मैले अघिल्लो लेखमा 'डाक्टर ओझा सिन्ड्रोम' बारे चर्चा गरेको थिएँ। यो लेख त्यही प्रसंगबाट सुरू गर्न चाहन्छु।
करिब ०३५-०३६ सालको कुरा हो। वीर अस्पतालको आइसियूमा एक जना बिरामी भर्ना भए। मानसिक सन्तुलन गुमाएका ती व्यक्तिको हातगोडा खाटमा बाँधिएको थियो। उनी थिए, कलकत्ता पढुन्जेल हरेक विषयको हरेक जाँचमा सर्वाधिक अंकसहित गोल्ड मेडल पाएर डाक्टरी पास गरेका होनहार डाक्टर।
उनी नेपाल आएपछि निकै जोश-उमंगसहित सेवा गर्ने र थप डिग्रीका लागि प्रयास गर्ने सोचमा रहेछन्। तर, यहाँ आएदेखि लगातार दुर्गममा सरुवा भएछन्। सहन सकुन्जेल सहे, त्यसपछि दिमागी सन्तुलन गुमाए।
त्यो बेलाका डाक्टरहरूको एक वृत्तमा यो किस्सा 'डाक्टर ओझा सिन्ड्रोम' ले परिचित छ।
त्यसैताका विदेशिएका एक विशेषज्ञ डाक्टरले भनेको सम्झन्छु, 'उनको (डा. ओझा) नियतिमा मलाई आफ्नो भविष्य देखेको महशुस भयो। म जानुमा कसैको दोष छैन, त्यस बेलाको परिस्थितिसँग जुध्ने सीप र जाँगर मसँग भएन भनौं।'
उक्त लेख प्रकाशित भएपछि 'उमामैया अधिकारी' ले एउटा छोटो प्रतिक्रिया पठाउनुभयो। अंग्रेजीमा लेखिएको उक्त प्रतिक्रियामा भनिएको थियो, ‘नेम अफ डक्टर - नारायणप्रसाद ओझा’।
मैले तुरुन्तै फेसबुकमा उमामैया अधिकारी सर्च गरेँ। प्रतिक्रिया पठाउने व्यक्ति र फेसबुक प्रोफाइल मिलेको देख्नेबितिकै मैले मेसेन्जरमा लेखेँ, ‘उमाजी, तपाईं डा. ओझालाई चिन्नुहुन्छ?’
जवाफ आयो, ‘चिन्छु, उहाँ मेरो काका हुनुहुन्थ्यो। तपाईंलाइ थप जान्न परे ९८४९...... नम्बरमा फोन गर्नुहोला।’
मैले उहाँलाई फोन गरेँ।
‘त्यत्रो ४१ वर्ष पहिलेको कुरा तपाईंले लेखिदिनुभएछ,' उहाँले भन्नुभयो, 'गुमनाम भइसकेका व्यक्तिको बारेमा, धन्यवाद।’
‘लेखिएको कुरामा केही गल्ती त थिएन नि?’ मैले सोधेँ।
‘हैन हैन ठिक छ। उहाँ मेरो साइँला बुवा। मेरा बुवाका चार दाजुभाइमध्ये साइँला। मेरो बुवा (माइला) तरकराज ओझा अंग्रेजीका प्राध्यापक हुनुहुन्थ्यो। उहाँ बित्नुभएको चार वर्ष भयो। जेठाबा चन्द्रदेव ओझा पनि अब्बल हुनुहुन्थ्यो। एसएलसीको प्रारम्भिक ब्याच, विक्रम सम्बत् १९९४ ताका बोर्ड फस्ट आउनुभएको,' उमाजीले आफ्नो परिवारको इतिवृत्तान्त सुनाउनुभयो।
‘अनि कान्छा?’
