महिला र पुरुषका दुई परस्पर विरोधी समूहले एकै समय एकै ठाउँमा प्रदर्शन आयोजना गरेकाले माहोल तनावपूर्ण थियो। त्यत्तिकैमा भीडको कोलाहल बीच पनि सुनियो- 'चट्याम्म'।
सबैले आवाज आएतिर फर्केर हेरे।
एउटा जुलुसकी अगुवा बिनाले अर्को जुलुसको एक युवाको गालामा कसेर थप्पड हानेकी थिई।
एकाएक दुइटै जुलुसलाई कभर गर्न आएका सारा क्यामरा र मोबाइल युवकको गालातिर फर्के। सबैले लामो सास ताने। तर एकछिन आवाज घाँटीमै रोकियो। एक निमेषका लागि सडकमा सन्नाटा छायो।
केही सेकेन्डपछि पुरुषहरूको जुलुस उत्तेजित भयो। नाराबाजी चार गुणा चर्क्यो। तर महिलाहरूको जुलुस शान्त भयो। सबै किंकर्तव्यविमुढ भए। बिना आफैं 'यो मैले के गरेँ' भन्ने भावमा ठिंग उभिरही। चोट खाएको युवक पनि रनभुल्ल देखियो।
'राष्ट्रघाती नागरिकता कानुन चाहिँदैन', 'विदेशी ज्वाइँ चाहिँदैन' र 'देशद्रोहीहरूलाई निकाला गर' जस्ता नारा पहिल्यै घन्किरहेका थिए। अब 'हिंस्रक महिलाहरूलाई कारबाही गर', 'राष्ट्रघाती महिला देश छाड', 'गद्दारहरू खबरदार' आदि नाराहरूले चोक गुञ्जियो। जुलुस उग्र हुँदै गयो।
एकै छिनमा महिलाहरू चोकबाट बाहिरिए। घर पुगेपछि थाहा पाए- चोकमा लागेका उग्र नारा त केही पनि थिएनन्। असली नाराबाजी सामाजिक सञ्जालमा भइरहेको थियो। सञ्जालले अब एकाएक राष्ट्रवादी नायक पाएको थियो- झापड खाएको पुरुष।
कसैले बिनाले झापड हिर्काउनुअगाडि माथि उठाएको हातको फोटो खिचेको रहेछ। अब त्यो 'भाइरल' भएको थियो। हानेलगत्तै दुवै जनाको अनुहारमा आएको अजीव भाव र जुलुसको सन्नाटालाई त धेरैले भिडिओमा उतारेछन्। ती पनि बिजुलीको गतिमा मानिसका फोनहरूमा पुगिसकेका थिए।
सामाजिक सञ्जाल हेर्दा यस्तो लाग्थ्यो, त्यो बेला देशमा बाँकी कुनै कुरा भइरहेको थिएन। आमाका नाममा पनि सन्तानलाई नागरिकता दिन मिल्ने कानुन बन्ने क्रममा थियो। बनिसकेको कानुन कस्तो हुनेछ, नहेरी त्यसको पक्ष र विपक्षमा बहस सुरू भएको थियो।
महिला अभियन्ताहरू भन्दै थिए- नागरिकता दिँदा कुनै पनि बहानामा लिंगका आधारमा भेदभाव गर्न पाइँदैन। एकल महिलाले सहजै आफ्ना नामबाट बच्चालाई नागरिकता दिन सक्नुपर्छ। विदेशी पुरुष बिहे गरेर ल्याउने नेपाली महिलाले पनि श्रीमानलाई नेपाली नागरिकता दिलाउन पाउनुपर्छ।
केही पुरुष अभियन्ताहरू भन्दै थिए- त्यसो गर्यो भने देश डुब्छ। लैंगिक समानताका नाममा राष्ट्रियतामा खलल पुर्याउन पाइँदैन।
