जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका अस्पताल र औषधि पसलको अनुगमन सुरु गरिएको छ। स्वास्थ्य संस्थाले दिएको सेवा सुविधा र गुणस्तरको बारेमा अनुगमन थालिएको हो। आइतबार पहिलो दिन दुई अस्पताल र ६ वटा औषघि पसलको अनुगमन गरिएको छ।
अनुगमनका क्रममा कतिपय औषधि पसलले सम्बन्धित स्थानमा दर्ता नगरेको, कतिपयमा म्याद गुज्रेको औषधि भेटिएको र कुनै औषधि पसलले बिना अनुमति ल्याबसमेत सञ्चालन गरेको भेटिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए।
पोखराको मेट्रोसिटी र चरक मेमोरियल अस्पताल सहित मुनाल फार्मेसी, आशिर्वाद मेडिकल, जीवन फार्मेसी, एभरेष्ट हेल्थ कियर, स्याङ्जा सिटी फार्मेसी र जिएमसी फार्मेसीमा आइतवार अनुगमन गरिएको हो । अनुगमनका क्रममा मुनाल फार्मेसी र आशिर्वाद मेडिकल घरेलुमा दर्ता नभएको र स्याङ्जा सिटी ल्याबले विना अनुमति ल्याव सञ्चालन गरिएको भेटिएको छ।
बिना अनुमति सञ्चालन भएको ल्याब बन्द अनुगमन टोलीले बन्द गरेको छ।
अस्पतालले पनि बेडको अन्तर कायम नराखेको, सेवा सुविधा र शुल्क स्पष्टसँग राखेको नभेटिएको समेत कोइरालाले बताए। सरकारले तोकेको असाहय तथा असक्तलाई जम्मा वेडको १० प्रतिशत निःशुल्क छुट्याउनुपर्ने भए पनि अस्पतालले सो बमोजिम नगरेको अनुगमनमा भेटिएको जिल्ला स्थाथ्य कार्यालयका ल्याब टेक्निसीयन रमेश बस्ताकोटीले बताए। उनले एक बेड र अर्को बेडको दुरी मापदण्ड अनुसार नराखेको पाइएको बताए।
उनले अनुगमनका क्रममा भेटिएका कुरालाई पहिलो पटक चेतावनी दिएका र अको पटक निरीक्षणमा पनि त्यस्तै भेटिए कारबाही गरिने बताए। अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, उपभोक्ता मञ्च तथा प्रहरी सहभागी भएका थिए । कास्की प्रशासनले ४ वटा समूह बनाएर कृषि, स्वास्थ्य, गुणस्तर र पशु विभिन्न क्षेत्रमा अनुगमन अगाडि सारेको छ ।