हिजोअस्तिको काठमाडौं
पैतृक वंश तालिकाअनुसार पन्ध्र पुस्ताभन्दा अघिदेखि हामी पाटनको रैथाने।
पाटन दरबारनजिक घर भएकाले हाम्रो पुस्ता तत्कालीन शासक मल्ल खलकसँग सम्बन्धित रहेको अनुमान पनि छ, प्रमाण भने छैन।
मावलीको वंश तालिकाबाट भने पन्ध्र पुस्ताभन्दा अघिदेखि नै मेरो मावली खलक ग्वल: वैद्य। ग्वल: भनेको हालको पशुपति अथवा देवपाटन इलाकाको जयबागेश्वरी चोक।
करिब पन्ध्र पुस्ताअघि मेलम वैद्यका दुई भाइ छोरा थिए। तीमध्ये एक जना काठमाडौंको नेत:, यानिकी नरदेवी सरेर 'कविराज' भए। अर्का भाइ ग्वल:मै बसे।
भण्डारखाल पर्वपछि ग्वल:का वैद्यको कुशल उपचार सेवाबाट प्रभावित भएर त्यस बेलाका शासक खलकले थप केही वैद्य परिवारलाई नरदेवीतिर लगेको इतिहास छ।
दुवै खलकले बीचको नाम ‘नन्द’ भने कायम राखे।
नरदेवी वरिपरिका कविराजहरू राजाका वैद्य पनि भए। कोही कोही आफूलाई राजवैद्य पनि लेख्छन्। देशको ठूलो आयुर्वेदिक अस्पताल नरदेवीमै स्थापित हुनुले त्यो टोलमा वैद्यहरूको अस्तित्व अनुमान गर्न सकिन्छ।
ग्वल:मै रहेका वैद्य खलक भने पशुपति घाटनजिकै भएकाले कालान्तरमा 'घाटे वैद्य' भनिए। उपचारका साथै ग्वल: वैद्यहरू नाडी छामेर मृत्यु घडी अड्कल गर्न सक्ने भनेर पनि प्रख्यात छन्।
उ बेला अस्पतालको कुरै थिएन। घरभन्दा घाटमा गएर ब्रह्मनालमा लीन भई प्राण त्यागे स्वर्ग पुगिन्छ भन्ने विश्वास थियो।
घाटको पाटीमा अन्तिम घडी पर्खिरहेका ‘बिरामी’ लाई घाटे वैद्यले नाडी छामेको भरमा ‘अब बेला भयो’ भनेपछि बागमतीछेउ ब्रह्मनालमा सारिन्थ्यो। त्यहीँ केही समयमा मान्छेको आत्माले देह त्याग्थ्यो। एक छिनअघिसम्म सबैले सुम्सुम्याएको शरीर लाश बन्थ्यो।
ब्रह्मनालमा सारिएको बिरामीले कति छिटो मृत्युवरण गर्यो भन्नेमा घाटे वैद्यको ख्याति जोडिन्थ्यो।
जनतालाई त नाडी छामेर मृत्यु घडी अड्कल गरिन्थ्यो, राजखलकलाई भने रैतीले छुन नहुने। यस्तोमा वैद्यहरू बिरामीको नाडीमा धागो बान्न लगाउँथे रे। आफू कोठाबाहिर बसेर त्यही धागोमा नाडीको चाल सुन्दै उपचार गर्थे वा मृत्यु घडी अड्कल्थे रे।
भनेको मिले काम गरेको जस, नमिले सजाय!
वैद्यबाहरू कति आतंकित मन लिएर धागो कानमा थाप्दा हुन्!