झापड काण्डअगाडि दुवै पक्षले सडकमा फाटफुट प्रदर्शन गर्दै आएका थिए। त्यस दिन चाहिँ प्रदर्शनको समय र ठाउँ जुधेकाले सानै संख्यामा भए पनि दुवै पक्ष असामान्य रूपमा उत्तेजित देखिएका थिए।
'महिलाहरू भाडामा सडकमा उतारिएका हुन्। त्यो भाडा रूपैयाँमा हैन डलरमा आउँछ।'
'महिलाहरू दिनभर सडकमा नारा लगाउँछन्, बेलुका वेश्यावृत्ति गर्छन्।'
'यो प्रदर्शनको योजना नेपालमा बन्दै बन्दैन। जुन देशले नेपालमा लाखौं ज्वाइँ पठाएर यहाँको जनसंख्यालाई अल्पमतमा पारेर यो देशलाई नै हडप्न खोजेको हो, त्यहाँको जासुसी संस्था यसको आयोजक हो।'
त्यो दिन साँझसम्म सामाजिक सञ्जाल यस्तै सूचनाहरूले भरियो। दोस्रो दिन पुरुष अभियन्ताहरूको सिर्जनशीलताले अर्कै उचाइ छोयो।
बिना आफ्नै सन्तानलाई मर्ने गरी कुटेका कारण घरबाट निकालिएकी हो।
बिनाको चरित्रमा खोटैखोट देखेपछि गाउँलेले उसलाई निकाला गरेका हुन्।
बिना दिनदिनै फरक फरक पुरुषसित होटल जान्छे।
बिनाका केटाकेटीको बाउ को हो कसैलाई पत्तो छैन।
बिनाको रासलीला सहन नसकेर माइतीले पनि उसलाई निकालिदिएका हुन्। आदि।
तेस्रो दिन बिना र उसका सहकर्मीहरूबारे झनै गम्भीर शोधमूलक कथाहरू देखा परे सञ्जालमा- बिना मानसिक रोगी हो। ऊ मानसिक अस्पतालबाट भागेकी हो। उसका साथीहरू पनि त्यस्तै हुन्।
त्यसैबीच एउटा अनलाइनले सन्सनीपूर्ण खुलासा गर्यो- झापड खाने व्यक्ति बिनाको आफ्नै पति हो। समाचारसँगै भिडिओ पनि थियो।
भिडिओमा बिनाको पति रूँलाजस्तो गरेर आफ्नो दुःख बिसाउँदै थियो- पन्ध्र वर्ष त्यसलाई पालेँ। रानीलाई जस्तो सुख कटाएँ। भाँडा माझ्न लाइनँ, कपडा धुन दिइनँ। आखिर मेरो मुटुको टुक्राजस्ता केटाकेटी लिएर माइत गई र अंश मुद्दा हाली। मलाई घरको न घाटको बनाई। छोराछोरीको भविष्य अन्धकार पारी। वृद्ध बाआमालाई चौंधारा रुवाई। अब ममाथि समेत हात उठाई।
अब अनलाइनहरू र युट्युबेहरूबीच बिनाको पीडित पति महेशलाई 'ज्यूँदो सहिद' बनाउने होड चल्यो।
हरेक दिन सनसनीपूर्ण शीर्षक र ब्यानरसहित समाचार र भिडिओहरूको बाढी आउन थाल्यो।
'यसरी हुन्छ पुरुषमाथि हिंसा, कुन दुलोमा छन् महिला अधिकारवादी?'
'कुरा गर्दा गर्दै महेश भक्कानिएपछि....।'
'श्रीमानबाट सन्तान छिन्ने बिनाको रासलीला हेर्नुहोस् (भिडियोसहित)।'
'पतिमारा महिलाबारे के भन्छन् फलानो?'