‘कान्छा काका पनि प्रोफेसर हुनुहुन्छ, क्यालिफोर्निया (अमेरिका) मा। स्ट्याटिस्टिकका प्रोफेसर मुरारीप्रसाद ओझा।’
‘डा. ओझाबारे केही थप भनिदिनुस न,’ मैले सोधेँ।
‘साइँला बुबाबारे आमाले भनिराख्नु हुन्छ। कलकत्ताबाट तीनवटा गोल्ड मेडलसहित एमबिबिएस पास गरेर आएपछि उहाँ डोटीमा खटिनुभयो। २०३५ सालमा मुटुको व्यथाले बित्नुभएको रे। तर उहाँलाई खासमा डिप्रेसन भएको थियो भन्ने बुझिन्छ।'
‘डिप्रेसनको कारणबारे केही सुन्नुभएको थियो?’
‘उहाँ थप अध्ययनका लागि विदेश जान चाहनुहुन्थ्यो रे। बेलायतको सिट पनि मिलेको थियो रे। तर यहाँबाट अनेक बाधा-अड्चन आएपछि निकै उदास हुनुभएको थियो रे।’
‘बाधा-अड्चन भन्नाले?’
‘त्यसबेलाका ठूला दरबारिया डाक्टरहरूले पठाउन चाहेनन् रे,' उहाँले भन्नुभयो, 'उहाँलाई पठाउन नचाहनेहरू को-को भनेर आमाले नाम पनि भन्नुभएको छ, तर अब नाम लिएर के फाइदा?’
हाम्रो छोटो कुराकानी यतिमै सकियो। मेरो मनमा भने क्यालिफोर्नियामा रहेका उनका कान्छा काका प्राध्यापक ओझा घुम्न थाले।
जेठा र माइलाले आफ्नै देशमा सेवा गरे। साइँलाले देशको अवस्थासँग जुध्न नसकेर अकालमै ज्यान गुमाए। यही तोडले कान्छा भाइ विदेशिएका त होइनन्? हो भने 'डाक्टर ओझा सिन्ड्रोम' का पहिलो सिकार उनकै भाइ भएछन्!
यो 'सिन्ड्रोम' कहाँबाट सुरू भयो, पहिले त्यसबारे चर्चा गरौं।
पञ्चायत कालमा डाक्टरको योग्यता दरबारसँग जोडिन्थ्यो। नामको पछाडि डिग्रीभन्दा नामका अगाडि जोडिएको रोयल फिजिसियन, रोयल सर्जन, रोयल कार्डिओलोजिस्ट, रोयल गाइनाकोलोजिस्ट आदि आदि। उनीहरूलाई उच्च योग्यता र सम्भाव्यता भएका नयाँ डाक्टर बिझाउने गर्थे। ती योग्यको नाम दरबार पुग्ला र खोजी होला भनेर डराउँथे। त्यस्ता सम्भाव्यता बोकेका होनहारलाई काठमाडौंमा टिक्न नदिन चक्कर चलाउने र बाहिर खटाउने कलामा ती रोयलधारीहरू पोख्त हुने नै भए।
त्यसैले आफ्नो कामसँग मतलब राख्ने, शासकभन्दा सेवाग्राहीलाई सेवा दिने सोच र स्वाभिमान भएकाहरूले यो ठाउँमा निस्सासिनुभन्दा विदेश जानु बेस ठाने। यही सोचले विदेशिने क्रम बढ्दै गएको हुनुपर्छ। यहाँ सोझो तरिकाले आर्थिक स्तरोन्नतिको सम्भावना नहुनु पनि थप कारण भयो होला।
तत्कालीन राजनीतिक व्यवस्थाबाट पीडित र राजनीतिक पहिचानसमेत बोकेका धेरै व्यक्ति व्यवस्था परिवर्तनसँगै विगतको ब्याज खान आइपुग्छन्। नेतासँगको चिनजान र ‘योगदान’ का आधारमा पुरस्कृत पनि हुन्छन्। औकातअनुसार सरकारी पददेखि मन्त्री, राजदूतसम्म बन्छन्।
डा. ओझा सिन्ड्रोमका सिकार स्वयं डा. ओझा र उनीजस्ता विशेषज्ञहरू भने तत्कालीन व्यवस्थापीडित त थिए, तर कुनै राजनीतिक खेमाका थिएनन्। उनीहरू अहिले पनि अमेरिका, युरोपमा गुमनाम बसिरहेका होलान्। कति दिवंगत भए होलान्, धेरै निवृत भइसके होलान्।
पञ्चायत गयो, बहुदल आयो। लोकतन्त्र आयो, गणतन्त्र पनि आयो। तर, ओझा सिन्ड्रोमबाट मुक्ति पाइने राजनीतिक व्यवस्था कहिल्यै आएन।
झन् अहिले त, एक दरबारको ‘आफ्नो मान्छे’ भएर पुग्दैन। एक नेताको भएर पनि पुग्दैन, एक पार्टीको भएर पनि पुग्दैन। विदेशिने क्रम जारी छ।
यो प्रवृत्तिका पछिल्ला उदाहरण हुन्- डा. शेरबहादुर पुन।
डा. पुनलाई म व्यक्तिगत रूपमा चिन्दिनँ। एकदिन मेरी श्रीमती अल्का 'कान्तिपुर टिभी' को 'सरोकार' कार्यक्रम हेर्दै थिइन्। उनले प्रश्न गरिन्, ‘यो डा. पुन भन्ने मान्छे चिनेका छौ?’
