हिजोअस्तिको काठमाडौं
बुंगमतीका काष्ठशिल्पी राजभाइ शाक्यले केही दिनअघि फोन गरे।
रातो मच्छिन्द्रनाथ जात्रा सकिएर करुणामय बुंगमती फर्केकोमा उनी प्रसन्न सुनिन्थे।
‘अनि नयाँ काम के तयार भयो त?’ मैले सोधेँ।
उनले खासै केही नभएको जवाफ दिए। कारण सोध्दा भने, 'यसपालि पानेजु पालो भिनाजुको थियो। उहाँलाई सहयोग गर्दा गर्दै काममा समय दिनै पाएको छैन।'
राजभाइका भिनाजु माणिकराज शाक्य रातो मच्छिन्द्रनाथका ३१ पुजारीमध्ये एक हुन्। रथमा देउता कुर्ने जिम्मेवारी उनलाई हरेक १६ वर्षमा आउँछ।
राजभाइसहित पुजारी पालो पर्नेलाई सहयोग गर्न आफन्त र कुटुम्बका सयौं परिवार हुन्छन्।
'एक्लैले गर्न सक्ने कुरै भएन,' राजभाइ थप्छन्।
'त्यसो भए काममा निकै डिस्टर्ब भयो होला?' मैले सोधेँ।
'हाम्रो काम भनेकै खेती-किसानी। आ-आफ्नो व्यावसायिक कलाकर्म त छँदैछ, सामाजिक चाडपर्वहरूमा एकअर्कालाई सहयोग पनि गर्नुपर्छ,' उनले मलाई सम्झाए, 'यो हाम्रो परम्परागत, पुर्खौली दायित्व हो। यसलाई काममा डिस्टर्ब भयो भनेर लिँदैनौं।'
राजभाइ एक प्रतिनिधि पात्र हुन्, काठमाडौं उपत्यकामा शताब्दियौंदेखि चलिआएको चाडपर्व र जात्रा निरन्तर कायम राख्न योगदान पुर्याउने। न उनलाई जात्राबाट प्रत्यक्ष फाइदा छ, न त आर्थिक लाभ।
उनी त माथि भनेझैं, यसलाई आफ्नो परम्परागत र पुर्खौली दायित्व मान्छन्।
उनीजस्तै सयौं, हजारौं उपत्यकाबासीकै कारण यहाँको परम्परा निरन्तर छ। यी जात्रा र जात्रा चलाउने पुजारी तथा गुठियारहरू कुनै दिन सरकारी कर्मचारी मातहत आए वा उनीहरूलाई खटनपटन गर्न सरकारी कर्मचारी नियुक्त भए, सामुदायिक सहयोग अन्यौलमा पर्नेछ। धर्म र परम्पराको डोरीले तानिएका र बाँधिएका राजभाइजस्ता हातहरू फुक्नेछन्। त्यसको दुरगामी प्रभाव भनेको जात्रा, चाडपर्व नासिँदै जानेछन्।
फोन राख्ने बेला मैले सोधेँ, 'कहाँ छौ नि अहिले?'
उनले जवाफ दिए, 'बुंग देउले।'
मैलै फेरि सोधेँ, 'त्यो भनेको कहाँ?'