'जब फलानो पत्निपीडित महेशलाई भेट्न पुगे (अन्तिमसम्म हेर्नुहोस्)'।
आदि, आदि। कतिवटा भिडिओमा महेश आँशु निकालेरै रोएको देखिन्थ्यो।
आफ्ना कुरा पुराना हुँदै गएपछि ढिलो आउने युट्युबेहरूलाई महेशले छोराछोरीको दुख सुनाउन थाल्यो- बाबु भनेपछि कति हुरूक्क हुन्थे। घरमा आमासित मात्रै हुँदा डराउँथे किनकि उसले बारम्बार तिनमाथि हात उठाउँथी। एक्लै पाई भने मर्ने गरी पिट्थी। कहिल्यै मामाघर जान मान्दैनथे।
एकाध दिनपछि भाइरल पत्रकारहरू उसको परिवार र छिमेकीका पछि लागे। छिमेकीहरूले टोलमै महेशको समर्थनमा सभा गरेर मच्ची मच्ची बिनाको निन्दासहितका भाषण गरे।
त्यसका दर्जनौं भिडिओ बने। महेशकी आमाले पनि दिक्क नलागुन्जेल मानिसहरूलाई अन्तर्वार्ता दिइरहिन्। छोराको दुःख र नातिनातिनीको बिचल्ली सम्झेर घुँक्कघुँक्क रोइन्। परिवारका सबै जना तात्ताता सेलेब्रिटी बने।
महेश, उसको परिवार र टोलका कुरा पुराना हुँदै गएपछि केही युट्युबेहरू उसका छोराछोरीकै पछि लागे। तिनको भिडिओ खिच्न बिनाको माइत पुग्नेहरूलाई उसका बाआमाले धपाएर पठाइदिए। अनि क्यामरा बोकेका युट्युबेहरूको लस्कर तिनले पढ्ने स्कुलमा पुग्यो।
स्कुलले स्वाभाविक रूपमा उनीहरूलाई प्रवेश दिएन। अनि केहीले स्कुलको सुरक्षा गार्डलाई आच्छुआच्छु पार्दै प्रश्नहरू सोधे, हप्काए, ठेले र अरूले खिचे। दंगा नै होला जस्तो भएपछि प्रिन्सिपल आफैं गेटमा आएर सम्झाउन खोजे। हुलमुल देखेर वरिपरिका तमाशेहरू पनि जम्मा भए।
त्यो मेलाका भिडिओहरू फेरि अलि दिनसम्म रचनात्मक शीर्षकहरूसहित मानिसका हातहातमा पुगे।
जस्तो, यी यहाँ बन्दी छन् भाइरल महेशका छोराछोरी (भिडिओसहित)।
त्यसपछि पत्नीपीडित पतिबारे केही युट्युब च्यानलहरूले महिनौंसम्म शृंखला नै चलाए। नयाँनयाँ महेशहरू जन्मे र सेलेब्रिटी बने। पत्नी हिंसाबाट कसरी बच्ने भनेर विश्लेषक र बुद्धिजीविहरूले दर्जनौं च्यानलबाट ज्ञान बाँडे।
अब बिना र अरू आन्दोलनकारी महिलाहरूको चरित्र हत्या आम विषय भयो। कसैले आन्दोलनकारी महिलाहरूको बचाउ गर्नै छाडे। कमलो मन हुनेहरूले सञ्जालका भित्ता खोलेर हेर्नै नसक्ने अवस्था बन्यो। दर्जनौं अर्ध–सत्य र मिथ्या प्रयोग गरी नयाँ षड्यन्त्र कथाहरू बुनिए र सामाजिक सञ्जाल हुँदै मानिसका मनसम्म पुगे।
उसो त महिलाहरू पनि सामाजिक सञ्जालमा आफ्नो अडानको पक्षमा जनमत बनाउन डटेर लड्दै आएका हुन्। तर झापड काण्डपछि उनीहरू धेरै रक्षात्मक अवस्थामा पुगेका थिए। अब अनलाइनहरू र युट्युबमा यो विषय ट्रेन्डिङ भएपछि त उनीहरूमाथि सम्हालिनसक्नु आक्रमण भयो।