‘छैन,’ मैले प्रतिप्रश्न गरेँ, 'किन?'
‘टेकु सरूवारोग अस्पतालका डाक्टर रहेछन्। कति स्पष्ट र राम्ररी बोल्ने। कोरोनाका बारेमा नबुझेका कुरा राम्ररी बुझाउँदै छन्।’
अल्काले यति भनेपछि म पनि टिभीमा उनको कुरा सुन्न थालेँ। अनि अल्कालाई भनेँ, ‘राम्रा जानकार रहेछन्। अब यिनले दु:ख पाउने भए ... अरू कर्मचारी र हाकिमहरूले दु:ख दिने भए।’
नभन्दै सरकारले उनलाई स्पष्टीकरणको पत्र काटेछ। मलाई यो पनि डा. ओझा सिन्ड्रोमकै अर्को पत्रझैं लाग्यो।
डा. शेरबहादुर पुनको व्यावासिक योग्यताबारे केही दिनयता थुप्रै पत्रपत्रिकाले लेखिसकेका छन्। म त्यतातिर जान्न चाहन्नँ। उनलाई किन कारबाहीको प्रयास गरियो भन्ने विषयमा मेरा केही तर्क राख्न चाहन्छु।
डा. पुनले गलत कुरा बोलेर, कोरोना उपचारमा खटिएका अग्रपंक्तिका स्वास्थ्यकर्मीका रूपमा कुनै गल्ती गरेर, वा अहिलेको संवेदनशील घडीमा जनतालाई गुमराहमा पारेर उनी कारबाहीको दायरामा परेका होइनन्। उनी त यो महामारी रोग र त्यससँग जुध्ने तरिकाबारे प्रस्ट रूपमा बोल्थे।
मैले अनलाइन, टिभी वा पत्रिकाहरूमा डा. पुनका जति पनि अन्तर्वार्ता पढेँ वा सुनेँ, उनले कोरोना के हो, कोरोनाबाट कसरी बच्ने लगायत रोगसँग सम्बन्धित चेतना अभिवृद्धिबाहेक अरू कुरा बोलेका छैनन्। तर सरकारको नजरमा त्यही नै उनको ‘गल्ती’ हुन पुग्यो।
त्योभन्दा ठूलो गल्ती थियो, उनले रातारात पाएको चर्चा, जुन विभाग र मन्त्रालयका टेबलपछाडि घुम्ने मेचमा बस्ने हाकिम र ‘कर्मचारी डाक्टर’ हरूलाई सह्य भएन। उनीहरूले आफ्नो इर्ष्या र आवेग सहन नसकेर कारबाहीको डन्डा त प्रयोग गरे, तर त्यसले डा. पुनको चर्चा झनै चुलियो।
मन्त्रालयका व्यक्तिहरू कति अल्पदृष्टिका छन् भन्ने थप एउटा उदाहरण हो यो प्रकरण।
मेरो विचारमा डा. पुन प्रचारमुखी चरित्रका होइनन्। यसको एउटा आधार उनले ट्वीटरमा पछ्याउनेहरूको सूची हो। उनले जम्मा ४१ जनालाई 'फलो' गरेका छन्, जसमा प्राय: विदेशी प्राविधिक, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्वास्थ्य संस्थाहरू छन्। उनले एक जना पनि नेपालीलाई 'फलो' गरेका छैनन्, जबकि उनलाई 'फलो' गर्नेमा नेपालका पत्रकार, सम्पादकदेखि पूर्व स्वास्थ्य मन्त्रीहरूसम्म छन्। यसले उनको गैरप्रचारमुखी र अनुसन्धानमुखी चरित्र उजागर गर्छ।