राजभाइले हाँस्दै भने, 'दाइ पाटनकै नेवार भएकाले पक्कै बुझ्ला भनेर ‘बुंग देउले’ भनेको। आजकाल यो ठाउँलाई यो नामले बोलाउने कम भइसके।देउता बस्ने भएकाले ‘देउले’ भनेको हो। अचेल त 'बुंगमति मच्छिन्द्रबहाल’ भन्छन्।'
मलाई पनि बुंगमतिमा मच्छिन्द्रनाथ मन्दिर भएको बहाललाई ‘देउले’ भन्छ भन्ने थाहा थिएन। सोचेँ, ठाउँको नाम, पहिचान र 'ल्यान्डमार्क' भन्ने चिज गज्जबको हुने रहेछ, समय र बुझाइअनुसार परिवर्तन हुने।
फोन राखेपछि उपत्यकाका विभिन्न ठाउँका नामबारे सोच्न थालेँ। उही ठाउँका पुराना र नयाँ नामहरू दिमागमा घुम्न थाले।
काठमाडौंको सुन्धारा क्षेत्रलाई अलि अघिसम्म कसैले धरहरा भन्थे, कोही सुन्धारा नै भन्थे। जागिरेहरू टक्सार, सञ्चयकोष अड्डा भनेर चिन्थे, विदेशीहरू 'पोस्ट अफिस' भनेर। कुनै पनि भनाइ गलत थिएन। नयाँ बासिन्दा आफ्नो पायकअनुसार 'ल्यान्डमार्क' कहन्थे र बुझ्थे। स्थानीय भने यीमध्ये जे भने पनि आफ्नो दिमागी 'न्याभिगेटर' त्यसैअनुसार 'क्यलिब्रेट' गर्थे र बुझ्थे।
उ बेलाका ल्यान्डमार्कहरू सीमित थिए। मठ-मन्दिर, पाटी, धारा (हिति), पोखरी, चउर (ख्य:), बहाल, बही, ननीका अतिरिक्त ठूला सरकारी अड्डा, राणा-राजारजौटाका दरबार, स्कुल, सालिक आदि। यिनै नामबाट ठाउँ र टोलको नाम चल्थ्यो।
शासकको परिचय जोडिएका सडकका नाम प्राय: सडक किनारका बोर्डमा सीमित थिए। हाम्रो पालामा ती नामहरू नयाँ नामले पुनर्स्थापित भइसकेका थिए। जुद्ध सडकलाई नयाँ सडक हुँदै न्यूरोडले विस्थापित गर्यो, रामशाह पथलाई पुतलीसडकले। यस्ता थुप्रै उदाहरण छन्।
बरू उपत्यकाका नयाँ बस्तीको नाममा भने राणा दरबारहरू हाबी भए, धेरै त अझै छन्।
भवन, दरबार र त्यससँग जोडिएका नामको पनि नियति हुँदो हो। रविभवन, किरणभवन, हरिहरभवन, बबरमहल, केशरमहलका नाम हामी कायम रहेको पाउँछौं भने कुनै ताका प्रख्यात शान्ताभवन पूरै गुमनाम भइसक्यो।
पाटन अस्पताल शान्ताभवनमा रहँदा त्यो अस्पताल नै 'शान्ताभवन अस्पताल' भनेर चिनिन्थ्यो। पछि त्यो भवनमा ज्ञानोदय स्कुल बसेपछि त्यही स्कुलको नामले चिनियो। २०७२ को भुइँचालोपछि शान्ताभवन पाताल बन्यो र पार्टी प्यालेस खुल्यो। अहिले त्यो ठाउँ 'हेरिटेज गार्डेन पार्टी प्यालेस' बाट चिनिन्छ।
दरबारहरूमा सबैभन्दा प्रतापी सिंहदरबार नै थियो, अझै छ। लालदरबारको नाम कायम रहे पनि त्यसलाई त्यहीँ बनेको पाँचतारे होटल 'याक एन्ड यति' ले गुमनाम पारिसक्यो।
लालदरबार पश्चिमको सेतो दरबार त सन् १९९० ताकाको भीषण आगलागीले ध्वस्त भएपछि त्यसको नाम, शान सबै हरायो। अहिले पनि त्यो दरबारको गेट जमलबाट दरबारमार्गतर्फ आउँदा बायाँतिर देखिन्छ। दरबारको बचेको एउटा ‘सानो’ भागमा नेपाल औद्योगिक विकास निगमको भवन छ।
अहिलेको दरबारमार्ग पूरै सेतो दरबारले चर्चेको भूमिमा छ। हाम्रा नेपाली गुरू रामनाथ खनाल त्यस दरबारबारे बडो लोभलाग्दो तरिकाले बयान गर्नु हुन्थ्यो, 'त्यत्रो जमिनमा बनेको त्यत्रो दरबार! बेल्जियमबाट ल्याएका बडेमाका कलात्मक सिसाहरूले सुसज्जित दरबारको ठूलो बैठक यति राम्रो थियो, अरू राणाहरू समेत इर्ष्या गर्थे। हरेक कोठाबाट निस्कँदा हात्ती चढेर निस्कन मिल्ने गरी बनाइएको त्यो भवन कत्रो र कस्तो थियो होला!'
