दुर्घटना जानकारी दिएर आउँदैन। यो अचानक हुन्छ र कहिले काँही त यसले ठूलै रूप लिन्छ।
दुर्घटनाका कारणहरू धेरै हुन सक्छन्। कहिले आफ्नै गल्तीले हुन्छ भने कहिले अरूको गल्तीले पनि आफू दुर्घटनामा पर्न सकिन्छ।
काठमाडौंको सडकमा मोटरसाइकल चालकहरुले हेल्मेटमा क्यामरा राखेको त देख्नु भएकै होला तर कारमा क्यामरा जडान गरेको देख्नु भएको छ?
यूट्यूवमा दुर्घटनाको भिडियो हेर्नुभएको छ भने यस्तो क्यामराको भिडियो अवश्य देख्नुभएको होला। यसले विशेषत दुर्घटनाको दृष्य कैद गर्छ र परेको खण्डमा प्रमाणको समेत काम गर्छ।
हिजोआज नेपालमा पनि यसको प्रयोग बढ्दै गइरहेको छ। स्काइ ब्राण्ड नेपालले हालै यस्तो ड्यास क्यामरा नेपाल भित्राएको हो।
चीनमा निर्मित यो ड्यास क्यामराको ब्राण्ड डेप्लपिङ भने क्यानडाबाट भएको हो। स्काई ब्राण्डले यो क्यामरा नेपालमै पहिलो पटक ल्याएको स्काई ब्राण्डका एक्जुकेटिभ चेयरम्यान मनोज कुमार श्रेष्ठको दावी छ।
यो विदेशमा धेरै लोकप्रिय भएकोले नेपालमा पनि रूचाइन सक्ने कारणले नेपाल भित्राएको श्रेष्ठ बताउँछन्। यो क्यामराले १ सय २० डिग्रीको एङ्गलमा एच डि क्वालीटिको भिडियो लिन सक्छ।
यसमा ३२ जिबीको एचडि मेमोरी कार्ड लाग्छ जसले करिब १० घण्टासम्म एचडी क्वालिटीको भिडियो रेकर्डिङ गर्न सक्छ। गाडी स्टार्ट गर्ने बित्तिकै क्यामरा अन भएर अटो रेकर्डमा बस्छ र अगाडिको दृष्य कैद गर्छ।
६ महिनाको वारेन्टी रहेको यो क्यामरा अहिलेसम्म करिब १ सय ५० जनाले लगिसकेको र अहिलेसम्म कम्प्लेन नआएको कम्पनीले जनाएको छ।
यो क्यामरा इन डोर प्रपोजको लागि बनाएको हुनाले वाटर प्रुफ नभएको कारणले बाइकमा राख्न भने नमिल्ने श्रेष्ठले जानकारी दिए। यसलाई कारको चार्ज गर्ने ठाँउमा जोडेर चार्ज गर्न सकिन्छ। यो इन्स्टल गर्न कुनै मेकानिकको सहयोग चाहिदैन।
यो क्यामरामा नाइट मोड पनि छ तर राति दिउँसोको जस्तो राम्रो भिडियो भने नआउने कम्पनीले जनाएको छ। यो कारको एम आर पी ७ हजार ५ सयमा भए पनि कम्पनीले अफरमा ६ हजार ५ सयमा दिइरहेको छ।
के छ विशेषता?विशेषत यो दुर्घटना भएको खण्डमा यसको कारण पत्ता लगाउन निकै उपयोगी मानिन्छ। सँगैको कुनै सवारी दुर्घटना पर्दा नजिकै भएको गाडीलाई दोष आउन सक्छ तर यो क्यामरा प्रयोग गरिएको छ भने प्रमाणस्वरूप देखाउन सकिने श्रेष्ठ बताउँछन्। त्यस्तै कतै घुम्न जादा यो क्यामेराले यात्राको मनोरम दृष्यलाई कैद गर्छ।