घाटे वैद्यको परम्परा र चलन लगभग विस्थापित भइसक्यो। पशुपतिमा यो परम्परा थेगेर राखेका एक जना मात्र छन्– सुवर्ण वैद्य।
उनले पशुपति घाटलाई नै आफ्नो कर्मथलो बनाएका छन्। पहिले पाटीमा सुत्ने बिरामी अहिले ‘हस्पिस’ जस्तो कोठामा वैद्य मातहतका नर्स, सलाइन, अक्सिजन सबै सहुलियतसहित मृत्यु कुर्छन्।
सुवर्ण वैद्यले पुर्खौली पेसालाई निरन्तरता दिए, तर मैले ‘बिरामी’ को परिवार भएर उनको संगत गरेको छैन। त्यसैले, उनको ख्याति म कहन सक्दिनँ।
उनका पिताको ख्याति भने अघिल्लो पुस्तामा व्यापक थियो, जसको साक्षी म पनि हुँ। एकपटक होइन, दुई-तीनपटक।
भरतानन्द वैद्य मेरा मावल बाजे खट्कुलानन्द वैद्यका भाइखलक हुन्। अर्थात्, मेरी आमाका काका खलक। आमा उहाँलाई 'भरत बा' भन्नुहुन्थ्यो। म पनि त्यही नामले बोलाउँथेँ। भरत बाको संगतमा आउँदा उहाँ वृद्ध भइसक्नुभएको थियो। उमेर अड्कल गर्न सक्दिनँ।
२०४४ सालताका घरमा दिदीको विवाहको लगन जुर्यो। मेरो बुबा त्यसअघि नै पाटनबाट काठमाडौंको ताहाचल सरिसक्नुभएको थियो। हामी त्यहीँ बस्थ्यौं।
त्यही बेला पाटनबाट हाम्रा कान्छा हजुरबा बिरामी परेको खबर आयो। उहाँ उमेरले ९० नाघिसक्नुभएको थियो। विवाहको साइतसम्म के होला भनेर अन्योल पर्यो। आमाले भरत बाको नाम लिनुभयो। बा र म देवपाटन पुगेर उहाँलाई टिप्यौं र लाग्यौं, पाटन।
'घाटे वैद्य' भनेर लैजान अप्ठ्यारो थियो। बाले 'एक जना जान्ने वैद्य छन्, म लिएर देखाउन ल्याउँछु' भनेर कुरा मिलाउनुभएको थियो।
हामी पाटन पुग्यौं। भीमसेन स्थानअगाडि मंगहिति र आदर्श कन्या स्कुलछेउ बजाँ पसः (तमाखु पसल) थियो। हामीले त्यहीँ आफ्नो गाडी रोक्यौं।
त्यो मेरो कान्छा बाजेको पसल थियो। उहाँ हुक्कामा राखेर सल्काउने बजाँ (तमाखु) बनाएर बेच्नु हुन्थ्यो। पाटनभरि त्यो बजाँ पसः र त्यसका मालिक माधव साहु परिचित नाम थिए।
हामी सानो छँदा कान्छा बाजे र उहाँका नाति भरत दाइ सुर्ती र पराल सानो-सानो टुक्रा पारी सख्खरमा साँधेर तमाखु बनाउन व्यस्त भएको देख्थ्यौं। त्यही पसलछेउको गल्लीबाट हाम्रा बाको पुर्खौली घर हिंडेर जाने गल्लीबाटो थियो।
त्यस दिन बजाँ पसः मा भरत दाइ थिए। साधारण कुराकानीपछि मेरा बा भर्याङ चढेर माथि उक्लिनुभयो।
भरत बा उहाँको पछि लाग्नुभयो, म दुवैको पछि।