अनि समग्र बहसमा नागरिकता कानुनमा लैंगिक समानता पक्षधरहरूको आवाज लगभग थुनियो। उनीहरूका विरोधी त आक्रामक बने नै, धेरै शुभेच्छुकले पनि अब बारम्बार सन्देश पठाउन थालेका थिए- कत्रो भरोसा थियो तिमीहरूमाथि। तर तिमीहरूले सारा आन्दोलनलाई नै बदनाम बनायौ।
त्यस दिनपछि राष्ट्रवादीहरूका जति पनि जुलुस भए, तिनमा मुख्य मुद्दा झापड र पुरुष हिंसा भयो। 'समाजमा लुकेर बसेको पुरुष हिंसा र उत्पीडन' बारे लामा लामा भाषण बोलिए। सञ्जालका भित्तामा र अनलाइनका ब्लगहरूमा लेखिए।
अनि पुरुष हिंसाको जीवित प्रतिमूर्ति बन्यो बिनाको पति महेश।
झापड काण्डको केही समयपछि महिला अभियन्ताहरूको बैठक भयो।
महिलाहरू हतास त थिए नै धेरै जना बिनासित क्षुब्ध भएझैं लाग्थ्यो। त्यो दिन अर्को पक्षसित भौतिक रूपमा भिड्ने वा हिंसा गर्ने कुनै योजना थिएन। बरू उनीहरू उग्र भए पनि आफूहरू संयमित बन्ने सल्लाह थियो।
बैठकमा बोल्ने धेरै जसोले प्रत्यक्ष वा परोक्ष रूपमा बिनाको गल्ती देखाए। ती एकाध सेकेन्ड उसले संयम् अपनाएको भए आज कति फरक हुन्थ्यो परिस्थिति। विभेदपूर्ण कानुन रोक्न कत्रो ऐक्यबद्धता जम्मा भइसक्थ्यो। अब त यही काण्डका कारण कानुन बनाउने निर्णायक क्षणसम्म आफ्ना आवाजहरू नै दबाइने त्रास सबैमा बसेको थियो।
समाज र सामाजिक सञ्जालको निन्दा खप्नु त छँदै थियो, घर–परिवारमा जवाफ दिन पनि मुस्किल भइरहेको थियो। शुभेच्छुकहरुका समेत निन्दा र चिन्ता मिश्रित सन्देशहरू अर्कोतिर थिए।
सहभागीहरूले अनेक रूपमा यी चिन्ता र गुनासो प्रकट गरे। बिना चुपचाप सुनिरही। उसको मथिंगल अझै खल्बलिइरहे झैं लाग्थ्यो। कुरैकुरामा कसैले भन्यो- हाम्रो उपस्थितिले कतै समग्र अभियानलाई नै हानि पुर्याइरहेको त छैन भनेर हामी सबैले अब निर्मम आत्मसमीक्षा गर्नुपर्ने बेला भएको छ।
बिनालाई लाग्यो, यो 'हामी'को अर्थ 'बिना तिमल्सेना' हो। ऊ उठेर केही नबोली ढोकातिर लागी। अनुहार पिल्पिल भइरहेजस्तो देखिन्थ्यो।
अचानक एक महिला उठेर उसको बाटो छेकिन्, 'बिना प्लिज, तिम्रो कुरा त हामीले सुनेकै छैनौं। जे मनमा छ भन। त्यो दिन कसरी तिम्रो हात उठ्यो भनेर सुन्ने जिज्ञासा हामी सबैलाई छ। यसरी नबोलेर अब हुँदैन।'
बिना फर्केर फेरि कुर्सीमा बसी। उसलाई रोक्ने महिलाको कुरामा सहमति जनाउनेबाहेक कोही केही बोलेन। कोठामा सन्नाटा छायो।
बिनाले कथा सुरू गरी।
'त्यो पोर्लकी अहिले पनि मेरो लोग्ने हो। अंश मुद्दा चले पनि अझै हाम्रो सम्बन्ध विच्छेद पूरा भइसकेको छैन। हाम्रो बिहे भएको अस्ति मात्रै सोह्र वर्ष पुग्यो। म माइत गएर अंश मुद्दा हालेको एक वर्ष भयो। सम्बन्ध राम्रो नभएको सोह्रै वर्ष भयो।
