बालिका बलात्कार गरी हत्या गर्नेलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिएको भन्दै डिएसपी संजिव दास शर्मालाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ।
गृहमन्त्री जर्नादन शर्मा प्रभाकरको निर्देशनमा डिएसपी शर्मालाई निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले बताए। उनी ३ दिनअघि मात्र एसपी बढुवामा सिफारिस परेका थिए।
निलम्बनमा परेपछि उनको बढुवा प्रक्रिया समेत रोकिएको छ। उनी हाल इटहरी ट्राफिकमा कार्यरत छन्। ६ वर्षअघि रामेछापमा डिएसपी हुदाँ उनले बालिका बलात्कार गर्ने श्याम राउतलाई उन्मुक्ती दिएका थिए।
राउतले २०६८ साल माघ ५ गते सैपु १ की १४ वर्षीया बालिका सुन्तली तामाङको बलात्कारपछि हत्या गरेका थिए। सुन्तलीका परिवारले राउतविरुद्ध किटानी जाहेरी दिएपनि उनले लिन मानेका थिएनन् ।
पछि राउत मागेर भारतको विभिन्न स्थानबाट बस्दै आएका थिए। राउत गत असार १२ गते मध्य क्षेत्रिय प्रहरी कार्यालय, अपराध महाशाखा र रामेछाप प्रहरीको सहयोगमा भारतबाटै पक्राउ परेका थिए।
छोरीको हत्या गर्ने राउत खुलेआम हिँडेपछि डिल्लीमाया काठमाडौं आइन्। मानवअधिकारवादी संघ–संस्था गुहारिन्। तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई समेत न्याय नपाएको भन्दै खुलापत्र लेखिन्।
प्रहरी प्रधान कार्यालयले डिएसपी शर्मालाई विभागीय कारबाही भन्दै हेडक्वाटर तान्यो। पछि राउतविरुद्ध किटानी जाहेरीसमेत भयो। त्यतिबेलासम्म राउत गाउँ छाडेर भारत छिरिसकेका थिए।
किटानी जाहेरी दिएको भन्दै राउतका दाजु प्रदीपले डिल्लीमायालाई घरमै गएर थर्काए। पाँच दिनभित्र गाउँ नछाडे राम्रो नहुने धम्की दिएपछि डिल्लीमाया परिवार विस्थापित भयो। उनीहरु सिन्धुलीको चिसापानी गएर ढुंगागिट्टी कुटेर जीविका चलाउन थाले। त्यसको तीन वर्षपछि डिल्लीमायाको परिवार गाउँ फर्कियो।
डिएसपी शर्मा हेडक्वाटर तानिएपछि गोपालचन्द भट्टराई डिएसपी भएर रामेछाप पुगे। त्यसपछि विमलराज कँडेल, दीपककुमार शाह र मोहन परियार डिएसपी भए।
नयाँ डिएसपी नियुक्त भएको थाहा पाउनासाथ डिल्लीमाया रामेछाप पुग्थिन्। छोरीको हत्यारालाई पक्राउ गर्न आग्रह गर्थिन्। ‘सबैले हुन्छ हुन्छ भने पनि पक्राउ गरेनन्,’ डिल्लीमायाले भनिन्।
यही क्रममा नौ महिनाअघि कुमोध ढुंगेल डिएसपी भएर रामेछाप पुगे। डिल्लीमायाले छोरीको हत्याबारे जानकारी गराइन्। पुराना फाइल पल्टाउने क्रममा सुन्तलीकै मुद्दाले प्राथमिकता पाएको थियो।