एक तलामाथि कान्छा बाजे ओछ्यानमा हुनुहुन्थ्यो, बेहोस। उहाँको शिरमाथि झ्यालबाहिर भीमसेनस्थान देखिन्थ्यो। अझ नियालेर हेर्दा भीमसेनको मूर्ति नै देखिन्थ्यो। घर-पसलबाटै भीमसेन देखिने भएकाले उहाँलाई व्यापार फापेको भन्ने चर्चा थियो। सबै भन्थे, 'माधव साहू या भिन्द्य बल्ला।'
अर्थात्, माधव साहुको भीमसेन देउता बलियो छ।
काठमाडौं उपत्यकाका व्यापारीले भीमसेनलाई व्यापारको 'इस्ट देउता' मान्थे। यो चलन अहिले पनि छँदैछ। हरेक पसलमा भीमसेनको फोटो हुन्थ्यो। पसल खोल्नुअघि नित्य भीमसेन पूजा गरिन्थ्यो। नाफाबिना व्यापार गरे भीमसेन देउता रिसाउँछ भनिन्थ्यो। साथीभाइ, आफन्तका पसलमा सामान किन्दा 'भिन्द्यको भाग मात्र राखेर दिएको छु, नाफा जोडेको छैन' भन्थे।
हरेक पसलमा लाखेजस्तो रातो पहिरन लगाएका भीमसेन देउताको तस्बिरको मुखैमा पर्ने गरी पेडा खुवाइएको देखिन्थ्यो। अचेल त्यति देखिन्न।
अचेल त जताततै लक्ष्मी र गणेशका तस्बिर र मूर्ति देखिन्छन्। काठमाडौंको व्यापारमा कहिलेदेखि भिन्द्यमाथि लक्ष्मी हाबी भइन्, थाहै भएन। सायद, भिन्द्यमाथि लक्ष्मी हाबी हुनु काठमाडौंको व्यापार वृतमा नेवारमाथि मारवाडी हाबी भएको संकेत हो।
अचेल पुराना पसलमा कतै कतै भिन्द्य विराजमान छन्, नयाँ सबैमा ओझेल परिसके।
हामीले देवपाटनबाट लगेको 'घाटे वैद्य' भरत बाले कान्छा बाजेलाई पहिले अवलोकन गर्नुभयो, अनि जाँच्नुभयो। सबभन्दा पहिले नाडी छाम्नुभयो। एउटा सिन्का मागेर पैतालामा कोतर्नुभयो। त्यसपछि घडी हेरेर सासको चाल गन्नुभयो।
अहिले बुझ्दा, उहाँ नाडी छामेर मुटुको चाल नाप्नु हुन्थ्यो। पैताला कोतरेर दिमाग कति सचेत छ भाँप्नु हुन्थ्यो। र, सास गनेर फोक्सोको अवस्था जाँच्नु हुन्थ्यो।
भरत बाले यति परीक्षण गरेपछि हामी त्यहाँबाट हिँड्यौं। बाटोमा उहाँले सोध्नुभयो, 'बिहे कहिले हो?'
बाले भन्नुभयो, '१५ दिनमा।'
उहाँले निर्धक्क भन्नुभयो, 'एक महिना केही हुँदैन, अघि बढे हुन्छ।'
त्यसपछि दिदीको विवाहको तयारी सुरू भयो, बिनाअड्चन सम्पन्न पनि भयो।
तै भवितव्य परिहाले के गर्ने भनेर घरमा सल्लाह भएको थियो। निचोड के रह्यो भने, 'नानिमुखी' श्राद्ध (घरमा कुनै ठूलो शुभकार्य हुनुअघि पितृसँग स्वीकृति लिने र निमन्त्रणा दिने रीति) गर्नुअघि नै केही भए विवाह रोकिने भयो, त्यसपछि चाहिँ नरोक्ने।
केही भइहाले कन्यादान गर्नेलाई जूठो पर्ने हुनाले देवपाटनका मामाबाट कन्यादान गराउन तम्तयार राखियो।
भाग्यवश त्यो अवस्था आएन।
पाटनका घरमुली हाम्रा जेठा बाले नै दिदीको कन्यादान गर्नुभयो।