बिहे गर्दा म सत्र वर्षकी मात्रै थिएँ। हुनेखाने परिवारको राम्रो पढेको केटो भनेर बाउआमाले कन्यादान गरे। पछि थाहा भयो खानको अभाव त थिएन तर लोग्ने भनाउँदो काम नलाग्ने जँड्याहा रहेछ। त्यसले पढेको लक्षण व्यवहारमा कतै देखिएन। कमाउने कुरै छाडौं।
तै पनि खान लाउनको दुःख थिएन। दुनियाँले हेर्दा त्यस्तो नराम्रो केही थिएन। लगालग छोरी र छोरा जन्मे। हुर्किँदै र पढ्दै गए। तर मनमा कहिल्यै चैन भएन। जग्गा जमिन राम्रै भएकाले दुई छाककै दुःख भएन। तर छोराछोरीको भविष्यको चिन्ताले मलाई साह्रै पोल्न थाल्यो। उसलाई साँझ परेसि जाँड धोक्न पाए हुने, कुनै चिन्ता लिन नपर्ने।
सुरूसुरूमा त त्यति साह्रो मात्दैनथ्यो र म पनि केही बोल्दिनँ थिएँ। पछिपछि त रातभर धोकेर मात्न थाल्यो। म पनि बोल्न थालेँ। अनि ममाथि हात उठाउन थाल्यो। त्यसपछि घरमा दिनदिनै बबन्डर हुन थाल्यो। छोराछोरीको मुख हेरेर त्यसको कुटाइ कति सहेँ कति। कतिचोटि माइत गएँ। आएर पाउ परेर लिएर गयो। घर गएपछि उस्ताको उस्तै।
आजीत भएर दाजुभाइले छुट्याइदिए। त्यसपछि त झनै मात्न थाल्यो। केटाकेटी कहालिएर रातरातभर सुत्न सकेनन्। तिनको पढाइ चौपट भयो। इलम नभएको लफंगोलाई सधैं जाँड खान कसरी पुगोस्? ऋण थपिँदै गयो। एक दिन एक कट्ठा जग्गा बेच्ने ग्राहक खोजेर ल्याएछ। अनि मात्रै मलाई भन्यो। ऋण सम्हालिसक्नु थिएन। मैले पनि जेसुकै मरोस् भनेर केही भनिनँ।
जग्गा बेच्यो। अलिकति बचत गरौं भनेको मरे मानेन। रक्सी खाएरै सक्यो।
यत्रो अत्याचार सहेर किन सोह्र वर्ष सँगै बसिस् भनेर भन्नुहोला। म तपाईंहरूजस्तो पढेलेखेकी, टाठीबाठी मान्छे होइन। तै पनि म बोल्दै नबोलेको होइन।'
बिना एकछिन रोकिई। कोठामा सन्नाटा छायो।
'घरकाले त सुरूदेखि नै थाहा पाएका थिए। अचाक्ली भएपछि गाउँका जान्नेबुझ्नेलाई ल्याएर पनि दुःख बिसाएँ। पोर्लकीलाई अघि राखेरै उसका करतुत भनेँ। मान्छेहरूले उसलाई सम्झाए। टाउको निहुर्याएर सुध्रिन्छु पनि भन्यो। तर दिउँसो त्यसो भन्यो, बेल्का हालत उस्तै।
केटाकेटीले यहाँ नबसौं, मामाघर गएर बसौं भनेर हत्ते हाल्न थालेको धेरै वर्ष भयो। माइती पनि धनी त होइनन् तर खानैको दुःख छैन। गाउँलेलाई भन्दा पनि केही नलागेपछि एकदिन केटाकेटी लिएर माइत गएँ। मलाई पनि फर्किन मन थिएन, केटाकेटी फर्किनै मानेनन्।
एकदिन पोर्लकी लिन आयो। मैले ठाडठाडै जवाफ दिएँ। कति डराउनु भन्ने लाग्यो।
अरू बेला ससुराली आउँदा लुरुक्क पर्थ्यो। त्यो दिन मैले नमानेपछि चर्चरी बाझ्न थाल्यो। मलाई तथानाम गाली गरेपछि मेरा बाआमालाई जथाभावी भन्न थाल्यो। टोलमा तमाशा भयो। छिमेकी जम्मा भएर त्यसलाई धकेलेर निकालेर पठाए।
त्यसपछि घर जाने बाटो बन्द भएको सम्झेर मैले अंश मुद्दा हालेँ। मुद्दा अहिलेसम्म टुंगिएको छैन। जुन दिन अंश पाउँछु, त्यही दिन म छोडपत्र लिएर बस्छु।'
