२०७६ मंसिर २१ गते कान्तिपुर कोसेलीमा खगेन्द्र संग्रौलाको लामो आलेख छापियो- 'युवाहरूको गीत' को यादमा।
सन् १९५८ मा प्रकाशित याङ मोको उपन्यासलाई आफूले नेपालीमा अनुवाद गरेको प्रसंग जोडेर संग्रौलाले चिनियाँ क्रान्तिको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो।
लामै प्रतिक्रियामार्फत त्यसै वर्ष पुस १२ को कोसेलीमा मैले त्यस्तो प्रशंसाप्रति प्रश्न उठाउँदै लेखेको थिएँ- मेरो विमति छ, खगेन्दाइ।
मेरो जिरह थियो- माओले चीनमा नयाँ जनवादी भनिएको क्रान्ति त सम्पन्न गरे तर सत्तामा पुगेपछि आमसामन्तवादी तानाशाहहरूले भन्दा पनि क्रूर शासन चलाए। उनको बौलठ्ठीपूर्ण 'ग्रेट लिप फरवार्ड' का क्रममा मात्रै मानव–निर्मित भोकमरीका कारण करोडौं मानिस मारिए। कथित सांस्कृतिक क्रान्ति बेला अरू थप लाखौं चिनियाँहरूले ज्यान गुमाएको इतिहास भोग्ने धेरै चिनियाँहरू अझै ज्युँदै छन्।
मेरो प्रतिक्रियाको जवाफमा कोसेलीकै पछिको अंकमा प्रकाशित संग्रौलाको छोटो भनाइको सानो अंश यस्तो थियो-
'माओका चिन्तन र कर्मको आलोकमा मैले वैचारिक शिक्षण र प्रशिक्षण प्राप्त गरेको हुँ। वास्तवमा मैले मार्क्सवादको मूलभूत जानकारी माओबाटै प्राप्त गरेको हुँ। त्यसैले गुरूका वचन र कर्महरूप्रति ममा अनालोचनात्मक मोह, श्रद्धा वा आसक्ति हुन सक्छ, जसलाई तपाईंको विमतिको ऐनामा म कठोर आत्मसमीक्षकका दृष्टिले गम्भीर रूपले नियाल्ने चेष्टा गर्नेछु।'
झन्डै तीन वर्षपछि म दुई कारणले संग्रौलासितको त्यो तर्कवितर्क स्मरण गर्दैछु।
एक, गुरू माओप्रति आफ्नो 'अनालोचनात्मक मोह, श्रद्धा वा आसक्ति हुन सक्छ' भनेर संग्रौलाले झैं विनयपूर्वक स्विकार्ने नेपाली वामपन्थी अरू कसैलाई मैले अहिलेसम्म भेटेको छैन।
दुई, आम रूपमा नेपालका कम्युनिस्टहरूले साम्यवादका प्रवर्तकहरूप्रति थोरै पनि आलोचनात्मक वा सन्तुलित धारणा विकास गर्न सकेका छैनन्। फलतः कम्युनिस्ट बन्नु भनेको मार्क्स, एंगेल्स, लेनिन र स्टालिनझैं माओको पनि देवत्वकरण वा स्तुति गर्नु हो भन्ने भाष्यको हाम्रो समाजमा जब्बर उपस्थिति छ।
त्यसैले जब त्यस्तो स्तुतिको पटकथाबाट हटेर कम्युनिस्ट आन्दोलनका पाँच प्रवर्तकहरूमध्ये कसैबारे चर्चा वा आलोचना हुन्छ, वामपन्थी साथीहरूले त्यसको प्रतिकार गर्छन् र त्यो विषयमा बहसको सिर्जना हुन्छ। जबसम्म त्यो बहसले तथ्यमा टेकिरहन्छ, त्यो स्वस्थ हुन्छ र त्यसले बहसमा संलग्न सबै पक्षलाई वैचारिक प्रस्टता हासिल गर्न सहयोग गर्छ।