जेठा बासमेत हाम्रा बाका छ दाजुभाइ, चार दिदीबहिनी। सबभन्दा जेठी फुपू पोहोर ९६ वर्ष उमेरमा बित्नुभयो। सबभन्दा कान्छा काका ७६ वर्षका हट्टाकट्टा हुनुहुन्छ। मेरा बा काइँला। उहाँमाथि तीन दाइ र तीन दिदी, मुनि दुई भाइ र एक बहिनी।
मेरो हजुरबा गणेशलाल श्रेष्ठलाई त्यो बेलाका पाटनेहरू पूरा नामभन्दा 'गणेश साहु' भनेर बोलाउँथे। त्यही नामले चिन्थे पनि।
उहाँ जीवनभर तिब्बत आउजाउ गर्नुभयो– ऊन, नुन र सुन व्यापार गर्न।
सामान बेच्न भारत जाँदा आफू अंग्रेजी पढेलेखेको नहुँदा केही ठाउँमा अपहेलित महशुस भएर होला, उहाँले आफ्ना सबै छोराहरूलाई पढाउने विचार गर्नुभयो।
राणाकालमा रैतीका छोरालाई पढाउन सजिलो थिएन। जेठा, माइला, साइँला र काइँलासम्म कलकत्ता पुगे, शान्ति निकेतनको विद्यार्थी बने।
उमेर बढ्दै गएपछि तिब्बत-भारत चक्कर काट्न गाह्रो परेर होला, उहाँ उद्योग खोल्ने धुनमा लाग्नुभयो। विराटनगरको मिल्स एरियामा ठूलो राइस मिल खोल्नुभयो।
यसबीच आफ्नो पुर्खोली थलो पाटनको तुम्बहालमा राणाको दरबारजत्तिकै देखिने पाँचतल्ले घर बनाउनुभयो। त्यो घर बनाउँदा राणाहरू समेत घोडा चढेर हेर्न आउँथे भनेर मेरा बा सम्झनुहुन्छ।
'मूल सडकबाट भित्र परेकाले मात्र त्यत्रो घर बनाउन दिएका हुन्, नत्र दिने थिएनन्,' बा भन्नुहुन्छ।
त्यो घरको विशेषता के भने, त्यहाँ निजी गेटभित्र रूखहरू रोपिएको कम्पाउन्ड थियो। गेट साँघुरो थियो। किन साँघुरो बनाएको होला भनेर सोध्दा काकाले भन्नुभएको मलाई याद छ, 'त्यस बेला बाजेको निजी रिक्सा थियो, कलकत्ताको जस्तो मान्छेले तान्ने रिक्सा। यो गेट त्यही रिक्सा छिर्ने गरी बनाएको हो।'
'यो गेट सानो होइन, त्यो बेलाका लागि ठूलो हो,' उहाँ भन्नुहुन्थ्यो, 'सम्भवत: पाटनमै निजी गेट भएको पहिलो रैतीको घर यही हो।'
स्वठ: नारायणको बाटोबाट भित्र लागेपछि गजेन्द्रमोक्ष नारायण मन्दिरको उत्तर-पश्चिमतिर हजुरबा गणेशलाल श्रेष्ठको त्यो धरोहर घर अंशबन्डामा छ भाग लाग्यो। २०७२ को भुइँचालोले क्षति पुगेको छ। दाजुभाइबीच राम्ररी समन्वय हुन नसक्दा दिनानुदिन जीर्ण हुँदै छ।
म त्यो घरमा हुर्किनँ, तै त्यो घरको अवस्था देख्दा मेरो मन कटक्क खान्छ। त्यही घरमा हुर्केका गणेशलालका छोरा-नातिहरूलाई झन् बढी माया लाग्नुपर्ने हो।
हाम्रो त्यो पुर्खौली थलो पैसा नभएर पुनर्निर्माण हुन नसकेको होइन। दाजुभाइबीच समन्वय नभएर हो। घर-घरको कथा!
