प्रहरीको केन्द्रीय साइबर ब्युरोले अधिवक्ता स्वागत नेपालसँग बयान लिएको छ।
ब्युरोले कार्यालयमा बोलाएर अधिवक्ता नेपालसँग आइतबार ६ घन्टा लामो बयान लिएको हो।
नेपालविरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि तिहार अघि अर्थात कात्तिक ४ गते नै उनलाई सोधपुछका लागि फोन गरेर बोलाइएको थियो।
उनले प्रहरीलाई तिहारपछि आउँछु भनेका थिए। सोहीअनुसार आइतबार उनी ब्युरो पुगेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।
'आइतबार नेपालसँग करिब ६ घन्टा लामो बयान भएको छ,' एसपी अवस्थीले भने, 'सोमबार सार्वजनिक बिदा परेपछि मंगलबार पुन: बोलाइएको छ।'
उनीविरूद्ध उजुरी परेको भने पनि के विषयमा भन्ने कुरा प्रहरीले भने खुलाएको छैन।
तर नेपाल आफैले कात्तिक ३ गते भिडिओ सन्देश जारी गर्दै आफूलाई पूर्वप्रधानन्यायाधीश तथा प्रधानमन्त्री सुशीला कार्कीमाथि नैतिकताको प्रश्न उठाएकाले उजुरी परेको बताएका छन्।