यौन हिंसाका मामलामा बोल्सेभिक क्रान्तिका नायक भ्लादिमिर लेनिनको रवैया खोतलेर मैले सेतोपाटीमा लेखेको छु। (हेर्नुहोस्: 'शिकारी' मार्क्सवादीहरूलाई खबरदारी)।
त्यही सिलसिलाको यो लेखमा भने म माओत्सेतुङको यौन जीवन र महिलाहरूप्रति उनले देखाएको व्यवहारबारे अलिकति चर्चा गर्दैछु।
माओले जीवनकालमा चारपटक बिहे गरे। तीमध्ये उनी १४ वर्षको हुँदा उनका बाबुआमाले १८ वर्षकी किशोरीसित गराइदिएको बिहे उनले स्विकारेनन्। उनी आफैंले बिहे गरेका तीन जना महिलाबाट १० केटाकेटी जन्माए।
उनीहरूमध्ये सन् १९२० मा माओसित बिहे गरेकी याङ काइहुइलाई १९३० मा कोमिन्ताङ पक्षले पक्राउ गरेर हत्या गरेको थियो। त्यसअगाडि १९२८ मै माओले बिहे गरेकी हे जिझेनसित भने उनले १९३७ मा सम्बन्ध विच्छेद गरेको भनिन्छ।
सन् १९३८ मा माओसित बिहे गरेकी चियाङ चिङ भने आजीवन माओसँगै रहिन्।
उनीहरूमध्ये माओले हे जिझेनलाई वैवाहिक सम्बन्धमा कति न्याय गरे भनेर बेला बेला प्रश्न उठाउने गरिन्छ। तर माओले सबभन्दा बढी अन्यायमा चाहिँ अरू धेरै महिलालाई पारेका थिए जसलाई उनले उपभोग्य सामग्रीभन्दा बढी सोच्दैनथे।
उनको यौन जीवनबारे सबभन्दा विस्तृत चर्चा समेटिएको पुस्तक 'द प्राइभेट लाइफ अफ चेयरम्यान माओ' का लेखक ली झिसुइ २२ वर्षसम्म (सन् १९५४ देखि १९७६ सम्म) माओका निजी चिकित्सक रहेका थिए।१ सन् १९९४ मा त्यो पुस्तक प्रकाशित भएपछि माओको व्यक्तिगत जीवनबारे निकै तातो बहस भयो। तर विख्यात स्कटिस इतिहासकार माइकल लिन्च लगायतका अन्य लेखकहरूले पनि माओको जीवनका विवादास्पद पक्षहरूबारे शोधमूलक पुस्तकहरू प्रकाशित गरेका छन्।
लीको चित्रणमा माओलाई आफ्नो यौनशक्तिमाथि घमण्ड थियो। तर धेरै जनासित जथाभाबी सम्बन्ध राखेका कारण माओ लामो समय यौनजन्य संक्रामक रोगहरूको शिकार पनि बनेका थिए जसको डाक्टर लीले उपचार गर्नुपर्थ्यो। सक्रिय संक्रमण रहुञ्जेल पनि डाक्टरले तोकेको अनुशासनमा बस्न नसक्ने माओले नयाँ युवतीहरूसित सम्बन्ध राखिरहन्थे।१,२
यति पढेपछि हालसम्म माओबारे राम्रैराम्रो पढे–सुनेका पाठकहरूलाई लाग्न सक्छ- माओको डाक्टरै भए पनि ली झिसुइले किताबमा साँचो लेखे भन्ने ग्यारेन्टी के?
माओको मृत्युको दुई दशकपछि निस्केको पुस्तकमा उनले पूर्णतः कपोलकल्पित आरोपहरू लगाएका पनि त हुन सक्छन्!