मैले थाहा पाउँदा प्राय: राणाहरूका दरबार, महल र भवन सरकारी स्वामित्वमा आउने गरी अधिकरण भइसकेको थियो। कुनै कुनै भएनन्, किन छाडिए थाहा छैन?
राणा दरबारहरू प्राय: सबै सार्वजनिक, सरकारी वा अधिकरण गरिएका जग्गामा सरकारी ढुकुटीबाटै बनेका थिए। ती जग्गा प्राय: सार्वजनिक गुठीबाट सरकारीकरण गरिँदै शासकका आफन्तको नाममा दाइजो, पेवाका रूपमा बक्स हुँदै निजीकरण भएका हुन्। अहिले सोच्दा ती सबै जग्गा किन अधिकरण भएन होला जस्तो लाग्छ। त्यस बेला सबै अधिकरण भएको भए कमसेकम काठमाडौंमा हरियाली त रहन्थ्यो!
जुन जुन राणाका जग्गा-जमिन अधिकरण भएनन्, कालान्तरमा प्राय: सबै बेचिए। काठमाडौंको हरियाली खोसियो। केशरमहल अधिकरणमा पर्यो, तर त्यसको केही भाग परिवारलाई छाडियो। सरकारी भागमा रहेको केशरमहलको हिस्सामा केशरशमशेरकै सपना र सोखबमोजिम पुस्तकालय, 'गार्डेन अफ ड्रिम्स' का रूपमा बगैंचा कायम छ। उनका छोरा-नातिका भागमा परेका जमिन टुक्रिएर घर, होटलहरूको झुरुप्प अखाडा बनेको छ।
सँगसँगै, भारतीय सेनाबाट निवृत्तहरू पेन्सन थाप्न ‘लाइन लाग्ने चउर’ बाट ‘लाइनचौर’ हुँदै ‘लैनचौर’ को नामबाट परिचित चउरमा दिउँसो राता घांगर लगाएका कन्या स्कुलका छात्रा र वर्तमान तथा निवर्तमान सेना-प्रमुख उत्पादन गर्ने शान्ति विद्यागृहका छात्रहरू छरपस्ट रमाएर खेल्थे। अब न त्यो चउर रह्यो, न त्यहाँ पेन्सन थप्न लाइन बसेको देखिन्छ, न त छात्रा-छात्र रमाएका।
कहाँ खेल्दा हुन् अचेल ती स्कुलका विद्यार्थी?
त्यससँगै स्काउट मैदान थियो। छ कक्षा पढ्दा त्यो मैदानमा आफूले पनि परेड खेलेकै हो, स्काउट नाच नाचेकै हो। त्यहाँ जम्मा भएर, एक राउन्ड परेड खेलेर, नारायणहिटी दरबार गई नाच-परेड देखाएको याद छ? अचेल त्यो स्काउट मैदान लापता भएको छ।
अस्ति भोज खान 'लैनचौर ब्याङ्क्वेट' पुगेँ। गाडी पार्क गर्दा पो, ओहो! यो त त्यही हामीले परेड खेलेको मैदान हो भन्ने अन्दाज लगाएँ। मन झसंग भयो।
कहाँ परेड खेल्दा हुन्, अचेलका स्काउटहरू?