म पुर्खौली घरमा बस्दै नबसेको भने होइन। जिन्दगीका तीन महिनाजति मैले त्यहाँ बिताएको छु, एसएलसी परीक्षा दिने बेला।
मेरा महिला बाका छोराछोरी अध्यापन पेसामा लागेर पाटनमा एसएलसी तयारी कोचिङ चलाउँथे। मैले सेन्ट जेभियर्स स्कुल पढेकाले परीक्षा केन्द्र पनि ललितपुरै भयो। त्यसैले, स्कुलको पढाइ सकेपछि पाटनमै बसेर पढ्ने र त्यहीँबाट जाँच दिने सल्लाह भयो।
त्यसैताका दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्केको थियो। कलिम्पोङको डाक्टर ग्राम्स होम्समा पढिरहेका मेरो दाइ पनि एसएलसी दिन यतै आउने कुरा भयो। एक वर्षभित्र कोर्स भ्याएर जाँच दिने व्यवस्था मिलाउने जिम्मा माइला बाका माइला छोरा मदन दाइले लिए।
उनी गणितका कुशल शिक्षक हुन्। उनले नै मलाई पाटनमै बसेर जाँचको तयारी गर्ने सल्लाह दिएका थिए। त्यही सल्लाहबमोजिम हामी दाजुभाइ पाटन घरमा बस्यौं।
त्यो बसाइ क्रममा पुर्खौली घरमा बस्ने आफन्त र वरिपरिका नातागोता खलकसँग नजिकिने मौका पाएँ। त्यसरी नजिकिनेमा हाम्री जेठी आमा हुनुहुन्थ्यो। पछि उहाँ बिरामी पर्दा वीर अस्पताल भर्ना हुनुभएको थियो। निको नहुने क्यान्सरले ग्रस्त।
परिवारमा उहाँलाई घाटमा सार्ने सल्लाह भयो। मेरै आमाको सक्रियतामा भरत बा आउनुभयो। उहाँले पनि 'अन्तिम समय हो' भनेपछि जेठी आमालाई घाट लाने कुरा अघि बढ्यो। यसमा अघिल्लो र पछिल्लो पुस्ताबीच मत बाझियो। बुबा पुस्ता घाट लगौं भन्ने, हाम्रो पुस्ता अस्पतालमै कोशिस गरौं भन्ने।
पछि हाम्रो सहमति भयो। बुबा पुस्तासँग अडान राख्ने हाम्रो औकात थिएन। हामीले घाट लाने भए पनि सलाइन, अक्सिजन निरन्तर दिएर कोशिस जारी राख्ने सुझाव दियौं। यसमा बा पुस्ता र भरत बा राजी भएपछि जेठी आमालाई लिएर घाट पुग्यौं।
हामीले बागमती किनारको पाटीमा जेठी आमालाई राखेका थियौं। भरत बा बिहान र साँझ आउनुहुन्थ्यो। कुर्नुबाहेक काम थिएन।
करिब एक साता बस्यौं। यसरी कति दिन कुर्ने? घर लगौं भन्ने तर्क पनि आए। तर, घाट ल्याएपछि फर्काउँदा सिन्दुरे जात्रासहित लानुपर्ने परम्पराको कुरा आयो। घाटबाट फर्कनु भनेको मृत्यु जितेर फर्कनु हो भन्ने मान्यता थियो।
यसबीच बिहान र साँझ मात्र आउने भरत बा दिउँसो पनि आउन थाल्नुभयो।
मैल सोधेँ, ‘भरत बा त आज दिउँसो पनि आउनुभएछ।'
उहाँसँग केही बेर कुरा भयो।
'हाम्रो विद्या पूर्ण रूपमा प्राकृतिक हो,' उहाँले भन्नुभयो, 'अहिलेको औषधि प्रणालीले हाम्रो उपचार र अड्कल गर्न सक्ने क्षमतामा बाधा पुर्याउँछ। कृत्रिम अक्सिजनले मृत्यु धकेल्छ। यो प्रविधि राम्रो हो, तर प्रविधिले हाम्रो विद्यालाई गाह्रो पार्छ।'
उपचार विधि वैज्ञानिक हुँदै गएपछि पुरानो विद्या विस्थापित हुन्छ भन्ने उहाँको आकलन थियो। भन्नुहुन्थ्यो, 'मेरो पुस्तापछि यो विद्या निरन्तर हुन्छ भन्नेमा मलाई विश्वास छैन।'
त्यसैको भोलिपल्ट भरत बा दिनमा चारपटक आउनुभयो। साँझ जाने बेला भन्नुभयो, ‘सबैलाई खबर छ नि होइन? नजिकका सबै आज यतै बसे बेस।’