यी प्रश्नको जवाफ खोज्न टाइम्स पत्रिकाका तत्कालीन पूर्व एसिया सम्पादक जोनाथन मिर्स्कीको सन् १९९७ को एउटा अनुभव सुनौं। त्यो वर्ष उनले हङकङमा एक ५७ वर्षीया महिलाको जीवन कथा सुनेका थिए।३
सन् १९६२ मा चेङ १४ वर्षकी थिइन्। उनी त्यो बेला माओलाई मनोरञ्जन दिने केटाकेटीको समूहमा सामेल थिइन्। सुरूमा उनीहरूले नाचगान गरेर माओ र उनका कमरेडहरूलाई देखाउँथे। त्यसपछि उनीहरूसित मिसिएर नाचगान हुन्थ्यो। त्यसै क्रममा माओले कुनै एउटी केटीलाई शयनकक्षमा बोलाउँथे, चिया पकाउन भनेर। अनि त्यसपछि यौन सम्पर्क हुन्थ्यो।
चेङका अनुसार माओले उनलाई रोजेजस्तै प्रधानमन्त्री चाओ एनलाईले उनकै समूहकी अर्की केटीलाई रोजेका थिए।
माओका त्यस्ता सम्बन्ध उनकी श्रीमती चिङबाट लुक्ने कुरै थिएन। त्यसैले पाँच वर्षसम्म माओको वासनाको शिकार बनेपछि चिङले चेङलाई सुदूर उत्तर–पूर्वतिर लखेट्ने व्यवस्था गरिन्। मिर्स्कीलाई चेङले भनेअनुसार माओ उनका अगाडि घुँडा टेकेर रोए तर आफूले केही गर्न नसक्ने बताए। पछि गएर उनलाई नानकिङ पठाइयो जहाँ उनको बिहेको बन्दोबस्त मिलाइएको थियो।
सन् १९७१ मा घर फर्केपछि चेङले यो सारा विवरण आफ्ना बाबुलाई सुनाइन्।
कूद्ध बनेका पार्टी सदस्य बाबुले माओलाई आक्रोशपूर्ण चिठी लेखेर नजिकैको हुलाकमा खसाए। तर त्यहाँका एक दयालु कर्मचारीले चिठी खोलेर हेरेर फिर्ता ल्याइदिए, किनकि सांस्कृतिक क्रान्तिको उत्कर्ष चलेको त्यो समय माओको अपमान मृत्युदण्डका लागि काफी हुन्थ्यो।
केही वर्षमा चेङले बच्चा पाइन्, सम्बन्ध विच्छेद गरिन् र भागेर हङकङ पुगिन्।
मिर्स्की लेख्छन्- डा. लीको माओसम्बन्धी पुस्तकबारे चेङलाई थाहा थियो। तर उनी भन्थिन्- त्यसमा भएको त के नै हो र? डा. लीले माओका 'केटी' हरूबारे जति जाने पनि उनको सूचना शयनकक्षको ढोकामा गएर टुंगिन्थ्यो।
यी त भए माओको व्यक्तिगत जीवनमा ठोकिन पुगेका महिलाहरूका किस्सा। कतै त्यसका बाबजुद चीनमा माओको शासन आममहिलाहरूका लागि मुक्तिको माध्यम त थिएन? अब यो प्रश्नको जवाफ खोजौं।
माओकालीन चीनका प्रोपोगान्डा पोस्टर, कमिक बुकहरू र फिल्मको गहिरो अध्ययनपछि अल डि रोबर्टसले निष्कर्ष निकालेका छन्- कन्फ्युसियन दर्शनलाई पुरातन र अन्धविश्वासवादी भनेर माओ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले खुब निन्दा त गर्यो तर त्यही दर्शनको ताओवादी अवधारणालाई नयाँ जीवन दियो।४