बिनाले आफ्नो कथा सिध्याई। उसको कथा सुन्दै गर्दा बैठकमा रहेका सबै महिलाका आँखामा आफूले भोगेका वा देखेका त्यस्तै कहानीहरू नाचिरहेका थिए। सबैलाई लाग्दै थियो यो आफ्नै वा कुनै चिनारू महिलाको कथा हो।
तर त्यस दिन उसले झापड किन हानी भन्ने प्रश्नको जवाफ अझै आएको थिएन। न त त्यस दिनको झापड काण्डले महिला आन्दोलनलाई पुर्याएको क्षतिलाई कसरी पूर्ति गर्ने भन्ने कसैलाई सुझिरहेको थियो। बिनाको यो कथा त्यहाँका महिलाहरूलाई त मर्मस्पर्शी लागिरहेको थियो तर दुनियाँ त महेश र उसकी आमाको आँशु पुछ्न 'पुरुष बचाऊ अभियान' मा होमिइसकेको थियो।
यसैबीच सर्वज्ञानी र युट्युबे बुद्धिजीविले बिनाजस्ता असामाजिक महिलाहरू किन हिंसामा उत्रिन्छन् भनेर नयाँ सिद्धान्तहरू प्रतिपादन गरिसकेका थिए।
त्यस्ता बोझिला सिद्धान्तहरू झुटा वा अनुपयोगी बन्नु सम्भव लाग्दैनथ्यो। किनकि तिनमाथि लोकप्रियता र सामाजिक स्वीकार्यताको छाप लागिसकेको थियो। महेशजस्ता जोखिममा परेका पुरुषहरूलाई कसरी पत्नी हिंसाबाट जोगाउने भनेर उनी र उनीजस्तै अरू बौद्धिकहरूले बनाएका गाइडलाइनहरू समेत अत्यधिक लोकप्रिय भइरहेका थिए। सामाजिक विमर्शको यो नयाँ विधाले नयाँ विज्ञहरू जन्माइसकेको थियो।
यस्ता आधुनिक र भाइरल कुराको साथ छाडेर बीसौं शताब्दीको गन्ध आउने 'श्रीमती कुट्ने श्रीमान' को कथामा अब मानिसहरूको दिलचस्पी उडिसकेको थियो।
बिना दुनियाँलाई आफ्नो कथा सुनाउन स्वतन्त्र थिई। तर दुनियाँ उसको कुरा सुन्न वा बुझ्न बाध्य थिएन। तयार पनि थिएन। त्यसमाथि मानिसहरूले अनलाइन र युट्युब भिडिओहरू हेरेर बिनाजस्ता महिलाहरूका बारेमा अकाट्य धारणा बनाइसकेका थिए। अनि तिनलाई निन्दा गरेर लाखौं शब्दहरू सामाजिक सञ्जालमा खर्च गरिसकेका थिए।
अर्थात् यो मुद्दामा उनीहरूको अडान श्यामश्वेत रूपमा दुनियाँसामु आइसकेको थियो। अब यथार्थ भनिएको पट्यारलाग्दो कुरा सुनेर कसैले अडान वा कित्ता बदल्ने सम्भावना थिएन। सबैलाई आफ्नो छवि र आत्मसम्मान प्यारो थियो।
आफूले नायक मानी र बनाइसकेको महेशलाई खलनायक बनाउनु? खलनायक भइसकेकी बिनालाई 'पीडित' को सम्मानित दर्जा दिनु?
सम्भवै थिएन।
यो कथाकारको विश्लेषण होइन, त्यो बैठकका महिलाहरूले तत्कालीन समाजको आम मनोवृत्तिबारे बेचैनीपूर्वक बोध गरिरहेको कुरा थियो।
कोठाको गह्रुँगो मौनता तोड्दै फेरि बिना नै बोली- एक दिन एक जना साथीले भनी, अरू त ठिकै हो तर बच्चाहरूको नागरिकता लिने बेला तैंले धेरै दुःख पाउँछेस्। बाउको सिफारिस नभई बच्चाको नागरिकता बन्दैन। यसरी छुट्टिएपछि तँसित बसेका छोराछोरीलाई त्यसले के सिफारिस देला?