हामी सचेत भयौं।
त्यो रात भरत बा अबेरसम्म घाटमै रहनुभयो। भोलिपल्ट बिहानै आउनुभयो।
‘सबैलाई खबर छ नि हैन’ भनेर फेरि सोध्नुभयो र सबैलाई खाना खान सुझाउनुभयो।
त्यसपछि उहाँ जेठी आमा पल्टेको ठाउँमा बस्नुभयो। छिनछिनमा नाडी छाम्नुहुन्थ्यो। उहाँमा एक किसिमको सकस र तनाव देखिन्थ्यो। उहाँको भात खाने समय भयो, तर जानुभएन।
एकछिनमा सबैलाई बोलाउनुभयो र भन्नुभयो, ‘ल अब भयो, लगौं।’
हामीले जेठी आमालाई बोकेर ब्रह्मनालमा सुतायौं।
भरत बाले छोरालाई 'पानी खुवाऊ' भन्नुभयो। छोराले पानी खुवाएलगत्तै एकछिन अघिसम्म शिथिल र बेहोस जेठी आमाले खुट्टा तन्काउनुभयो। आँखा खोल्नुभयो। खाने मुख तन्काउनुभयो। र, जानुभयो।
यो २०४५ सालको घटना हो- मेरो आँखै अगाडि प्राणले देह त्यागेको क्षण।
त्यसपछि शव सदगत गर्ने कामकाज सुरू भयो। र, योसँगै हाम्रो एक साता लामो बागमती किनारको बास पनि सक्कियो।
सबै सक्किँदा साँझ परिसकेको थियो। हामीले बागमतीमा डुबुल्की मारेर स्नान गर्यौं र घर फर्कियौं।
त्यही बागमतीको पानीले मैले कयौंपटक हातगोडा धोएको छु। मुख कुल्ला गरेको छु। गुह्येश्वरी किनार, शंखमूल र चोभार गणेश किनारका घाटहरूमा।
२०४६ पछि काठमाडौं आएकाहरूका लागि यो दन्तेकथाझैं लाग्ला।
हुन त भनाइ नै छ- त्यसपछि बागमतीमा धेरै पानी बगिसक्यो।
गलत – बागमतीमा त्यसपछि पानी बगेकै छैन। बगेको छ त ढल मात्र।
मेरो यो काठमाडौं संस्मरण श्रृंखला बागमतीमा साँच्चिकै पानी बग्दाको हो। प्राचीनकालको होइन, मध्यकालको पनि होइन, न त सय वर्ष पुरानो आधुनिककालकै। यो हिजोअस्तिकै काठमाडौंको कथा हो- म जन्मेको, म हुर्केको मेरो काठमाडौंको कथा।
त्यो बेलाको कथा त्यसले मात्र लेख्न सक्छ, जसले बागमतीको पानी मुखमा राखेको छ, त्यसमा डुबुल्की मारेको छ।
मेरो संस्मरण, मैले देखे-भोगेका घटनाक्रमसँगै मैले सुनेका कुराहरू परम्परागत श्रुति परम्परामा आधारित पनि छन्। मेरा बा, आमा, काका, मामाहरूले सुनाएका। त्यसैले, मेरो भनाइलाई ऐतिहासिक वा समाजशास्त्रीय आधिकारिक शोध वा दस्तावेजका रूपमा नलिनुहोला।
मेरो विचारमा श्रुति परम्पराबाट सुनेका कुरा भनेका हाम्रा सम्बन्धजस्ता हुन्। हामीलाई भनिएको र सुनाइएको नाता-सम्बन्धजस्तै। इतिहास वा समाजशास्त्रका विद्यार्थीले गर्ने शोध र लेख्ने दस्तावेज भनेका त्यही सम्बन्ध यकिन गर्न गरिने 'डिएनए टेस्ट'।
भाग्यवश, मैले अहिलेसम्म मलाई बताइएका सम्बन्धको 'डिएनए टेस्ट' गरेर प्रमाणित गर्नु परेको छैन। बताइएअनुसारको सम्बन्ध विश्वासका साथ स्वीकारेको छु। त्यही मर्मअनुसार मेरा अग्रज पुस्ताले सुनाएका घटनाका आधारमा मेरो आफ्नो देखाइ र भोगाइ मिसाएर मपछिका पुस्ताका लागि सुने-जानेका कुरा हस्तान्तरण गर्दैछु, यो श्रृंखलामार्फत्।
कुनै किस्सा पत्यार नलागे, श्रुति परम्परामा आधारित आख्यान ठानेर पढिदिनुहोला।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)