ताओवाद भन्छ- संसार याङ र यिन मिलेर बनेको हुन्छ, जुन परस्पर विपरीत हुँदाहुँदै एकअर्काका परिपूरक हुन्।
याङले पुरूषत्वलाई प्रतिनिधित्व गर्छ जो सक्रिय र शक्तिशाली हुन्छ। यिनले स्त्रीत्वलाई प्रतिनिधित्व गर्छ जुन निस्क्रिय र अधिनस्थ हुन्छ।
माओले चिनियाँ समाजमा जरा गाडेको यो अवधारणा उखेल्न त खोजे तर सँगसँगै उनको प्रोपोगान्डा मेसिनले उनको पार्टीलाई उदाउँदो याङका रूपमा चित्रण गर्दै गयो भने नाशवान मानिएको पुँजीवादलाई यिनका रूपमा। क्रमशः पुँजीवाद, साम्राज्यवाद, व्यक्तिवादजस्ता नकारात्मक मानिएका कुरा यिनसित जोडिँदै गए, स्त्रीत्वसित पनि जोडिँदै गए।
फलतः ओठले महिला-पुरूष बराबरीको नारा लगाइरहे पनि पुरूषसुलभ मानिएको बहादुरीका आधारमा चीनलाई कायापलट गर्ने अनि समाजबाटै स्त्रीसुलभ मानिएको कमजोरी वा निस्क्रियता हटाउँदै जाने चिनियाँ कम्युनिस्ट पार्टीको अभियान जारी छ।
खासगरी सी चिनफिङ राष्ट्रपति भएपछि महिलावादीदेखि समलिंगी अधिकारवादीहरूमाथि राज्यले निर्मम व्यवहार अपनाएको छ। अघिल्लो वर्ष त चिनियाँ सरकारी टेलिभिजनहरू स्त्रीसुलभ गुण हुने 'इफेमिनेट' पुरूषहरू वा 'सिस्सी मेन' लाई स्क्रिनमा देखिनबाट प्रतिबन्ध नै लगाए। आजको चीनमा खरो पुरूषत्वमा आधारित राष्ट्रवादको मलजल भइरहेको छ।
यस्तो माहोलमा वास्तविक महिला मुक्ति र समानता कति सम्भव होला?
अन्तमा, माओको शासनभर बाहिरी संसारसित चिनियाँ समाजको सम्पर्क न्यूनतम रहेकाले उनको महिलाहरूप्रतिको व्यवहार र यौन जीवनबारे यथार्थ कुराहरू नबाहिरिनु स्वाभाविक थियो। नेपालका अधिकांश वामपन्थीहरूले माओका बारेमा जे-जति पढेका हुन्, ती सबैजसो सामग्री माओको जीवनकालमै उत्पादित र वितरित थिए। तिनमा माओको देवतुल्य छवि निर्माण गरिनु र नेपाल मात्र नभई संसारभरका वामपन्थीहरूले त्यसलाई पत्याउनु अनौठो थिएन।
तर माओको मृत्यु भएको झन्डै आधा शताब्दी बितिसकेपछि अब उनको मूल्यांकन गर्दा भने उनीहरूले पनि तीन कुराको ख्याल राख्नुपर्छ।
एक, माओको आलोचना गरेर निस्कने सबै सामग्रीहरू विरोधीहरूका प्रोपोगान्डा होइनन्। शीतयुद्ध बेला दुई पक्षबीच हिलो छ्यापाछ्याप चले पनि सोभियत संघको पतन र चीनको पुँजीवादतिरको यात्रापछि स्टालिनदेखि माओसम्मका जीवनबारे कपोलकल्पित विवरणहरू सिर्जना गरेर कसैले केही हासिल गर्दैन।
त्यसमाथि चीनभित्रै बसेर ऊ बेलाका घटनाक्रम भोग्नेहरूसित त्यो समयबारे ढाँट्न र मनगढन्ते कुरा बनाउनुपर्ने कुनै कारण छैनन्। एकभन्दा धेरै मानिसले अलग अलग पृष्ठभूमिबाट आएर (जस्तो- डा. ली र चेङ) एकै खालको मनगढन्ते अनुभव सुनाउने कुराको अनुमान पनि लगाउन सकिँदैन।