त्यसपछि म छट्पटिनुसम्म छट्पटिएँ। अब छोरीको नागरिकता बनाउन धेरै थिएन। कहिल्यै राजनीति र आन्दोलनबारे केही चासो नराखेकी मैले त्यही दिनदेखि यो विषयमा पाए जति समाचार पढ्ने र हेर्ने गर्न थालेँ। अहिलेको आन्दोलनमा म सुरूदेखि आएको कारण पनि त्यही हो। यो अरूका लागि अधिकार र समानताको कुरा होला, मेरा लागि जीवन र मरणको कुरा हो। छोरीलाई आफ्नै नामबाट नागरिकता दिलाउन पाए म त्यो पोर्लकीकहाँ फेरि कहिल्यै गएर झुक्नुपर्ने छैन।
कोठामा सबैलाई लाग्यो- अब बिनाको कहानी पूरा हुँदैछ। अरू अभियन्ताभन्दा फरक र अल्पभाषी भएर पनि ऊ किन यति खटेर आन्दोलनमा लागेकी रहेछ भन्ने सबैले बुझे।
बिनाले कथाको बिट मारी, 'त्यो पोर्लकीलाई अर्को जुलुसमा देख्दाबित्तिकै थाहा पाएँ त्यो राष्ट्रवाद हो कि के जाति बचाउन त्यहाँ आएको हैन। मेरा छोराछोरीको अधिकार छिन्न, हामीलाई गोता ख्वाउन र बदला लिन आएको हो। त्यसले हामीलाई बर्बाद गर्ने कसम खाएको छ।'
सबै अवाक भए। महेश प्रतिकार जुलुसमा किन त्यति सक्रिय र उग्र थियो भन्ने सबैलाई छर्लंग भयो। उसलाई अनलाइन र युट्युब च्यानलहरूले राष्ट्रवादी नायक बनाइसकेको यथार्थ सम्झँदा उनीहरू सबैको आङ सिरिंग भयो।
हुन पनि पुरुषवादीहरूले त्यसबीच 'राष्टघाती नागरिकता कानुन चाहिँदैन' बाट सुरू भएको नारावाजीलाई 'सम्पूर्ण राष्ट्रवादी एक हौं' मा लगेर केन्द्रित गरेका थिए। सामाजिक सञ्जालमा स्थापित भाष्यअनुसार बिना र पुरुष–पीडन समानार्थी जस्ता भएका थिए भने महिला अधिकारको लडाइँलाई मानिसले राष्ट्रघाती एजेन्डा मान्न थालेका थिए।
यसरी नागरिकताको मुद्दामा महिला र पुरुषबीच बराबरीको एजेन्डा पूरै बरालिइसकेको थियो।
उग्रराष्ट्रवादीहरूका अनुसार लैंगिक समानताका नाममा नेपालको अस्तित्व मेटाउन साम्राज्यवादी र विस्तारवादी देशहरू मिलेर बिनाजस्ता अभियन्ताहरूका लागि अर्बौं डलर खर्च गरेका छन्।
उग्रक्रान्तिकारीहरूले खुलेआम भने, 'महिला र पुरुष बराबर त हुन् तर राष्ट्रवादका खातिर महिलाले दोस्रो दर्जाको नागरिक बनेर विभेद सहन तथा बलिदान दिन सक्नुपर्छ।'
अर्काले उसैगरी भनेका थिए, 'दलित र ठकुरी समान हुन्। तर ठकुरीहरू हाम्रा पार्टीका छन् भने तिनले दलितहरूलाई मारे पनि अदालतमा कुरा मिलाएर उनीहरूलाई जेलबाट मुक्त गर्नुपर्छ। क्रान्तिलाई बुर्जुवा पुँजीवादी कानुनको बन्धक बनाउन सकिँदैन।'
यस्तो माहोलका कारण महिला अभियन्ताहरू गहिरो अन्योलमा थिए। तर बिनाको पूरै कुरा सुनेपछि ऊप्रति बैठकको सुरूमा उनीहरूले पालेको रोष भने अब शान्त भइसकेको थियो।
सबैलाई लागेको थियो बिनाको कथा सकियो।
तर अलि हिच्किचाउँदै बिनाले फेरि मुख खोली र उत्तर कथा सुनाई, 'त्यो दिन सडकमा आमनेसामने हुँदा त्यसले दाँत ङिच्याउँदै सुस्तरी छोरी कस्ती भइन्? भनेर सोध्यो। अनि मेरो दिमाग रन्कियो र मैले आँखै देखिनँ। जुन दिन १४ वर्षकी छोरीले रूँदै मलाई यहाँ बस्दै नबसौं, मामाघर जाऊँ भनेकी थिई, त्यस दिन बिहान उसले कोठामा लुगा फेर्दै गर्दा पोर्लकीले अचानक भित्र पसेर आफ्नै छोरीलाई गलत तरिकाले छोएको थियो।'