पार्टी प्यालेसको भाडा र ट्राभलका गाडीको पार्किङबाट उठेको धन भएर त होला, अस्ति ओली सरकारलाई स्काउट पोसाकमा सजाएर ठूला पत्रिकाहरूमा महंगा 'ज्याकेट एड' छाप्ने बुद्धि पलाएको।
जुन प्रयोजनका लागि विभिन्न नाफारहित संघ-संस्थालाई जग्गा-जमिन उपलब्ध गराएको हो, त्यही प्रयोजनका लागि मात्र प्रयोग गरिएको भए काठमाडौंमा हरित क्षेत्र धेरै बच्थे।
त्यस्ता केही ठाउँका सम्झना म यहाँ बाँड्न चाहन्छु।
अस्तिसम्मको कुरा हो। गोदावरीबाट रिङरोड छिर्ने विन्दुमा एउटा स्कुल थियो। राम्रो खेल मैदान भएको त्यो स्कुल आकर्षक लाग्थ्यो। बोर्डमा लेखिएको थियो– महेन्द्र आदर्श विद्याश्रम। त्यो स्कुल निजी थिएन। सातदोबाटोका सातमध्ये एक दोबाटोको ल्यान्डमार्क थियो, त्यो स्कुल। अहिले त्यो ल्यान्डमार्क अर्कै नामले विस्थापित भएको छ।
बालबालिका खेल्ने त्यो आकर्षक मैदानमा व्यावसायिक कम्प्लेक्स ठडिएको छ। त्यो ठाउँ अहिले महेन्द्र आदर्श विद्याश्रमका नामबाट होइन, 'सेल्सबेरी' नामक स्टोरको नामले चिनिन्छ। व्यापारीले २५-३० वर्ष जग्गा भाडामा लिएर त्यो भवन बनाएका होलान्। त्यस भवनले स्कुलका केही सञ्चालक, मास्टर र केही साहुजीहरूलाई त लाभ पुर्यायो होला, तर त्यहाँ अध्ययन गर्ने बालबालिकाको खेल्ने, कुद्ने हक सदाका लागि हरिदियो।
सातदोबाटोबाट अलि पूर्व खुमलटार लाग्दा कृषि अनुसन्धानका केही संरचना, फाँट र टाढाबाट देखिने गगनचुम्बी रेडियो टावर थिए। त्यही टावरको प्रांगणमा अहिले मोटर ग्यारेज बनेछ। अब छिट्टै त्यो ठाउँ वरिपरिको दिशा बताउनुपरे, रेडियो टावरको अघि वा पछि होइन, निशानको ग्यारेजसँगै भन्ने चलन सुरू हुन्छ। अर्को ल्यान्डमार्कको हत्या।
मठ-मन्दिरका नाममा टोल नै हुन्थे। त्यस्तै एउटा टोल छ भाटभटेनी।
भाटभटेनी मन्दिर सेरोफेरोको इलाका यो नामले चिनिन्छ। सन् १९८४ तिर त्यो टोलमा एउटा पसल खुल्यो, नाम थियो भाटभटेनी कोल्ड स्टोर।
एक सटरको त्यो पसल ठूलो हुँदै निकै विस्तार भयो। अहिले भाटभटेनी सुपरमार्केटको नाममा यसका शाखाहरू काठमाडौंका अनेक स्थान हुँदै नेपालकै प्रमुख सहरहरूमा विस्तार भइसक्यो।
यी सब त राम्रै हो, तर यसले त्यो भाटभटेनी शब्दलाई अत्यधिक प्रचार गर्दै त्यो ठाउँको परिचय भने ओझेलमा पार्यो। आजकाल भाटभटेनी मन्दिर र त्यो टोलबाट त्यो पसलको नाम रहेको याद हुनै छाड्यो। कसैले भाटभटेनी जाउँ भन्यो भने, कहाँ को? भनेर सोध्नु साधारण भइसक्यो- पुल्चोकको भाटभटेनी, महाराजगन्जको भाटभटेनी, पोखराको, धरानको वा कहाँको?