यो स्पष्टीकरण प्रकरणपछिको 'मिडिया अटेन्सन' ले उनलाई कति फाइदा गर्ला थाहा छैन, तर अबउप्रान्त आफ्नो काममा दत्तचित्त भएर लाग्न उनलाई निरुत्साहित भने पक्कै गर्न सक्छ।
आतंकवादको मुख्य उद्देश्य 'भयको रजाइँ' भनेझैं कर्मचारीतन्त्रले चाल्ने स्पष्टीकरण खेलको मुख्य उद्देश्य 'काम गर्ने नियत भएकाहरूलाई हतोत्साही तुल्याउने' हो। डा. पुनलाई पनि थाहा छ, सरकारी कर्मचारी भएपछि स्थायी र बढुवा हुन योग्यताले मात्र पुग्दैन, राजनीतिक स्वीकारोक्ति र कर्मचारीतन्त्रको सहमति पनि आवश्यक हुन्छ।
यसपालि मिडियाको चासोले डा. पुनलाई स्पष्टीकरण सोध्न वा कारबाही गर्नबाट सरकार हच्के पनि आगामी दिनमा उनको बढुवा वा अन्य सुविधाका लागि पक्कै नम्बर घटेको हुनुपर्छ।
यस अर्थमा अहिलेका मन्त्रालयका हाकिम वा कर्मचारी डाक्टरहरू पञ्चायतकालमा नामका अगाडि 'रोयल' धारण गरेका डाक्टरभन्दा कत्ति कम छैनन्। जसरी उनीहरू सम्भावनायुक्त नयाँ डाक्टर देख्नेबित्तिकै राजाका आँखामा पर्न नदिन तिकडम रच्थे, अहिले पनि प्रस्टीकरण वा कारबाहीको जाल बुनेर नम्बर घटाइदिने गर्छन्। र, यही प्रपञ्चमा परेर होनहारहरू डा. ओझाको नियति भोग्न बाध्य हुन्छन्।
मैले अघिल्लो लेखमा 'युएसएमएलई' (अमेरिकाको मेडिकल लाइसेन्स परीक्षा) को तयारी गरिरहेका एक डाक्टरको प्रसंग उल्लेख गरेको थिएँ। लेख छापिएपछि उनले फोन गरेर भने, ‘कोरोनाले जाँच पनि सर्यो, तपाईंको लेख पढेपछि जाँचै पो नदिउँ जस्तो लग्न थाल्यो। सुखदु:ख यतै ठिक हो कि भनेर सोच्दै छु। दोधारमा छु।’
डा. शेरबहादुर पुनको कारबाहीको समाचारपछि उनले फेरि फोन गरे। उनको भनाइ फेरि पुरानै लाइनमा सरेछ।
‘यस्तै घटनाले यो ठाउँ देखेर मन मरेको हो। अस्ति दुबिधामा थिएँ, अब दुबिधाबाट निस्किएँ। यहाँ बसेर सोझो तालले सकिँदैन। राजनीतिक कार्यकर्ता भएर नेता रिझाउन जानिएन। मे महिनासम्म त जाँच हुन्छ होला। अब एकाग्र भएर पढ्न सुरू गरेको छु,' उनले भने, 'डा. ओझाजस्तो मलाई यो सिस्टमको गुमनाम सहिद हुनु छैन। हुनु छैन मलाई डा. ओझा सिन्ड्रोमको सिकार।’
@KiranKrShrestha