दुई, माओलाई उनका समकालीन मानिसहरूले कसरी हेर्थे भन्ने एउटा कुरा हो तर आजका दिनमा हामीले उनको मूल्यांकन गर्दा हामी संवेदना र संवेदनशीलताको आजकै धरातलमा उभिएका हुन्छौं। उतिखेरको चीनमा धेरैले माओलाई आलोचनारहित रूपमा स्तुति गर्थे, त्यसैले हामीले पनि उनीमाथि प्रश्न नउठाऔं भन्ने तर्कमा खासै तुक छैन।
उति बेला किशोरीहरूलाई माओको 'सेवा' गर्न पाउनु महान् कार्य वा अभूतपूर्व अवसरका रूपमा पनि चित्रण गरिन्थ्यो, सायद उनीहरू पनि त्यसलाई पत्याउँथे।
आजका दिनमा फर्केर हेर्दा उनीहरूमाथि माओ र उनको पार्टीका अरू कमरेडहरूबाट बलात्कार र निरन्तरको यौन शोषण र हिंसा भएको थियो। माओ र उनका सहकर्मी नेताहरू यौन हिंसाकर्ता मात्र नभई 'पिडोफाइल' पनि थिए। माओ वा उनको सिद्धान्तका विरोधीहरूलाई मात्रै त्यस्तो लाग्दैन, चेङजस्ता जीवित भुक्तभोगीहरूलाई पनि त्यो कुरा लाग्छ।
तीन, कार्ल मार्क्सदेखि सुरू भएको क्रान्तिकारीहरूको महिलाहरूप्रतिको संदिग्ध, कठोर, उपभोगवादी वा हिंस्रक व्यवहार माओदेखि फिडेल क्यास्त्रो र किम इल सुङ हुँदै किम जोङ उनसम्म पुग्दा त्यसले केही गम्भीर प्रश्नहरू उठाउँछ- कतै क्रान्तिकारीहरूले महिलाहरूमाथि गर्ने यौन हिंसा र त्यसप्रतिको उनीहरूको सहनशिलता अपवाद नभएर संरचनात्मक खालकै समस्या पो थियो कि?
'द इन्डेपेन्डेन्ट' पत्रिकाको एउटा समाचार अनुसार सन् २०१५ मा उत्तर कोरियाका युवा शासक किम जोङ उनले हजुरबाका पालाको हजारौं कुमारी किशोरी र युवतीहरूसहितको 'प्लेजर ट्रुप' बनाउने र उनीहरूलाई आफ्नो मनोरन्जनका लागि प्रयोग गर्ने अभ्यास ब्युँताएका थिए। उत्तर कोरियाबाट विरलै आउने भिडिओहरूमध्ये एउटाबाट लिइएको यो स्क्रिनसट नै बालिका र किशोरीहरूप्रति उनको व्यवहार कस्तो होला भन्ने छनक दिन पर्याप्त छ।
यो अवस्थामा क्रान्तिकारीहरूमध्ये महिलाहरूप्रति माओको व्यवहारलाई अपवादमूलक ठहर्याउन गाह्रो छ।
त्यसो हो भने, लैंगिक विभेद नामेट पारेर महिलाहरूलाई मुक्त पार्ने कार्ल मार्क्सदेखि किम जोङ उनसम्मका बाचाहरूलाई एक्काइसौं शताब्दीसम्म आउँदा विकसित भएको लैंगिक मुद्दाहरूप्रतिको नयाँ संवेदना प्रयोग गरेर इमानदार निरीक्षण किन नगर्ने?
उनीहरूबारे अहिलेसम्म ढाकछोप गरिएका पक्षहरूबारे खुलस्त अध्ययन र विमर्श किन नगर्ने?
मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको मात्र होइन, मोहनविक्रम सिंह, केपी ओली र पुष्पकमल दाहालसम्मको लैंगिक समानताप्रतिको प्रतिबद्धतालाई व्यवहारको कसीमा राखेर किन नहेर्ने?
महिलाले अधिकार माग्दा ट्याउँट्याउँ लाग्ने मनोवृत्तिदेखि महिलालाई समान नागरिकताको हक दिँदा राष्ट्रियता नै समाप्त हुन्छ भन्ने उग्रक्रान्तिकारीहरूका हास्यास्पद तर विनाशकारी अडानलाई त्यसको ऐतिहासिक पृष्ठभूमिमा किन नराख्ने?
यी प्रश्नहरूमा गहिरो बहस हुने हो भने त्यसले सैद्धान्तिक र दार्शनिक तहका अरू केही गम्भीर प्रश्नहरू उठाउँछ।
जस्तो, बाहुन-क्षत्री पुरूषले मात्र नेतृत्व गर्ने नेपालको कम्युनिस्ट राजनीति कतै सारमा 'निश्चित जात र भूगोलका पुरूष मात्र यो मातृभूमिमा शासन गर्न समर्थ छन्' भन्ने लिंगभेदी-नश्लभेदी-जातिभेदी-सामन्तवादी दर्शनमा आधारित त छैन?
कतै फेसन गइसकेको सामन्तवाद बिक्न छाडेपछि विशुद्ध रूपमा सत्ता र शक्ति हासिल गर्ने व्यक्तिगत महत्वाकांक्षा हासिल गर्न मात्रै लैंगिक समानतादेखि समाजवाद र साम्यवादसम्मका नाराहरू लगाइएका त होइनन्?
कतै लेनिनदेखि स्टालिन, माओ, क्यास्त्रो र किम वंशसम्मका लागि पनि यी प्रश्न उत्तिकै सान्दर्भिक त छैनन्?
लेनिनदेखि सी चिनफिङसम्मले गर्ने लैंगिक समानता र महिला मुक्तिका कुरा हात्तीका देखाउने दाँत मात्र त थिएनन्?
कम्युनिस्ट आन्दोलनमा रहेका पुरूषहरूसित त मेरा अपेक्षा असाध्यै कम छन् तर त्यता रहने महिला साथीहरूलाई मेरो प्रश्न छ- अरू केही गर्न नसके पनि समग्र 'कम्युनिस्ट' आन्दोलनमा क्रान्तिकारिताको खोल ओढेर बसेको कठोर, अनुदार, हिंस्रक र जबर्जस्त पितृसत्तालाई त्यसको असली नामले किन नबोलाउने?
सन्दर्भ सामग्रीहरूः
१. ली झिसुइको पुस्तक 'प्राइभेट लाइफ अफ चेयरम्यान माओ'को न्यु योर्क रिभ्यु अफ बुक्समा पहिलो पल्ट सन् १९९४ मा प्रकाशित समीक्षा
२. माओत्सेतुङका आनीबानी र स्वास्थ्यबारे साउथ अफ्रिकन मेडिकल जर्नलमा प्रकाशित जर्नल आलेख
३. द स्पेक्टेटरमा प्रकाशित जोनाथन मिर्स्कीको चेङका अनुभवबारे लेख
४. युटाहा विश्वविद्यालयमा पेस भएको अल डि रोबर्टसको माओकालीन चीनमा व्याप्त लैंगिक विभेदमा ताओवादी दर्शनको प्रभावबारे थेसिसको पूर्ण पाठ
युरोप र अमेरिकामा ताप लहर र डढेलोले भयावह रूप लिइरहँदा जलवायु मुद्दामा केन्द्रित रहेर लेखकले यो साता सिफारिस गरेका लेख, पोडकास्ट र भिडिओका लागि यहाँ क्लिक गर्नुहोस्।