सरकारी वा सामुदायिक जमिनमा गैरसान्दर्भिक संरचना ठडिँदा दु:ख लाग्छ नै, तर स्कुल, कलेजका जमिन दुरुपयोग भएको देख्दा बढी दिक्क लाग्छ।
त्रिभुवन विश्वविद्यालय मातहत त्रिपुरेश्वर चोकको जमिनमा नमूना अध्ययन केन्द्र बनाएको भए कसको के जान्थ्यो? केही राजनीतिक नेतालाई फकाइफुलाई, लोभ्याई एक निजी ठेकेदारले जमिन भाडामा हत्याएर बडेमाको बिल्डिङ बनायो, र नाम दियो 'वर्ल्ड ट्रेड सेन्टर'।
त्यो सेन्टर न त नामबमोजिमको ‘वर्ल्ड क्लास सेन्टर’ नै बन्यो, न जग्गाधनी विश्वविद्यालयको उद्देश्यबमोजिम।
यसले त्रिभुवन विश्वविद्यालयको कुन उद्देश्यलाई कुन हदसम्म सेवा पुर्यायो कुन्नी? बनाउन दिने र बनाउनेले क-कसको आशिर्वाद पाए कुन्नी? तर, मजस्ता थुप्रै काठमाडौंबासीको सराप भने पाए होलान्।
त्यो ठाउँमा सडक सतहभन्दा मुन्तिर टायलले छाएको रातो घरमा उपकुलपतिको अड्डा थियो। अझै सम्झनामा छ। त्यो ठाउँमा बरू कुनै अध्ययन केन्द्र वा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई सेवा र सहुलियत दिने सहरी सम्पर्क केन्द्र बनेको भए, केही परे अपायक कीर्तिपुरतिर धाउनुपर्ने बाध्यता त रहँदैन थियो।
हाम्रो समाजमा स्कुल र कलेजले सहरको महत्वपूर्ण स्थानमा जग्गा-जमिन पाउनुको अर्थ विद्यार्थीहरूलाई सहुलियत होस् भनेरै हो। नत्र सहरको बीचमा दरबार स्कुल, पद्मोदय, त्रिचन्द्र, जुद्धोदय आदि किन खोल्नुपरेको थियो।
जुद्धोदयकै कुरा गर्दा, कुनै ताका काठमाडौंकै प्रख्यात यो ‘जेपी स्कुल’ को हाल हेर्नुस्। अगाडिको ठूलो चउरमा अहिले ठूलो कम्प्लेक्स बनिसक्यो।ठमेलको व्यापार स्वार्थ किन त्यहाँ छिर्नुपरेको होला?
ल भैगो, यी सबै संस्थामा उपयुक्त दुरदर्शी नेतृत्व छैनन् होला, तर कमसेकम खाली नै छाडेका भए हाललाई हरित क्षेत्र र पछि संस्थाको उद्देश्यअनुरुप विस्तार गर्ने सम्भावना त जीवित रहन्थ्यो।
यति भनिरहँदा मलाई एउटा नियमको सम्झना आयो- शैक्षिक संस्थाको निश्चित परिधिमा मदिरा तथा सुर्तीजन्य पदार्थ बेचबिखन गर्न नपाइने।
यो नियम शैक्षिक संस्थाकै स्वामित्वमा रहेको जमिनमा बनेका संरचनामा लागू होला कि नहोला? जेपी स्कुलमा खुल्ने बारहरूमा, वर्ल्ड ट्रेड सेन्टरमा खुलेका रेस्टुरेन्ट, बार र लाउन्जहरूमा ...?
श्रवण मुकरुङको 'जाडो' शीर्षकको कविताको एउटा हरफ याद आयो:
उहिले त दाउरा बाल्थे रे ताप्न
बाल्थे रे पानी र हावा
हामीले बाल्यौं टायर, भत्केका मिनीबसका
के बाल्लान् भोलिका नानीहरू ...
यसरी सबै सार्वजनिक गुठी, विद्यालय, कलेज, विश्वविद्यालयका सामुदायिक जमिनमा व्यापारिक कम्प्लेक्स बन्ने होड रहेको अहिलेको अवस्थामा कविले त्यो कविता रचेका भए उनले एउटा यस्तो पंक्ति थप्ने थिए होलान्:
कहाँ खेल्लान् भोलिका नानीहरू ...
