पिउने पानीको स्रोतका रूपमा रहेको भूमिगत जलाधार बर्सेनि दसौं फिटका दरले सुक्दै गइरहेको छ। जमिनको मरूभूमिकरणसँगै उत्पादकत्व गिर्दो छ र किसानहरूमा आत्महत्याको दर अचाक्ली छ।
अवस्था योभन्दा दसौं गुणा खराब हुँदा हाम्रो हालत कस्तो होला?
कुनै बेला लाखौं मानिसले समृद्ध जीवन बाँचेको हरप्पाको सभ्यता त्यहाँको जमिनको मरूभूमिकरण र जलवायु परिवर्तनका कारण नाशिएको मानिन्छ।
एबिसी यात्राभर मलाई लागिरह्यो- कतै तपाईं हामीलगायत अर्बौं मानिस बाँचेको गंगा मैदानको सभ्यताको भविष्य पनि त्यही त होइन? एबिसीछेउको हिमनदीको भग्नावशेष कतै हाम्रो सभ्यताको भावी चिहान त होइन?
एबिसीबाट फर्केको हप्तौं बित्दा पनि यो प्रश्नका कारण म अझै रन्थनिइरहेको छु।
यसबीच क्लबहाउसमा मैले बारम्बार यो विषयमा छलफल गरेँ। यसैबीच इलन मस्कले ट्विटरलाई लिएर धराशायी बनाउने लक्षण देखाए। त्यसो भइहाल्यो भने जलवायु संकटबारे निरन्तर आवाज उठाइरहेका अभियन्ताहरूको के हुन्छ? अर्को चिन्ता थपियो।
यही चिन्तासहित छ वर्षदेखि निस्क्रिय रहेको ट्विटर सक्रिय बनाएर म त्यता फर्केँ। अनि केही अग्रज अभियन्ताहरूलाई 'मेन्सन' गरेर आफ्नो एबिसी अनुभवबारे समेटिएको अंग्रेजी लेखको लिंकसहित यो ट्विट गरेँ।
थ्रीफिफ्टी डट ओआरजीका संस्थापक बिल म्याक्किबेन, दिस चेन्जेज एभ्रिथिङकी लेखक नाओमी क्लेन र हटहाउस अर्थका लेखक बिल म्याकगायर लगायत धेरैले त्यसमा प्रतिक्रिया जनाउँदै दक्षिण एसियाका दुई अर्बभन्दा बढी मानिसको भविष्यबारे चिन्ता जाहेर गरे।
यी त भए समस्यै समस्याका कुरा। यो संकटसित जुध्न के गर्ने?
यो प्रश्नको लामो उत्तर यहाँ अट्दैन तर अभियन्ता बिल म्याक्किबेनले दिएको छोटो उत्तर यो हो: हाम्रा सन्तानले अलिकति भए पनि सामान्य जीवन यापन गर्न सम्भव पार्ने हो भने एउटा अवस्था सुनिश्चित गर्नुपर्छ- आइन्दा सूर्यबाहेक केही नबलोस्!
पाठकहरूका लागि लेखकले साप्ताहिक रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस्ः द हिमालयन गेज
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)