पहिले कुनै स्वार्थ समूहले दाउपेच, लोभ, डर, राजनीतिक प्रभाव देखाएर सामुदायिक सम्पत्तिहरू आफू मातहत ल्याउँथे। अब त उच्च राजनीतिक शक्तिले सरकारी स्तरबाटै गुठी तथा सार्वजनिक संस्थाका नामका जग्गामा गिद्धे दृष्टि लाएको देख्दा दिक्क लाग्छ।
जे भयो भइसक्यो। त्यो कसरी सच्याउने भन्ने अर्को विषय हो। जे बचाउन सकिन्छ, पहिले त्यता लाग्न सकिन्छ। स्वामित्व भएका संस्थाको प्रयोजन मिल्ने गरी मात्र जमिन प्रयोग गर्न र संरचना निर्माण गर्न सकिने प्रावधान लागू गर्न सके, अझै कायम रहेका थुप्रै जमिन बच्न सक्छ।
जनताको साथ पाएर जनताका प्रतिनिधि भई सत्तामा विराजमान नेतृत्व यो कुरा नबुझेर किन जनताको मर्मविपरीत स्वार्थ समूह पोस्न तल्लीन भएका?
यो प्रश्न मनमा अनुत्तरित छ। यही मनस्थितिमा मैले एउटा ट्विट गरेँ- 'गुठीको नजिकको अंग्रेजी अनुवाद ‘ट्रस्ट’ हुन्छ र गुठियार भनेको ‘ट्रस्टी’। हालको सरकारी गिद्धे दृष्टि र नियतबाट सरकारप्रति ‘ट्रस्ट’ मा शंका प्रकट भएको छ। प्रिय सरकार, हाम्रा गुठीहरूका कारण यो देशको पहिचान बोकेका सांस्कृतिक क्रियाकलाप सुचारू छन्। नयाँ गर्न सक्दैनौ भैगो, पुरानालाई नछोऊ।'
जनताले स्थायित्व चाहेर बहुमत दिएको राजनीतिक पार्टी र सरकारले त्यो ‘ट्रस्ट’ गुमाउने काम नगरोस्, नगुमोस्। मेरो कामना त्यही छ।
पुस्तौं पुस्तादेखि अग्रजले नया पिँढीलाई हस्तान्तरण गर्दै आएका कला, संस्कृति नै हाम्रो पहिचान भएर विकास भएको हुन्छ। यी कला, संस्कृतिको हत्या गरी व्यक्तिगत फाइदाका लागि म्युजियमको चार पर्खाल र इतिहासको पानामा सीमित गर्न प्रयासरत् व्यक्ति, सञ्जाल पहिले पनि थिए, अहिले पनि छन्।
म्युजियमभित्र पुगेका मूर्ति र इतिहासका पानामा अटाएका रीति मृतसरह हुन्। त्यसैले त, कला, संस्कृति खुला रूपमा विचरण गर्दै अनुभव गर्ने वातावरण भएका ठाउँहरूलाई ‘लिभिङ म्युजियम’ भनेको।
‘लिभिङ म्युजियम’ - जसले यो शब्द बुन्यो, उसले सही भन्यो, चार पर्खालभित्रको म्युजियम भनेको ‘डेड’ नै हो।
जसले हाम्रा स्वतन्त्र ‘लिभिङ’ कला र संस्कृतिको हत्या गरेर म्युजियममा पुर्याउने दुस्साहस गरेको छ, उसको विनाश भएको छ। इतिहास साक्षी छ, पढे हुन्छ। व्यक्ति, परिवार, वंशनाश भएको छ।
काठमाडौंको सयौं वर्ष पुरानो सजीव संस्कृतिले धेरै व्यक्ति, परिवार, वंश, सत्ता नामेट भएको देखेको छ, भोगेको छ। जसको मतिभ्रष्ट हुन्छ र यो दुष्प्रयास गर्छ, उसको गति कस्तो हुन्छ, इतिहासका पत्रमा खोजे हुन्छ।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्:
नर्वेका युवराजको चिना बनाउने नेपाली ज्योतिष
स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
राणाहरूको दरबारजस्तै मेरो पुर्खौली घर